
दुराडाँडा(लमजुङ)– लमजुङमा १३ औं खुल्ला रनिङ कप पुरुष र दोस्रो महिला खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका निवर्तमान खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेले सो प्रतियोगिताको उदघाटन फागुन १ गते गर्नु भएको हो ।
आफ्नो उदघाटन मन्तव्यका क्रममा उहाँले आयोजक क्लबले आफ्नै खेलमौदान निर्माण गर्न सकेकोमा बधाई दिदै खुशी व्यक्त गर्नु भयो । उहाँले आफू खेलकुद मन्त्री हुँदा यस्ता क्लबहरूलाई सहयोग गरेको स्मरण गर्दै उक्त खेलमैदानको स्तारोन्नतिका साथ स्टेडियम बनाउनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सुन्दरबजार नगरपालिका– १० स्थित कोइरालाफाँट युवा क्लबले आफ्नै कोइरालाफाँट खेलकुद मैदानमा सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । सो प्रतियोगिता सुमे टेकबहादुर दुरा र उहाँकी श्रीमती धनश्री दुराको स्मृतिमा शुरुका वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
सेभेट साइड स्तरको उक्त प्रतियोगिता भोलि विहान ९ बजेबाट शुरु हुने कार्यक्रम रहेको आयोजकको भनाई छ ।
आयोजक क्लबका अध्यक्ष सुजन कोइरालाको अध्यक्षतामा भएको उदघाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नु हुने विशेष अतिथिमा सोही वडाका अध्यक्ष दीपकराज ढकाल, मध्यानेपाल नगरपालिका– १० का अध्यक्ष रामचन्द्र भण्डारी, अतिथिहरू नेपाली काँग्रेसका नगर उपसचिव बिना कोइराला, वडासदस्य कालीमाया अछामी, एमालेको जिल्ला सदस्य द्वारिका मिश्र, काँग्रेसका वडा सभापति तीर्थराज मिश्र, गणेशमालिका माविका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेत, आयोजक क्लबका पूर्वअध्यक्ष शिवहरि कोइराला आदि रहेको क्बलका सचिव टेकबहादुर दुराले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा सो प्रतियोगितामा पुरुषतर्फ ३० टिम र महिलातर्फ ६ टिमले भाग लिएका छन् ।
प्रतियोगिताको पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख २५ हजार रुपैयाँ रनिङ कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ७० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी, सर्वाधिक गोलकर्ता, उत्कष्ठ खेलाडी र उत्कष्ठ गोल रक्षकलाई जनही दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने अनुशासित टिमलाई एक थान फुटबल र प्रमाणपत्र दिइने आयोजकको भनाई छ ।
त्यस्तै, महिलातर्फको प्रतियोगितामा पहिलो हुने टिमलाई २५ हजार नगद, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमका लागि १५ हजार, मेडल र प्रमाणपत्र, हजार पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको सो प्रतियोगिताका खेल संयोजक रोशन दुराले बताउनु भयो । उहाँका अनुसार सर्वाधिक गोलकर्ता, उत्कष्ठ खेलाडीलाई दुई हजार नगद, मेडल र प्रमाणपत्र तथा उत्कृष्ठ टिम मैनेजरलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा सञ्चालन गरिएको उक्त प्रतियोगिता ७ गतेसम्म चल्ने र सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा समापन गर्ने कार्यक्रम तय भएको प्रतियोगिताका खेल संयोजक रोशन दुराले जनाकारी दिनु भएको छ । उहाँका अनुसार सो अवसरमा उक्त प्रतियोगितामा नगद सहयोग गर्नु हुने महानुभावहरूलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार २०:२९ गते