
दुराडाँडा(लमजुङ)– लमजुङमा १३ औं खुल्ला रनिङ शिल्ड पुरुष र दोस्रो महिला खुल्ला फुटबल प्रतियोगिताको पहिलो दिन पाँच खेल सम्पन्न भएका छन् । पहिलो दिन फागुन २ गते पुरुषतर्फका खेलमात्र भएको हो ।
सुन्दरबजार नगरपालिका– १० स्थित कोइरालाफाँट युवा क्लबले आफ्नै कोइरालाफाँट खेलकुद मैदानमा सो प्रतियोगिता सञ्चालन गरेको हो । आजको पहिलो खेल बुद्धटोल क्लब र नाइनस्टार क्लब खत्री ढाँटीका बीचमा भएको थियो । सो प्रतिस्पर्धामा ०– १ गोलले विजयी भएको छ । नाइनस्टार क्लबले यसअघि दुई वर्ष लगातार पहिलो भएको टिम हो । उसले यो वर्ष शिल्ड पचाउन सक्ने आंकलन गरिएको छ ।
यसैगरी दोस्रो खेल नेटा क्लब र युथ पावर क्लबका बीचमा भएको थियो । १– ५ गोलले युथ पावर क्लब विजयी भएको छ ।
त्यसैगरी, खमरिवोट क्लब कुन्छा र करापुटार क्लबका बीचमा भएको प्रतिस्पर्धामा ०– ५ गोलले करापुटार क्लब विजयी भई अघि बढेको छ । सुन्धारा क्लब थान्सिङ र आयोजक टिमका बीचको प्रतिस्पर्धामा २– ३ गोलले आयोजक टिम अघि बढेको आयोजकको भनाई छ ।
त्यसैगरी आजको अन्तिम खेल मनकामना क्लब लामिखेत र सिदार्थ क्लब खहरेका बीचमा भएको थियो । खेल अवधिमा दुवै पक्षबाट २/२ गोल भई बराबरीमा टुंगिए पछि समय थप भएको थियो । थप भएको समयमा कुनै पनि पक्षबाट गोल हुन नसकेपछि पेनाल्टीबाट जित हारको टुंगो लगाउनु परेको थियो । पेनाल्टीमा पाँच गोलको मौका दिइएको थियो । त्यसमा मनकामनाले एक गोलमात्र मिस गर्यो भने अर्को टिमले दुई गोल मिस गरी ५– ६ गोल अन्तर भई पराजित भएको हो ।
गण्डकी प्रदेशका निवर्तमान खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेले सो प्रतियोगिताको हिजो फागुन १ गते उदघाटन गर्नु भएको हो ।
सो प्रतियोगिता सुमे टेकबहादुर दुरा र उहाँकी श्रीमती धनश्री दुराको स्मृतिमा शुरुका वर्षदेखि सञ्चालन हुँदै आएको आयोजक क्लबका अध्यक्ष सुजन कोइरालाले बताउनु भयो । उहाँका अनुसार सेभेट साइड स्तरको उक्त प्रतियोगिता रहेक दिन विहान ९ बजेबाट सञ्चालन हुने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा सो प्रतियोगितामा पुरुषतर्फ ३० टिमले भाग लिएको खेल संयोजक रोशन दुराले जनाकारी दिनु भएको छ । उहाँका अनुसार महिलातर्फ ६ टिमले भाग लिएका छन् । उहाँले भन्नुभयो, ‘महिलाको प्रतियोगिता पुरुष टिमको पहिलो चरणको खेल सकिएपछि शुरु गरिने छ ।’
प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख २५ हजार रुपैयाँ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ७० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको आयोजक क्लबका सचिव टेकबहादुर दुराले बताउनु भयो । उहाँका अनुसार सर्वाधिक गोलकर्ता, उत्कष्ठ खेलाडी र उत्कष्ठ गोल रक्षकलाई जनही दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने अनुशासित टिमलाई एक थान फुटबल र प्रमाणपत्र दिइने छ ।
महिलातर्फको प्रतियोगितामा पहिलो हुने टिमलाई २५ हजार नगद, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमका लागि १५ हजार, मेडल र प्रमाणपत्र, हजार पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको सो प्रतियोगिताका आयोजक क्लबका उपाध्यक्ष जिवन अधिकारीले बताउनु भयो । उहाँका अनुसार सर्वाधिक गोलकर्ता, उत्कष्ठ खेलाडीलाई दुई हजार नगद, मेडल र प्रमाणपत्र तथा उत्कृष्ठ टिम मैनेजरलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा सञ्चालन गरिएको उक्त प्रतियोगिता ७ गतेसम्म चल्ने र सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा समापन गर्ने कार्यक्रम तय भएको आयोजकको भनाई छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २, मंगलवार २०:५१ गते