काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यही फागुन १० गतेभित्र सत्ता गठबन्धन फेरिने ठोकुवा गर्नु भएको छ । गत पुस १० गते अप्रत्यासित रुपमा वर्तमान सत्ता गठबन्धन बनेको थियो । यतिबेला भने त्यो टिक्ला कि टुट्ला सर्वत्र चासो देखिन थालेको छ ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनाव तोकिएको छ । सो दिनसम्म सत्ता गठबन्धनमा फेरबदल हुन सक्ने संकेतहरू देखिन थालेका छन् ।
केही घटनाक्रमले त्यस्तो संकेत गरेको जानकारहरूको तर्क छ । मंसिर ४ गतेको निर्वाचन परिणामको अन्तिम नतिजा आउन थालेसँगै ‘यस पटक जसरी पनि म प्रधानमन्त्री हुन्छु ।’ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनु भएको थियो । अन्ततः पुस १० गते उहाँले त्यो सिद्ध गर्नु भयो । सोही महिनाको २६ गते उहाँले विश्वासको मत लिदै गर्नु हुँदा नेपाली काँग्रेसले समेत उहाँलाई विश्वासको मत दियो । त्यही कारणले सो दल प्रमुख प्रतिपक्षी हुन सक्दैन भन्ने तर्क उठे र त्यसले मुद्दाको रुप धारण गरी यतिबेला सर्वोच्च अदालतमा त्यो विचाराधिन छ ।
काँग्रेसले प्रधानमन्त्रीका लागि विश्वासको मत दिए पछि प्रधानमन्त्री प्रचण्डको स्वर फेरिन थालेको छ । उहाँ भन्न थाल्नु भएको छ, ‘राष्ट्रिय समहति’ । त्यसको अर्थ हो एमालेलाई राष्ट्रपति नदिने मनसाय । प्रधानमन्त्रीको ‘राष्ट्रिय समहति’को अभिव्यक्तिलाई धेरैले त्यही अर्थमा बुझ्दै आएका पनि छन् ।
राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गर्नु भएको ‘राष्ट्रिय समहति’मा आजका दिनसम्म पनि उहाँको अडान फेरिएको छैन । प्रधानमन्त्री प्रचण्डले विगतका राष्ट्रपतिका अनुभवहरूलाई समेत नजिरको स्मरण गर्दै राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिने क्रम जारी नै छ ।
उता एमालेले भने प्रचण्ड प्रधानमन्त्री हुनुहुँदा उहाँ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको दाबी गर्दै आउनु भएको स्थिति छ ।
पछिल्ला दिनमा सबै दललाई मान्य हुने गरी एमाले आफैले राष्ट्रपतिको नाम प्रस्ताव गरेपनि स्वीकार हुने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आउन थालेको छ ।
यो स्थितिमा माओवादी केन्द्रका एक मन्त्रीले भन्नुभयो, ‘राप्रपाका मन्त्रीले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिइरहेका छन् । रास्वपा सरकारबाट बाहिरिएर अप्ठ्यारो पारेको छ । त्यसैमा केपी कमरेडको निरन्तर असहयोग भएकाले यो गठबन्धन ८० प्रतिशत फेरिने सम्भावना छ ।’
‘राष्ट्रपतिका विषयमा ठोस छलफल र निष्कर्षमा पुगिएको छैन । प्रधानमन्त्रीको राष्ट्रपतिमा राष्ट्रिय सहमति नै कायम हुनुपर्छ भन्नेमा अडानमा यथावत् हुनुहुन्छ’ ती मन्त्रीको भनाई छ ।
एमाले अध्यक्ष ओलीले सभामुखमा जस्तो खालको पात्र र प्रवृत्तिलाई अघि सारे राष्ट्रपतिमा समेत त्यस्तै दोहोरिने सङ्केत पाएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिमार्फत अघि बढ्न खोजेको ती मन्त्रीको भनाइ छ । यदि अहिलेको समीकरण फेरिए पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी जुनसुकै दल र नेताबाट राष्ट्रपतिको उम्मेदवार हुनसक्ने ती मन्त्रीको भनाई छ ।
यसैबीच, अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको राजनीतिक अवस्था ठीकठाक नरहेको उल्लेख गर्नु भयो । उहाँले निर्वाचन अघिको पाँच दलीय गठबन्धन भत्काउन सफल भएर सरकार गठन भए पनि यही समीकरण रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको बताउनु भयो । तर नेकपा एमाले सुरक्षाकवजका रूपमा उभिने उल्लेख गर्नु भयो ।
ओलीले भन्नुभयो, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने … ?’, ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने छ ।’
ओलीले थप भन्नुभयो, ‘हाम्रो पार्टीसँग बहुमत पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । यसलाई आधार बनाएर देश भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’
सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि प्रचण्ड र ओलीबीच अविश्वास थप बढेको बताइन्छ ।
यसबाट एमालेका अध्यक्ष एवम् वर्तमान सत्ता गठबन्धनको राजनीतिक संयन्त्रका संयोजक ओली पनि सत्ता गठबन्धनले निरन्तरता पाउन सक्नेमा सशंकित हुनुहुन्छ ।
यसैगरी, राप्रपाबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूले संघीयता र गणतन्त्रको विरोध गरिरहेका छन् । त्यसबाट पनि प्रधानमन्त्री प्रचण्ड रुष्ट ह्ुनु भएको छ । अहिलेको व्यवस्थाका विरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने घोषणा गर्नु भए ता पनि प्रधानमन्त्रीले स्पष्टीकरण सोधी हाल्ने हिम्मत गर्न सक्नु भएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डको पद जुनसुकै अवस्थामा अप्ठ्यारोमा पर्न सक्ने आम बुझाई छ ।
नेपाली कांग्रेस सहित एकीकृत समाजवादी जसपा लगायत दलहरू अहिलेको गठबन्धन भत्काउन लागि परेको स्रोतको दावी छ ।
उता, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि सत्ता गठबन्धन भत्किन सक्ने सङ्केत गर्नु भएको स्रोतको दावी छ ।
प्रकाशित मिति २०७९ फाल्गुन ३, बुधबार ०६:५० गते