
गौलीटार(लमजुङ)– लमजुङको जिल्लास्तरीय अन्तरपालिका १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि घरेलु टिम अर्थात राइनास नगरपालिकाले चुम्न सफल भएको छ । सो नतिजा फागुन २ गते घोषणा गरिएको हो ।
राइनास नगरपालिका– ७ को गौलीटार स्थित खेलमैदानमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा जिल्लाका आठ वटै पालिकाले भाग लिएका थिए । राइनास नगरपालिकाले १४ वटा स्वर्ण, ९ वटा रजत, १५ वटा कास्य पदक सहित पहिलो स्थान हासिल गर्न सफल भयो ।
यसैगरी, १२ वटा स्वर्ण, १४ वटा रजत, ११ वटा कास्य पदक सहित सुन्दरबजार नगरपालिका दोस्रो भएको छ भने ४ वटा स्वर्ण, ४ वटा रजत र ७ वटा कास्य पदकका साथ सदरमुकाम रहेको बेसीशहर नगरपालिका तृतीय हुन सफल भएको आयोजक जिल्ला खेलकुद विकास समितिका खेल संयोजक प्रदीपजङ्ग गुरुङले बताउनु भयो । उहाँका अनुसार पहिलो स्थान हासिल गर्ने टिमलाई नगद २० हजार रुपैयाँ, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै दोस्रो हुने टिमलाई नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टिमलाई नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
२/२ स्वर्ण, रजत र ४ कास्य पदक जित्न सफल भएको मस्र्याङ्दी गाउँपालिकाको टिमलाई अनुशासित टिमको रुपमा पुरस्कृत गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बुद्ध गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा मध्यनेपाल नगरपालिकाले ३ वटा स्वर्ण, २ रजत पदक र १ कास्य पदक जितेको छ ।
यसैगरी, सो प्रतियोगितामा क्ब्होलासोंथर गाउँपालिकाले २/२ स्वर्ण र कास्य तथा १ रजत पदक जित्न सफल भएको छ ।
छात्र र छात्रा गरी कुल ३७ विधामा गरिएको उक्त प्रतियोगितामा दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाले एउटै पनि स्वर्ण पदक जित्न सकेनन् भने दोर्दीले ३/३ वटा रजत र कास्य पदक जितेको छ । दुधपोखरी गाउँपालिकाले एक मात्र रजत पदकमा चित्त बुझाउन बाध्य भएको छ ।
उक्त प्रतियोगिताको समापन कार्यक्रम राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । उहाँहरूले विजयी टिम तथा खेलाडीहरूलाई संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो अवसरमा आउँदो वर्ष हुने १५ औं राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता क्ब्होलासोंथर गाउँपालिकामा हुने गरी जिल्ला खेलकुद विकास समितिको झण्डा सहितको जिम्मेवारी सो पालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङलाई हस्तान्तर गरिएको थियो ।
समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कालु गुरुङको अध्यक्षतामा भएको थियो ।
उक्त प्रतियोगिताको समुद्वघाटन जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले गर्नु भएको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन ३, बुधबार ०९:०१ गते