
करापुटार(लमजुङ)– यस वर्षको महाशिवरात्रीका अवसरमा करापुटामा लोपोन्मुख ठाडोभाकाको बेजोड प्रस्तुति गरिएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ७ को करापुटार स्थित ईशानेश्वर महादेव मन्दिरमा आयोजित महाशिवरात्री मेलाका अवसरमा करापुटारमा ठाडोभाकाका तीन जिल्लाका कालाकारहरूको सहभागितामा बजेड प्रस्तुति सहितको छायांकन गरिएको छ । अविछिन्न रुपमा १४ घण्टासम्म चलेको कार्यक्रमको फागुन ७ गते विहान ९ बजे समापन गरिएको हो ।
ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले महाशिवरात्री मेलाको आयोजना गरेको हो । उक्त कार्यक्रममा ठाडोभाकाका तीन जिल्लाका कालाकार सहभागी भएर बेजोड प्रस्तुति दिएको स्थानीय कार्यक्रम संयोजक सुवे. नरबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त कार्यक्रम ठाडोभाका प्रस्तुतिको सोही उपसमितिको आयोजना तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रमको विशेष आकर्षकका रुपमा उक्त प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, उहाँका गायन जोडी प्रतिष्ठानका उपाध्यक्ष सीता दुराका अतिरिक्त प्रतिष्ठानले आयोजना गरेका विगतका चार वार्षिक प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जोडीहरूले ठाडोभाका प्रस्तुत गरेका थिए । त्यस बाहेक ठाडोभाकाका सिकारुहरूलाई समेत गायनको मौका दिइएको आयोजकले जानकारी दिए । सो अवसरमा लमजुङ बाहेक कास्की र तनहूँका कलाकारहरूले समेत ठाडोभाकाको राम्रो प्रस्तु्ति गरेका थिए ।
ठाडोभाकाका सर्जक देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले सोही मेलाबाट ठाडोभाकाको प्रचार गर्ने कार्यको थालनी गरेको स्मरणमा उनीहरूको शेषपछि पनि उनीहरूका अनु्यायीले सो परम्परालाई धान्दै आएका छन् । सशस्त्र द्वन्द्वकाल र कोरोनाकालमा भने उक्त कार्यक्रमले निरन्तरता पाउन सकेको थिएन । सशस्त्र द्वन्द्वकाल पछिका वर्षमा सो कार्यक्रम करिब करिब हुन छाडेको थियो । ठाडोभाका सात दिन सात रातसम्म एकै गायन जोडीले लगातार गाउँछन् भन्ने जनश्रुति पाइन्छ तर पछिल्ला वर्षमा त्यस्ता गायक पाउन दुर्लभ हुँदै आएको अवस्था छ । त्यस्ता कार्यक्रमको अभावमा गायकहरूले आफ्नो प्रतीभा देखाउने अवसरबाट बञ्चित हुँदै जादा ठाडोभाका नै लोपोन्मुख अवस्थामा पुगेको थियो ।
उक्त भाकाको संरक्षण हेतु २०७२ सालमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको स्थापन भए पछि भने अब ठाडोभाका मर्दैन भन्ने अवस्था सिर्जिएको छ । नयाँ पुस्ता समेत गायनका लागि तयार हुँदै आएको छ । प्रतिष्ठानले यो वर्ष आयोजना गरेको प्रतियोगितामा २४ वर्षका नवीन बरालको टोलीले दोस्रो स्थान हासिल गर्न सफल भए भने ३८ वर्षका अर्का गायकको टोली पहिलो भएको थियो ।
महाशिवरात्रीका अवसरमा देउबहादुर दुराका नाती ध्वाँसे भन्ने यमबहादुर दुरा, प्रतिष्ठानको दोस्रो प्रतियोगितामा पहिलो हुने २७ वर्षीया सावित्री शाही र मानसिंह दुरा, तेस्रो प्रतियोगितामा पहिलो हुने सुवे. सन्तबहादुर गुरुङ र बुद्धिमाया गुरुङ, चौथो प्रतियोगितामा पहिलो हुने राधा भण्डारीका साथै भुन्टीमाया तामाङ, मीना गुरुङ, विष्णु नेपाली, सुकमाया विक, कार्यक्रम स्थलकै ८२ वर्षीय मिनबहादुर गुरुङ, टसबहादुर गुरुङ, दलबहादुर गुरुङ आदिले आ–आफ्नो प्रस्तुति राख्नु भएकोे थियो । यसैगरी, पोखराका तुलसीमाया शाह, रमना भण्डारी, हस्तमाया दुरा तथा कास्कीकै रबैडाँडाका पञ्चैसुब्बा गुरुङका नाति सोमप्रसाद गुरुङ, कास्की लेखनाथका विनोद सुनुवार, मादी गाउँपालिकाका यमबहादुर गुरुङले आ–आफ्नो प्रस्तुति राखेका थिए ।
उक्त कार्यक्रममा तनहूँबाट अकल विरही गुरुङ र अनिता गुरुङले समेत आफ्नो प्रस्तुति राख्ने काम गर्दै कार्यक्रमलाई स्तरीय बनाउने काम गर्नु भएको थियो ।
सो कार्यक्रमका सहभागी गायक गायिकाहरूलाई उक्त मेलाको मूल आयोजक समितिले प्रमाणपत्रको प्रवन्ध गरेको थियो । समापन कार्यक्रमको अध्यक्षता स्थानीय मेला व्यवस्थापन उपसमितिका संयोजक सुवे नरबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सहभागीलाई प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, कार्यक्रमका अध्यक्षले संयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नु भएको थियो । स्थानीयबासी एवम् प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले कवितामार्फत उक्त कार्यक्रमको झलक र लोकसंस्कृतिको महत्वमा प्रकाश पार्दै सञ्चालन गर्नु भएको थियो ।
स्थानीयस्तरमा उक्त कार्यक्रम सञ्चालनमा योगदान गर्नेहरूमा ठाडोभाका गायक द्वय गणेशबहादुर गुरूङ र सुबे. सन्तबहादुर गुरूङ, ठाडोभाका शुभचिन्तक नरबहादुर गुरूङ, रणबहादुुर गुरूङ, दिलबहादुर गुरूङ, ह. मिनबहादुर गुरूङ, ह. कृष्णबहादुर गुरूङ लगायतका हुनु भएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७९ फाल्गुन ८, सोमबार ०५:१८ गते