कहिले सुध्रन्छ जनविकास मावि ?

कहिले सुध्रन्छ जनविकास मावि ?

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १० गते बुधबार १०:००

‘त्यो विद्यालयमा छिरेर हेर्ने हो भने विकृतिको पराकाष्टाको चित्र’ सहजै देखिन्छ । तर विद्यालय जस्तो शिक्षाको साझा मन्दिरमा ‘ङ्याउँ गर्ने मुखमा कस्ले बाँध्ने घण्टी ?’ भन्ने अवस्थाबाट गुज्रनुले सो विद्यालयको दयनीय अवस्था छताछुल्ल हुन पुगेको छ ।

विकृतिको पराकाष्टा

बेसीशहर– लमजुङको जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्रमा रहेको सरकारी विद्यायलको रुपमा परिचित जनविकास माविले नमूना बनेर जिल्लाका अन्य माविहरूलाई दिशा निर्देश गर्नु पर्ने हो । तर त्यस्तो अपेक्षा गर्नेहरूको आशा मृगतृष्णमा परिणत भएको धेरै भई सक्यो र अझै त्यसका लागि अझै कति समय पर्खनु पर्ने हो अनिश्चित नै देखिएको छ ।
वर्तमान संविधान लागू भएर दोस्रो स्थानीय निर्वाचन समेत सम्पन्न भएको वर्ष दिन पुग्न लाग्यो । बेसीशहर नगरपालिकाको मेयर पदमा पुरानै व्यक्तित्वलाई नगरपिताका रुपमा नगरबासीले चुनेका पनि छन् । तर नगरपालिकाको नाकै सामुन्ने रहेर पनि जनविकास माविले काँचुली फेर्न सकेको छैन । त्यसमा नियमनकारी निकायको भूमिका समेत पाएको नगरपालिकाको भूमिका प्रायः शून्य देखिनु थप लाजमर्दो विषय बन्न गएको छ ।
उक्त माविको बेथिति र त्यहाँ हुने गरेको घोटाला(महायज्ञ– २०७३ को) अघिका वर्षहरू खासगरी वर्तमान प्रधानाध्यापक रत्नमान श्रेष्ठ प्रधानाध्यापकदेखि यो बीचमा भवन निर्माण लगायतका आदि विषय)को समेत बेलाबखत समाचारमा आउने बाहेक थप प्रगति भएको देख्न नपाइनुले सदरमुकामबासीका लागि लाजमर्दो विषय बनेको केही शिक्षाप्रेमीले बताएका छन् ।
भोलिको समाज कस्तो बनाउने ? भन्ने निर्धारण गर्ने नै शिक्षा हो । किनकि, बालबालिकालाई काँचो माटो भनिन्छ । उनीहरूले जे जस्तो शिक्षा पाउछन्, वातावरणमा हुर्कन्छन् उनीहरू भोलि बन्ने त्यस्तै हो । यसतर्फ नगरपालिकाले काममा तेल हालेर बस्नु अर्थ भने बुझिनसक्नु भएको छ । यसबाट दुई दुई पटक रैथाने बौद्धिक व्यक्तित्वलाई नगरपिता पाएर पनि साम्नेको विद्यालयको बेहाल अवस्था रहिरहनुले नगरपालिकाको समग्र वस्तु स्थितिको आंकलन गर्न सकिने कतिपयको धारणा छ ।
लेखा परीक्षकहरू प्रभावित  :
लेखा परीक्षकहरू समेत प्रभावित हुने गरिआएको जगजाहेर नै छ । जनविकास माविको मात्र हैन यहाँका सहकारी लगायतका संस्थाहरूमा गर्ने गरिएको लेखा परीक्षण प्रतिवेदनहरू पनि हात्तीको देखाउने दाँत जस्तो मात्र हुने गरेको अधिकांसको बुझाई छ । एकजना भुक्तभोगीले यो पंक्तिकारसँग सो माविसँग लेनादेनाको सरोकार नहुने बाहिरको दह्रो मुटु भएको अनुभवी लेखा परीक्षक ल्याएर लेखा परीक्षण गर्ने हो भने कम्तिमा २०– २५ लाख असुल गर्नु पर्ने बेरुजु निस्कन्छ भन्ने ग्यारेन्टी गरेका छन् । उनी भन्छन्, ‘त्यो विद्यालयमा छिरेर हेर्ने हो भने विकृतिको पराकाष्टाको चित्र’ सहजै देखिन्छ । तर विद्यालय जस्तो शिक्षाको साझा मन्दिरमा ‘ङ्याउँ गर्ने मुखमा कस्ले बाँध्ने घण्टी ?’ भन्ने अवस्थाबाट गुज्रनुले सो विद्यालयको दयनीय अवस्था छताछुल्ल हुन पुगेको छ ।
सो माविमा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट निकासा भएका दुई वटा ब्लक बनाउनका लागि अनुदान दिइएको बजेट भवन नै नबनायी रकम गायव गरिएको भन्ने सम्मका स्थिति समेत यो पंक्तिकारलाई जानकारी दिइएको छ ।
सो विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि भन्दै लगाइएको महायज्ञमा उठेको रकम र त्यसको खर्चको पारदर्शीता नभएको बारेमा त अब प्रश्न उठाउने व्यक्तिलाई नै जाल हुने स्थिति उत्पन्न भएको छ । त्यसो हुँदा बोल्न भन्दा मौन बस्न बेस भन्ने जस्ता कुरा पनि बारम्बार सुनिन्छ । विद्यालयका यी र त्यस्ता विषय सरोकारवालाहरूले खोज्नु पर्ने हो होइन ? तर खोज्ने कस्ले ?
यसैगरी, प्राविधिक कक्षाकै विद्यार्थीका लागि आउने गरेको ओ.जि.टी. रकमको दुरुपयोगका बारेमा हरेक वर्ष जस्तो प्रश्न उठ्दै आएको छ । त्यो रकम प्रति विद्यार्थी १५ हजार रुपैयाँ आउने हो भन्ने त्यस्तै विषय पठाउने सिटिभीको प्राविधिक शिक्षालय तथा शिशुविद्याश्रम मावि जस्ता विद्यालयबाट जानकारीमा आएको छ । तर जनविकास माविमा भने प्रतिविद्यार्थी १२ हजार रुपैयाँ मात्र आउँछ भनिन्छ र कक्षा– ९ देखिकै आउने रकमलाई कक्षा– १० बाट मात्र आउछ भन्ने गरिएको छ । ‘त्यो रकम विद्यार्थीले पाउने हो होइन ? के केमा खर्च गर्ने हो ?’ भन्ने जिज्ञासामा सोही रकम तोकिएको शीर्षक प्रयोगात्मक शैक्षिक भ्रमण, निरीक्षण, ल्याव असिस्टेन्टको तलब बाहेक शिक्षक तलब तथा ल्याबका सामान खरिदमा समेत खर्चिएको बताइयो, जबको त्यसरी सो रकम खर्चिन पाइदैन भन्ने कार्यविधि रहेको जानकारहरू बताउँछन् ।
ओजिटीकै रकम आफूले पाउनु पर्नेमा नपाएको भन्दै विद्यार्थीले प्रशासन घेराउ गरेका छन् भन्ने खबर यही फागुन ८ गते प्राप्त भएपछि त्यो बारेमा केही वर्षदेखि धेरै प्रश्न उठ्दै आएको छ । अतः वस्तुस्थिति बुझ्न आवश्यक छ भन्ने ठानेर यो पंक्तिकार विद्यालयमा पुगेको थियो । केही विद्यार्थीहरू प्रअ र शिक्षकहरूको कार्यकक्ष बाहिर बरण्डामा त्यो रकम माग गर्दै गरेको भन्ने पनि देखियो, सुनियो तर उनीहरू आफै उक्त रकम प्रति विद्यार्थी के कति आएको हो ? र आफूले कति पाउने हो ? भन्ने प्रष्ट नभएको पाइयो ।
त्यो बीचमा एक जनाबाट पुलिसको हाकिमले रेगरुट प्रहरीलाई हप्काउने शैलीझैं गरी विद्यार्थीलाई ‘म जिम्मा लिन्छु भने पनि के चाहियो ? ऐले जाओ !’ भनियो । त्यसपछि विद्यार्थीहरू त्यहाँबाट हिडे । उनीहरू यो पंक्तिकारसँग खुल्न चाहेन्न । पछि थाहा भयो, त्यसरी हप्काउने व्यक्ति प्राविधिक विभागका प्रमुख रहेछन् । त्यो रकम विद्यालय प्रशासन अधिन हुने हो कि ? विभागको प्रमुख अधिनस्त ? भन्ने प्रश्न पनि अनुत्तरित नै रह्यो । उनले विद्यार्थीलाई गरेको आदेश सुनी सकेपछि लाग्यो, ‘शिक्षक पनि यस्तो रफ ? यस्तो शैलीमा प्रस्तुत हुने शिक्षकसँग विद्यार्थीले के सिकेका होलान् ? यो स्थलो प्रहरी परिसर पनि हैन !’ भन्ने जस्ता जिज्ञासाहरू पंक्तिकारका मनमा सल्बलाई रहे ।
त्यसपछि विद्यालयमा आई सकियो त्यो विषय के हो ? भन्ने त जान्नै पर्यो भन्ने सोचले त्यसको सरोकारवाला व्यक्ति को को होलान् ? भन्ने बुझ्न नजर घुमाउँदै गर्दा एक महिला फरक शैलीमा प्रस्तुत भइन् । खोजी गर्दा थाहा भयो, उनी उक्त विद्यालयको सहलेखापाल (सलेपा) एलिसा वाग्ले रहिछन् ।
सलेपाको कार्यकक्ष बरण्डा ?
उनी सलेपा हुन् भन्ने थाहा भएपछि ‘तपाईको कार्यकक्ष कता हो ? त्यहाँ बसेर कुरा गारौं न केही बुझ्नु पर्यो भनेर आएको !’ भन्ने यो पंक्तिकारको जिज्ञासामा उनले जंगीदै ‘यहीँ हो !’ भनिन् । सार्वजनिक विद्यालय भवनको अभाव भएमा बरण्डामा पनि काम गर्न सकिने हुन्छ नै ! तर त्यहाँ उनी बस्ने कर्ची तथा टेवल केही थिएन । त्यो बेलासम्म विद्यार्थीको भिड हटिसकेको थियो । ‘यो स्थान त कार्यकक्ष जस्तो देखिदैन नि !’ भन्ने थप जिज्ञासामा उनी गैरजिम्मेवार ढंगले रुखो स्वर शैलीमा फलाक्दै तल्लो तलामा झर्न थालिन् । त्यसपछि यो पंक्तिकारले ‘आफ्नो ऐना हेरेर फलाक्नु, कोसँग के कस्तो कसरी बोल्ने हो भन्ने पनि हेका राख्नु ।’ भन्ने जवाफ दिन बाध्य भयो । उनले पटक पटक ‘मेरो विद्यालय’ भन्ने हुँकार गरेकी थिइन् । निजीस्तरमा सञ्चालन गरिने बोर्डिङलाई त सञ्चालकहरू हाम्रो भन्छन्, त्यो त सार्वजनिक विद्यालय उनी ‘मेरो विद्यालय !’ भन्दै च्याठ्ठिएको देख्दा, सुन्दा सो विद्यालयमा व्यक्ति– व्यक्तिको दोहन चलेको रहेछ भन्ने आंकलन गर्न कठिन भएन । त्यसपछि ‘स्कूल त सबैको हो, योे स्कूल त मेरो पनि हो नि ! हाम्रो भन न, मेरो भन्ने ?’ भन्न यो पंक्तिकार बाध्य भयो । जित्न नसकेपछि रुने महिलाको जातले पाएको विशेषता नै हो । उनी रुञ्चे स्वरले बरबाउदै त्यहाँबाट अदृश्य भइन् ।
त्यसपछि सो विषय बारेमा विद्यालय प्रशासनको धारणा बुझ्न हामी (पत्रकार प्रमोद अधिकारी र म) प्रधानाध्यापकको कार्य कक्षतर्फ लाग्यौं ।
सो विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठ बिरामी विदा लिएर गत मंसिरको तेस्रो सातादेखि विदेश(क्यानेडा) जानु भएको रहेछ । उहाँले बिदा थप गरेर बसेको हुँदा आफूले नि. प्रधानाध्यापकको काम गरेको जितबहादुर कोइरालाले बताउनु भयो । उहाँ प्रअको कुर्सीमा समेत नबसी छेउमा अर्को कुर्सी राखेर बस्नु भएको मर्यादापूर्ण व्यवहार र शैली देख्दा भने खुशी लाग्यो । उहाँले आफू भरखर नि. प्रअको जिम्मेवारी पाएको तर आर्थिक अधिकार नभएको बताउनु भयो । त्यसपछि उहाँसँग कुरा गरेर समय बिताउनु व्यर्थ जस्तै लाग्यो ।
त्यही बीचमा प्रवीण वाग्ले राकिदै धम्कीपूर्ण भाषा शैलीमा त्यो विद्यालयका बारेमा कुनै प्रश्नै उठाउन नहुने आसयका साथ यो पंक्तिकारले भन्दै नभनेका कुरा समेत किन भनिस् ? भन्दै डन शैलीमा खनिन हुन थाले । उनी विगतका ८/९ वर्ष त्यस विद्यालयमा सलेपाको काम गरेर सो पदमा आफ्नै श्रीमतीलाई भर्ना गरेका एलिसाका पनि श्रीमान् रहेछन् ।
बरोजगारीको राँको बलेको यो बेलामा लेखाको काम गर्नका लागि श्रीमान् पछि श्रीमतीलाई नै राख्न पर्नुको कारणले त्यस विद्यालयमा चरम बदमासी भएको छ भनेर आशंका गर्नेहरू तथा त्यस्तो भन्नेहरूका लागि थप बल पुगेको पाइयो ।
यो बीच चलेको छलफलमा यतिबेला सो विद्यालयमा निर्माण गरिएको एउटा भवन मापदण्ड विपरित निर्माण गरिएका कारणले त्यसबारेमा अख्तियारले समेत भवन नाप जाँच गरी त्यसका काजजात लिएर गएको र आफू निर्दोष मान्छेले अब १२ औं पटकको तारेख अख्तियारमा धाउनु परेको प्रवीण आफैले हामीले सोध्नु अघि नै बताए ।
अर्कोतिर विद्यालय प्रशासन समेत यतिबेला अनभिज्ञ जस्तै भएको देखियो ।
कक्षा – ११ को पढाई अझै पनि विहानमा :
विद्यालय तहका सबै कक्षाहरू अनिवार्य रुपमा दिउँसो मात्र पठाउनु पर्ने शिक्षा मन्त्रालयले निर्देशन गरेको धेरै वर्ष भइसकेको छ । तर सो विद्यालयमा भने आजका दिनमा पनि अनेक बहानाबाजीमा कक्षा– ११ को शिक्षा तथा व्यवस्थापनका कक्षा बिहानमा सञ्चालन भइरहेको छ । शिक्षा जस्तो विषयमा बहानाबाजी गर्ने छुट पाउने विद्यालय सम्भवतः नेपालमा जनविकास मावि मात्र भएको जानकारहरू दावी गर्दछन् । यसतर्फ पनि नियमनकारी निकाय मौन रहेको पाइन्छ ।
यसअघि उक्त विद्यालयमा रकम हिनामिना भएको छ भन्ने समाचार प्रकाशित भएपछि बेसीशहर नगरपालिकाले दुई जना लेखा परीक्षकलाई आव २०७३/७४ र २०७४/७५ को आयव्ययको परीक्षण गर्नका लागि पठाएको थियो । उनीहरूले आफ्नो प्रतिवेदनमा औल्याइएको विषयमा समेत नगरपालिका मौन देखिएको छ । जसका कारण ‘सुशासन कुन चरीको नाउँ हो ?’ जस्तो स्थिति उत्पन्न हुन गएको छ ।
यसबारेमा बेसीशहर नगरपालिकामा सम्पर्क गर्दा अडिटर खटाएको हो राम्रो रिपोर्ट आएन, त्यहाँका प्रधानाध्यापकले अडिट गर्न नै मान्दैनन् मेयर गुमानसिंह अर्यालले बताउनु भयो । ‘नगरपालिकाले प्रअले नमानेमा बिकल्प खोज्नु पर्ने होइन र ?’ भन्ने जिज्ञासामा पटक पटक प्रयास गरेको हो, सकिएन । ऐले त अख्तियारले हेर्न थालिसक्यो, हामीले अख्तियारलाई पनि लेखा परीक्षण गर्न नमानेको भनेर अस्तितिर मात्रै जवाफ पठाएका छौं मेयर अर्यालले भन्नुभयो ।
यसैगरी, सलेपा पदमा श्रीमान्ले छाडे पछि श्रीमतीलाई राखिएको रहेछ ‘त्यो कार्य पनि रहस्यपूर्ण छ भन्ने सुनिन्छ नि ?’ भन्ने थप जिज्ञासामा त्यसबारेमा थाहा भएन म बुझ्छु मेयर अर्यालले भन्नुभयो ।
उक्त विद्यालयमा भएका अपारदर्शी गतिविधिले यस क्षेत्रका बुद्धिजीवी, अभिभावक, सरोकारवाला, नियककारी निकाय सबै– सबैलाई कुरीकुरी गरिरहेको प्रष्ट्याएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन १०, बुधबार १०:०० गते
हजुरको प्रतिक्रिया