बेसीशहर– लमजुङमा फैलिन थालेको अफ्रिकन स्वाइन फिभरको संक्रमण रोकिएको छैन । जसका कारण व्यावसायिक किसानका बंगुर फार्म तथा गोठहरू रित्तिन क्रम जारी छ । फागुन १७ गते साँझसम्म १४९ वटा बंगुरका माउ तथा पाठापाठी मरिसकेका छन् ।
सो रोग फैलिएका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बंगुर तथा बंगुरजन्य पदार्थ जिल्ला सदरमुकाम बाहिर ओसार पोसारमा लगाइएको प्रतिवन्ध कडा पारिएको सो कार्यालयका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार हाल जिल्ला सदरमुकाम बेसीशहरमा बढी मात्रामा देखिएको छ । यसअघि बेसीशहर नगरपालिका– ६ र ८ मा मात्र सो रोग फैलिएकोमा हिजोबाट वडानं– ३ मा समेत फैलिन थालेको छ । उहाँले भन्नुभयो, ‘यो रोगको उपचार र भ्याक्सिन आजसम्म बन्न सकेको छैन, त्यसैले रोकथाम मात्रै एक उपाय हो ।’
यसै कारणले पनि बंगुर वा बंगुरजन्य पदार्थ जिल्ला भित्र र बाहिर लान ल्याउन साथै बेसीशहरबाट अन्यत्र लान तथा ल्याउन प्रतिवन्ध लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
यौटा वयस्क बंगुर डेढ क्विन्टल तौलका रहेको र तिनको मूल्य प्रति गोटा ४५ हजार रुपैयाँ पर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पाठापाठीको मूल्य छ हजार रुपैयाँ तोकिएको छ । उहाँले भन्नुभयो, ‘हालसम्मको पछिल्लो रिपोर्ट अनुसार माउ ९२ वटा र पाठापाठी ५७ वटा मरेको जानकारी आएको छ ।’ किसानहरूको लाखौंको क्षति भएको उहाँले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘यो .रोगको मृत्युदर अति उच्च भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि बेसीशहर नगरपालिकाबाट बंगुर तथा वंगुरजन्य पदार्थहरू अन्य क्षेत्रमा लान तथा अन्य क्षेत्रबाट बेसीशहर ल्याउन प्रतिवन्ध लगाइएको हो ।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. श्रेष्ठले सो रोग बारेमा थप जानकारी दिदै भन्नुभयो, ‘यो रोग लागेको ४ दिनदेखि बढीमा एक महिनाभित्र बंगुरको मृत्यु हुने हुन्छ । बंगुरको इम्यूनिटी पावर अनुसार त्यो कति दिन बाच्ने भन्ने हुन्छ तर रोग लागेपछि बाच्ने सम्भावना नै हुँदैन भन्दा पनि हुन्छ ।’
यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएकाले संक्रमण फैलन नदिन वंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र वंगुरहरू मरेमा सुरक्षित तवरले खाडलमा गाड्न पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।
एक सूचना जारी गरी घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर संक्रमणले छोटो समयमा बंगुर प्रजातिमा महामारीको रुप लिन सक्ने हुँदा बंगुर तथा बंगुरजन्य सामग्री एक पालिकाबाट अर्को पालिका तथा एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसारमा नगर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सूचना जारी गरेको छ ।
फागुन २ गते जिल्लामै ¥यापिड एन्टिजेन टेष्ट गरेकोमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखाएको थियो । त्यसपछि भोलिपल्ट ३ गते रियल टाइम–पीसीआर विधिबाट उक्त रोग पहिचानका लागि नमुना संकलन गरी केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला पठाएकोमा परीक्षणका लागि पठाएकोमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको रिपोर्ट फागुन १५ गतेका दिन मात्र प्राप्त भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठ जानकारी दिनु भयो ।
यो रोग देखिएमा बंगुर तथा पाठापाठीमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, पखला लाग्ने, छट्पटाउने लक्षण देखिन्छन् । रोगी बंगुर वा पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक ठाउँबाट अर्को ठाउँमा पुग्दा यो रोग सजिलै सर्ने भएकाले जैविक सुरक्षाका विधिहरू अपनाउन पशु चिकित्सकहरूले सल्लाह दिइएको डा. श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो ‘यो रोग मानिसमा नसर्ने भएको हुँदा मासु खाएकाहरूले पनि चिन्ता लिनु पर्दैन, अब सावधानी अपनाए हुन्छ ।’
यस बारेमा जिल्लाकै सबैभन्दा पुरानो र ठूलो बेसीशहर नगरपालिका– ८ मा रहेको मिलाप बंगुर फार्मका प्रोपाइटर मानध्वजसँग सम्पर्क गर्दा आफूहरूलाई यो रोगका बारेमा तालिम आदि लिँदा करिब ११ महिना अघिदेखि नै जानकारी भएको हो, त्यसैले माउ बंगुरलाई भाले नलगाई मासुको मूल्यमा कटाउने गरेका थियौं भन्नुभयो । उहाँका अनुसार यो रोग मानिसमा कुनै हालत नसर्ने र बंगुरभन्दा अन्य प्रजातिमा पनि नसर्ने हुँदा बंगुरको मासु खाने परिवारहरूले पीर मान्नु पर्ने अवस्था छैन । उहाँले जोड दिदै भन्नुभयो, ‘मात्र हामी बंगुर व्यवसायीहरू होसियार हुन आवश्यक छ, हामीले होसियारी अपनाएका छौं, निरन्तर भेटेरिनरी अस्पतालको सम्पर्कमा छौं ।’
उहाँलाई तपाई त पुरानो व्यवसायिक किसान, तपाईको फार्ममा के कति बंगुर थिए ? भन्ने जिज्ञासामा मैले २०६८ सालदेखि यो पेशालाई व्यावसायिक रुपमा लिएको हुँ । ७ जना त पुरा समय काम गर्ने मान्छे राखेको थिएँ मानध्यजले जानकारी दिनुभयो । उहाँका अनुसार मेरो फार्ममा रोग नलाग्नै एक सय माउ र अढाई सय पाठापाठी थिए । तर तिनलाई बेच्दा बेच्दै ३८ वटा माउ र ४९ वटा पाठापाठी बाँकी थिए, ती सबै मरे, यतिबोल मेरो गोठ रित्तो भएको छ । उहाँले दुःखी हुँदै भन्नुभयो ‘मेरो नोक्सान त करोड नाघेको छ ।’
लमजुङ बोडर विदेशसँग जोडिएको जिल्ला पनि हैन, तर यहाँ एकाएक यो रोग कसरी फैलिएको होला ? भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठसँग राखिएको जिज्ञासामा ‘किसानहरूलाई हामीले सुरक्षा उपाय अपनाउन भन्दा टेर्दैनन् । दुई पैसा सस्तो पाउनासाथ त्यतै हाम फाल्ने प्रचलन छ, हाम्रोमा केही दिन अघि मात्र धरानबाट बंगुर खरिद गरेको बुझिएको थियो । त्यहीबाट यो रोग सरेर आएको अनुमान गरिएको डा. श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार ‘यो रोग फ्ल्यु हैन फिभर हो’ त्यसैले मानिसमा सर्दैन तर मानिसबाट वंगुरमा सर्न भने सक्छ । बंगुर प्रजातिका सुँगुर, बनेलबाहेक अन्य पशु वा पंछीमा पनि यो रोग लाग्दैन, डा. श्रेष्ठले प्रष्ट्याउनु भएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन १७, बुधबार १९:१० गते