
लमजुङ– लमजुङमा मर्स्याङ्दी नदीले बगाउँदा एकजना युवक बेपत्ता भएका छन् । उनलाई मर्स्याङ्दीले बगाएको प्रहरीले पुष्टि गरेको छ । उनी राइनास नगरपालिका– ८, तार्कुघाट स्थित मर्स्याङ्दी नदी किनारमा नुहाउने क्रममा नदीमा एक्कासी आएको बाढीमा बेपत्ता भएको प्रहरीले फागुन १६ गते साँझ बताएको छ ।
ती युवक बैतडीको पाटन नगरपालिका– ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाल भएको प्रहरीले जनाएको छ । उनी तार्कुघाट पारी तनहुँतर्फको नेपालडाँडा खानेपानी योजनामा कार्यरत थिए ।
खानेपानी योजनाको काम सकेर हिजो साँझपख घर फर्किने बेला मर्स्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार बेपत्ता युवकको खोजी कार्य जारी रहेको छ । उहाँले भन्नुभयो, ‘उनको आज १७ गते साँझसम्म पनि कुनै पत्तो लागेको छैन ।’
गोरखा निर्माण सेवामा कार्यरत राजन मरहट्ठाले उनलाई हिजो साँझपख ५ बजेर ५० मिनेटदेखि ६ बजेको समयमा मर्स्याङ्दीले बगाएको बताउनु भयो । उहाँका अनुसार खानेपानी आयोजनाको काम गरेपछि आफ्नो बासास्थान जाने बेलामा मर्स्याङ्दी नदीमा गएर हातगोडा धुन गएका थिए । तर मर्स्याङ्दीमा एक्कासी ठूलो बाढी आएर बगाएको उहाँको भनाई छ । उहाँका अनुसार पछि बुझ्दै जाँदा मध्यर्स्याङ्दी आयोजनाले बाँधबाट सबै पानी एक
साथ बिना सूचना खोलिदिएकाले मर्स्याङ्दीमा बाढी जस्तै ठूलो पानी आएको थाहा भयो ।
गोरखा निर्माण सेवाले निर्माण गरेको खानेपानी आयोजनाको काम गर्दै आएका कृष्ण बन्जराले मध्यमर्स्याङ्दीका गेट खोलेर सबै पानी बगाइदिँदा खोलामा हातगोडा धुँदै गरेका कामदारलाई बगाएको बताउनुभयो । उहाँले सार्वजनिक सूचना समेत नगरेको र नदी आपसारमा निर्माण भइरहेका आयोजनालाई समेत यसबारे खबर नगर्दा घटना घटेको जानकारी दिनुभयो ।
उता मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले तार्कुघाटभन्दा धेरै माथि आयोजनाको विद्युत गृह रहेको र विद्युत गृहमा पानी बन्द गरेर विस्तारै ड्यामबाट पानी छोड्दा साविककै मात्रामा बगेको बताउनु भयो । उहाँका अनुसार आयोजनाको ड्यामबाट पानी छोड्ने विषयमा प्रशासन, प्रहरी, नगरपालिका, स्थानीय रेडियो सबैतिर खबर भएको समेत दावी गर्नु भयो ।
फोटोमा उनी बेपत्ता भएको नदी किनार ।
प्रकाशित मिति २०७९ फाल्गुन १७, बुधबार २२:०६ गते