नेपाल शिक्षक संघको नयाँ नेतृत्वका लागि मतदान शुरु : साँझ छ बजेसम्म मतदानको समय

नेपाल शिक्षक संघको नयाँ नेतृत्वका लागि मतदान शुरु : साँझ छ बजेसम्म मतदानको समय

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २० गते शनिवार ०३:४५

शिक्षक संघको जारी निर्वाचनमा माउ पार्टी नेपाली काँग्रेसमा देखिएको दुई गुटको धार अनुसारका प्यानल नै चुनावी मैदानमा होमिएको बुझिन्छ । तथापि संघीय प्रतिनिधिका चार संख्यामा ९ जना र प्रदेश प्रतिनिधिको पाँच सिटमा ११ जनाको उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन शुल्क महंगो भएको गुनासो : महिलाका केही पद निर्विरोध, एक पद रिक्त

बेसीशहर– नेपाल शिक्षक संघ, लमजुङ नयाँ नेतृत्व चयनका लागि तयारी चलिरहेको छ । संघको ९ औं जिल्ला अधिवेशनको क्रममा ३३ सदस्यीय समिति निर्वाचन गर्न मतदान शुरु भएको हो । निर्वाचन समितिले मतदानका लागि विहान ११ बजेको समय तोकेको भएता पनि सहमतिको प्रयास चलिरहेका कारण समय थप गरिएको थियो तर कामयावी नभएपछि मध्यान्ह २ः१० बजेबाट मतदान शुरु भएको हो ।
निर्वाचित हुने पदमा अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, अर्थ सचिव, सहसचिव, महिला सहसचिव, महिला अर्थ सहसचिव १/१ जना उमेदवार हुनेछन् । यसैगरी, समावेशी तर्फबाट २ जना सहसचिव, ३ जना महिला सहित ७ जना सदस्य, २ महिला सहित ६ जना संघीय प्रतिनिधि र २ महिला सहित ७ जना प्रदेश प्रतिनिधि चयन हुने निर्वाचन संयोजक रामकृष्ण भण्डारीले बताउनु भयो । उहाँका अनुसार निर्वाचन प्रक्रियाका कार्यक्रमहरू चलिरहेको छ । उहाँले भन्नुभयो, ‘सहमतिको प्रयास भएको हुँदा मतदानको कार्यक्रम केही सरेको छ ।’
उम्मेदवारका लागि निर्धारित शुल्क महंगो भएको गुनासो :
निर्वाचनको विभिन्न पदका उम्मेदवारका लागि निर्धारित शुल्क महंगो भएको गुनासो प्रतिनिधिहरूबाट आएको छ । निर्वाचन शुल्क बढी भएकै कारणले तीन महिला सदस्य पदमध्ये एक रिक्त हुन आएको समेत बुझिएको छ । सदस्य पदमा उम्मेवारी फार्मका लागि १५ सय रुपैयाँ तिर्नु पर्छ । त्यतिमात्र हैन उम्मेदवारका लागि योग्य बन्नकै लागि पनि पाँच हजार रुपैयाँ शुल्क तिरेर विशिष्ट सदस्य बन्नु पर्ने प्रावधान राखिएको बताइन्छ । त्यसैगरी, सदस्यता नवीकरण शुल्क समेत छिमेकी तनहूँ जिल्लाभन्दा पनि बढी भएको गुनासो विगतमा पनि सुन्नमा आएको थियो । सो शुल्क आ– आफ्नो जिल्ला समितिले निर्धारण गर्ने सक्ने विधानमा उल्लेख भए अनुसार जिल्ला पिच्छे शुल्क फरक हुन गएको बताइएको छ ।
शिक्षक संघको जिल्ला समितिमा निर्वाचित हुनका लागि उम्मेवादरी दर्ता शुल्क अध्यक्षका लागि १० हजार रुपैयाँ तोकिएको छ भने उपाध्यक्ष सहित अर्थसचिवसम्म र संघीय प्रतिनिधिका लागि पाँच हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, प्रदेश प्रतिनिधि र सहसचिवका लागि तीन हजार रुपैयाँ तोकिएको निर्वाचन संयोजक रामकृष्ण भण्डारीले बताउनु भयो । उहाँलाई उक्त शुल्क कस्ले निर्धारण गर्ने भन्ने जिज्ञासा राखिएकोमा जिल्ला समिति र निर्वाचन समितिको सहमतिको निर्धारण हुने हो भन्नुभयो । महंगो भयो, भन्ने गुनासो छ नि ? भन्ने थप जिज्ञासामा उहाँले यो त टुंगिसकेको विषय हो भन्नुभयो । तर एक महिला सदस्य पद रिक्त हुनुमा सो शुल्क बढी हुनु नै हो भन्ने बुझिन आएको छ ।
यो निर्वाचनमा नेपाल शिक्षक संघमा कुल मतदाता संख्या १ हजार ६३ जना रहेका छन् । तीमध्ये साधारण ९ सय ३५, कर्मठ सदस्य ३९ र विशिष्ट सदस्य ८९ सदस्यहरू रहेको बताइएको छ । मतदानका लागि साँझ छ बजेसम्मको सयम निर्धारण गरिएको छ । उक्त निर्वाचनमा माउ पार्टी नेपाली काँग्रेसमा देखिएको दुई गुटको धार अनुसारका प्यानल नै चुनावी मैदानमा होमिएको बुझिन्छ । तथापि संघीय प्रतिनिधिको चार पदमा ९ जना र प्रदेश प्रतिनिधिको पाँच सिटमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । अध्यक्ष पदमा विद्याज्योति मावि खहरेका प्रधानाध्यापक सूर्य केसी र भैरवकाली मावि दुईपिप्लेका प्रधानाध्यापक हरिश्चन्द्र लम्साल चुनावी मैदानमा उत्रिनु भएको छ ।
नेपाल शिक्षक संघ लमजुङले यसअघि आठ वटै पालिकाहरूमा स्थानीय तहको अधिवेशन सम्पन्न गरी तयारी गरेको जनाएको छ ।

मुलुकमा सुशासन कायम गरी १० बर्ष भित्रमा देश विकासमा फड्को मार्न सक्ने उपसभापति गुरुङको दावी :
सो अधिवेशनको हिजो नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले उदघाटन गर्नु भएको हो । पार्टीहरू सर्वसाधारण जनताप्रति उत्तरदायी बन्नुपर्ने उहाँको धारणा थियो । उपसभापति गुरुङले अहिलेको अवस्थामा सरकारमा भएका नेताहरूले लोभ नगर्ने हो भने मात्र देशलाई समृद्धिको उचाईमा पुर्याउन सकिने उल्लेख गर्नु भयो ।
सम्पन्न नेपाल शिक्षक संघ, लमजुङको जिल्ला अधिवेशनको क्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै गुरुङले त्यस्तो बताउनु भएको हो । वर्तमान अवस्थामा नेताहरू जनताप्रति उत्तरदायी नदेखिएको भन्दै गुरुङले भने सुशासनको प्रत्याभूति गर्नको लागि नेता जनताप्रति समर्पित हुनुपर्ने धारणा राख्नु भयो । आफू सर्वसाधारण जनताले तिरेको करबाट जीवन पर्यन्त उपचार खर्च नलिने दावी समेत गुरुङको थियो । नेपालमा विकासका प्रचुर सम्भावनाहरू रहेपनि त्यसको उचित उपयोग गर्न नसक्दा देश पछाडी परेको हो भन्दै नेताले दृढ संकल्पका साथ देश विकास गर्ने र जनताप्रति उत्तरदायी भएर लाग्ने हो भने १० बर्ष भित्रमा सुशासन कायम गरी देश विकासमा फड्को मार्न सकिने समेत उहाँको दावी थियो ।
गुरुङले आफूले सधैं शिक्षक, आमा र राष्ट्रलाई सम्मान गर्ने भएकोले शिक्षकहरूको अधिवेशनमा, त्यो पनि एउटै पार्टीको भातृ संगठन भित्र चुनावी प्रक्रियामा जान नहुने, त्यसले भविष्यमा जित्ने र पराजय हुने दुवै पक्षलाई हित नगर्ने भएकोले सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिनु भएको थियो ।
नेपाल शिक्षक संघका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा भएको सो अधिवेशन ‘शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो । नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्र हिजो रात्री ९ बजे मात्र सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय तहका पालिका प्रमुखहरू, कार्यक्रममा प्रदेश सभा सदस्य डा. टकराज गुरुङ, भेषबहादुर पौडेल, पार्वती तामाङ, टिकाकुमारी बस्याल, नेपाली काँग्रेसका प्रदेश समितिका सहसचिव एवम् मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, सो दलका पूर्वजिल्ला सभापति तथा सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइराला, नेपाली काँग्रेसका पूर्व जिल्लासभापतिहरू, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, शिक्षक संघको केन्द्रीय उपाध्यक्ष भरत लम्साल, नेका गण्डकी प्रदेश सदस्य एवं संगठन विभाग प्रमुख हरिप्रसाद बराल लगायत नेपाली काँग्रेस एवं विभिन्न भातृ संगठनका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

फोटो सौजन्य : सिर्जना बराल ।

प्रकाशित मिति २०७९ फाल्गुन २०, शनिबार १५:४५ गते
हजुरको प्रतिक्रिया