
फिदिम(पाँचथर)– पाँचथरको फिदिम नगरपालिका– ७ स्थित रानीटार माध्यमिक विद्यालयका विद्यार्थीहरू आ–आफ्नै सांस्कृतिक पहिचान झल्किने भेषभुषा लगाएर विद्यालय जाने गर्छन् । यस वर्षको सरस्वती पूजाको अवसरमा गत माघ १२ गतेदेखि यो अभ्यासको थालनी भएको हो ।
विद्यालयमा यो नियम सुरू गर्ने सो विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राई हुनुहुन्छ । उहाँका अनुसार आफूले विद्यार्थीका अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग कुराकानी गरेर सांस्कृतिक भेषभुषा लगाउने नियम सुरू गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबै विद्यार्थीहरू आ–आफ्नै सांस्कृतिक भेषभुषा लगाएर पढ्न जाने गर्छन् ।’ प्रधानाध्यापक राईले भन्नुभयो, ‘हप्ताको दुई दिन सोमबार र बिहीबार विद्यार्थीहरू सांस्कृतिक भेषभुषा लगाउन भनिएको छ, विद्यार्थीले त्यसलाई सहर्ष स्वीकार गरेका छन् ।’
यो नियम शिक्षकहरूलाई पनि अनिवार्य गरिएको प्रअ राईले जानकारी दिनुभयो । २०५५ सालदेखि प्रधानाध्यापक बनेका राईले पाठ्यक्रममै धर्म, संस्कृति, भषा, भेषभुषाबारे पढाइ गर्नुपर्ने हुँदा यो नियमले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उल्लेख गर्नु भयो ।
उहाँले थप भन्नुभयो, ‘यस्तो कुराले विद्यार्थीहरूलाई संस्कृति, भाषा, धर्म र भेषभुषाबारे व्यवहारिक ज्ञान प्रदन गर्छ । साथै यो कुराले हाम्रो संस्कृतिको संरक्षण गर्न पनि मद्दत पुर्याउछ ।’ अहिले सबै विद्यार्थीहरू आ– आफ्नै जातीय भेषभुषा लगाएर पढ्न आउने गरेको प्रधानध्यापक राईले जानकारी दिनु भयो ।
यस अभियानका बारेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘आफूले सुरूमा सांस्कृतिक भेषभुषा लगाउने प्रस्ताव गर्दा महंगो हुने भन्दै अभिभावकहरूले नमानेको तर यसको महत्व बुझाएपछि अभिभावकहरू सहमत भए ।’
ती दिन सम्झदै उहाँले भन्नुभयो, ‘सुरूमा त कतिले महंगो पर्छ भन्दै किन्न सक्दैनौं भन्नुभयो तर हामीले दशैं, तिहार, लोसार जस्ता चाडबाडमा यसै पनि नयाँ लुगा किन्नुपर्छ भन्दै यसपटक ती लुगाका ठाउँमा सांस्कृतिक भेषभुषा किन्न सल्लाह दिएँ । त्यसपछि उहाँहरू सो कुरामा सहमत हुनुभयो ।’
उहाँले थप भन्नुभयो, ‘केही आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले सांस्कृतिक पोशाक किन्न सकेका छैनन् । प्रधानध्यापक राईले त्यस्ता विद्यार्थीका लागि विद्यालयमै रहेको मिनी संग्राहलयमा रहेको पोशाक लगाउन दिइएको छ ।’ त्यस्ता विद्यार्थीहरूलाई लक्षित गरी विद्यालयमा भर्खरै कपडा बैंक पनि सुरू गरिएको उहाँले जानकारी दिनुभयो ।
‘दश– बाह्र जना विद्यार्थीहरूले कमजोर आर्थिक अवस्थाका कारण पोशाक किन्न सकेका छैनन् । त्यसैले विद्यालयमा भर्खरै कपडा बैंक पनि सञ्चालन गरेका छौं । यसमा आएका लुगाहरू उनीहरूलाई दिने गरेका छौं ।’ प्रअ राईले आफ्नो अभियान सफल भएको प्रति गर्व गर्र्दै भन्नुभयो, ‘नगरपालिकाका वडाध्यक्षले समेत आउने नयाँ शैक्षिक सत्रमा त्यस्ता विद्यार्थीहरूलाई पोशाक दिने प्रतिवद्धता गर्नुभएको छ ।’
प्रधानध्यापक राईले आफूले सञ्चालन गरेको सांस्कृतिक जागरणका बारेमा जानकारी दिदै भन्नुभयो, ‘यो सँगै अहिले विद्यालयमा महिनामा दुई पटक सांस्कृति नृत्यहरूको प्रतिस्पर्धा गर्ने गरिएको छ ।’ विद्यार्थीहरूलाई आफ्नो जातीय नृत्यबारे व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने उद्येश्यले उक्त प्रतिस्पर्धा गराउने गरिएको उहाँको भनाई छ । उहाँका अनुसार साथै विद्यालयमा हुने कुनै पनि सांस्कृतिक कार्यक्रममा पनि विद्यार्थीहरूलाई जातीय नृत्यहरू प्रस्तुत गराइने गरिएको छ ।
रानीटार माध्यामिक विद्यालयमा सांस्कृतिक पहिचान झल्किने भेषभुषा लगाउने नियम सुरू गर्नु भएका प्रधानध्यापक राईले गत साता मात्र अवकाश पाउनु भएका छ । उहाँको विदाई कार्यक्रममा पनि विद्यार्थीहरूले जातीय नृत्य प्रस्तुति गरेर आफ्ना प्रधानाध्यापक राईलाई सम्मान प्रदान गरेको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २१, आईतवार २१:१६ गते