बेसीशहर– काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दिवेश लोहनीले पीडामा परेका सेवाग्राहीका लागि नेपाल प्रहरी आशा र भरोसाको केन्द्र बन्नु पर्छ भन्नु भएको छ । उहाँले लमजुङको सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय हातामा निर्माण गरिएको एक आधुनिक भवनको एक कार्यक्रमका बीच उदघाटन गर्दै फागुन २१ गते त्यस्तो बताउनु भएको हो ।
प्रमुख अतिथि लोहनीले उदघाटन मन्तव्यका क्रममा सेवाभावले उच्च मनोबलका साथ सेवा प्रवाह गर्न नवनिर्मित भवनले थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कानुनको प्रभावकारी कार्यान्वयन गर्न तथा शान्ति सुव्यस्था कायम गर्न नेपाल प्रहरी कडारुपमा प्रस्तुत हुने भन्दै उहाँले यस दिशामा काम गर्न मातहतका कमाण्डरहरूलाई निर्देशन दिन चाहन्छु भन्नुभयो । हाम्रा संरचना र कानुन परिवर्तित भएता पनि नेपाल प्रहरीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तमा परिवर्तन हुँदैन भन्ने जानकारी दिदै उहाँले प्रहरी संगठन जनमुखी, पारदर्शी र कानुनका मूल्यमान्यताका आधारमा सञ्चालित हुँदै आएको र त्यसरी नै परिचालित हुने उल्लेख गर्नु भयो ।
उहाँले नेपाल प्रहरीप्रति जनताको भरोसा र विश्वास अत्यन्तै उच्च रहेको स्मरण गर्दै जनताका तमाम अपेक्षालाई सम्बोधन गर्दै हामीप्रतिको विश्वास कायम राख्नु हाम्रा लागि अवसर र चुनौती दुवै हो भन्नुभयो । उहाँले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मौसमी नभई यो निरन्तर परिस्कृत हुँदै जाने स्थायी प्रणालीको रुपमा रहनेछ भन्ने उल्लेख गर्नु भयो । विकासका माध्यमले सुदृढ आर्थिक विकासको माध्यमबाट समृद्धि हासिल गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न सुदृढ सुरक्षा व्यवस्था पूर्वसर्त हो भन्दै उहाँले अर्थिक बृद्धिको लक्ष्य प्राप्तिमा योगदान पु¥याउन नेपाल प्रहरी पूर्ण प्रतिवद्ध छ भन्ने जानकारी दिनुभयो ।
उहाँले प्रहरी संगठनका भौतिक संरचना निर्माणलाई उच्च प्राथमिकतामा राखेको समेत सो अवसरमा जानकारी दिनुभएको थियो । उहाँले प्रहरीको ब्यारेक र मेस गुणस्तरीय हुँदा प्रहरीको स्वास्थ्य मात्रै नभएर मनोबलमा समेत सकरात्मक प्रभाव पर्ने दाबी गर्नु भएको थियो । नवनिर्मित हिरासत कक्षले थुनुवाको सेवा सुविधा र मानवअधिकारको संरक्षण हुने उहाँको धारणा थियो ।
सो हातामा कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, हिरासत कक्ष तथा मेस भवन आदि संरचना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले नेपाल प्रहरी शान्तिसुरक्षाको पहिलो पंक्तिमा रहेर जिम्मेवारी पुरा गरिरहेको उल्लेख गर्दै यस्ता भवनको यो संगठनको कार्यसम्पादनमा थप मद्दत हुने र कार्यरत प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च हुने बताउनु भयो । उहाँले यस कार्यले अपराध अनुसन्धानका क्षेत्रमा समेत उपलब्धी हासिल गर्न सहज हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा गण्डकी प्रदेश प्रहरी प्राविधिक प्रनाउ ईञ्जिनियर केभिनजङ्ग थापाले संरचनाको प्राविधिक पक्षबारे जानकारी गराउनु भएको थियो । उहाँले भवन निर्माणको संक्षिप्त जानकारी दिदै उक्त भवनसहितका संरचना चार करोड, २३ लाख १० हजार ४२ रुपैयाँमा २०७६ सालको मंसिरमा निर्माणका लागि ठेकदारसँग सम्झौता भई निर्माण सम्पन्न भएको जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ प्रकाश श्रीमलले भूकम्पले पुरानो भवन चर्किएपछि निर्माण गरिएका भवन तथा संरचनाले प्रहरीलाई सहज बनाएको जानकारी दिनु भयो ।
ती भवनको तत्कालीन गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले २०७६ माघ ७ गते शिलान्यास गर्नु भएको हो ।
२०७६ को मंसिर ११ गते ती संरचना निर्माण्का लागि सम्झौता गरेर ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालि पोखरीचौरी, काभ्रेद्वारा यी संरचना निर्माण गरिएको हो ।
उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायवमहानिरीक्षक बुद्धीराज गुरुङले धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ प्रकाश श्रीमलले स्वागत गर्नु भएको सो कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक बुद्धि सुवेदीले गर्नु भएको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन २१, आईतवार २१:४४ गते