काठमाडौं– राष्ट्रपति निर्वाचनको मतदान हुन अब दिन फागुन २५ गते । उक्त निर्वाचनमा मत दिनका लागि रास्वपाले आफ्ना सांसदलाई स्वतन्त्रता दिएको बुझिएको छ । सो पदमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुभास नेवाङ बीच प्रतिस्पर्धा हुँदैछ ।
सोही सन्दर्भमा आजै फागुन २२ गते राति १२ बजेदेखि मौनअवधि सुरु हुने भएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेललाई १० दलको समर्थन रहेको छ । ती दलहरू हुन्– कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आमजनता पार्टी गरी १० दल छन् । यसैगरी, पौडलकाविरुद्ध एमालेले पार्टीका उपाध्यक्ष नेम्वाङलाई मौनअवधि सुरु हुँदासम्म एमाले बाहेकका अन्य दलले खुलेर समर्थन गरेको अवस्था छैन । राष्ट्रपतिको यो निर्वाचनमा केही दलले कसलाई मत दिने भन्ने अझै प्रस्ट खुलेको छैन । ती दल हुन्– राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी ।
संघीय संसदको चौथो ठूलो दल रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय गरेको छैन । तर कांग्रेस र एमालेका नेताहरू सो पार्टीको भोटका लागि रास्वपा अध्यक्ष रविलाई भेट्न पार्टी कार्यालयसम्म नै पुगेका थिए ।
यसैबीच, राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेर पौडेल रबिलाई भेट्न उहाँको निवासमै पुग्नुभएको थियो । आफू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र लामो राजनीतिक यात्रा रहेकाले समर्थन गर्न रबिलाई पौडेलको आग्रह थियो ।
रबिले पार्टीले निर्णय गर्नै बाँकी भएको जवाफ दिनु भएको बुझिएको छ । ‘मैले उहाँलाई पार्टीले निर्णय गर्न बाँकी छ, पार्टीगत निर्णय गर्छौं भनेँ । तपाईंलाई शुभकामना छ भनेँ,’ रबिले बताउनु भएको छ । त्यसपछि पौडेल भोट माग्न रास्वपाको पार्टी कार्यालय पुग्नु भएको थियो । यस्तै एमाले नेताहरू रास्वपा सभापति रबिलाई भेट्न बसुन्धारामा पुगेका थिए । एमाले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दा रबिले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जवाफ दिनु भएको थियो ।
रास्वपाले सरकार पक्ष र विपक्षी एमालेसँग समदुरी राखेर अगाडि बढ्ने रणनीति लिएको जस्तो छ । पुस १० को सत्ता समीकरण फेरिएपछि सरकारबाट बाहिरिएका एमाले र राप्रपाले समर्थन फिर्ता लिइसकेको अवस्था छ । माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन । तर रास्वपा पुनः सरकारमा सहभागी हुने तयारीमा हो कि जस्तो पनि छ । रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनु भएको थियो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा सांसदलाई भोट हाल्न स्वतन्त्र छाडिदिने कि भन्ने विकल्पमा पनि छलफल भइरहेको छ । जे निर्णय हुन्छ, बैठक बसेर हुन्छ ।’
स्वतन्त्र सांसदको मतभार ६२४ छ ।
यसैगरी, प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद भएको राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिने– नलिने भन्नेमा विवाद रहेको बताइन्छ । राजसंस्थाको वकालत गर्ने राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने मत जबरजस्त देखिन्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचनमा एमालेको साथ सहयोग पाउनु भएका उहाँले सो दललाई सहयोग गर्ने गरी भाग लिनुपर्ने पक्षमा रहेको बताइन्छ । तर, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेता अध्यक्षको विपक्षमा देखिएका छन् ।
उता प्रतिनिधिसभामा एक र प्रदेशसभामा तीन सांसद रहेको नेमकिपा राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने टुंगोमा पुगेको छैन । परिस्थिति नियालेर निर्णय लिने योजनामा रहेको नेमकिपाका सांसद प्रेम सुवालको भनाइ छ । नेमकिपामा संस्थागत निर्णय भइनसके पनि सुवालले नेम्वाङलाई भोट दिने संकेत गरे ।
यस्तै, हाम्रो नेपाली पार्टी कुनै पनि उम्मेदवारको पक्षमा खुलेको छैन । प्रदेशसभामा दुई सांसद भएको सो पार्टीले पनि अन्तिममा निर्णय लिने जनाएको छ ।
संघीय समाजवादी पार्टीको पनि मधेस प्रदेशसभामा मात्रै एक सांसद छन् । यो पार्टीले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन बाँकी छ ।
राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका ८ सय ८१ सांसद मतदाता छन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरु गरी राष्ट्रपति निर्वाचनका लागि ८८१ सांसदको नामावली मतदाता सूचीमा सार्वजनिक भएको छ । प्रदेश सांसदको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम उल्लेख छ ।
नेम्वाङको पक्षमा अहिलेसम्म एमालेको १५ हजार २ सय ३३ मत छ । अनिर्णीत मतभार ४ हजार ३१८ छ । राप्रपा २ हजार ४ सय ५०, रास्वपाको १ हजार ५०१, नेमकिपा २ सय २३, हानेपाको ९६ र संघीय समाजवादी पार्टीको ४८ मत छ ।
तर १० दलको समर्थन पाएका पौडेलको पक्षमा स्पष्ट बहुमत देखिएको छ । गठबन्धनको पक्षमा रहेका सांसदहरूको मतभार ३२ हजारभन्दा बढी हुन्छ । चुनावको दिनसम्म यो गठबन्धन नभत्केमा राष्ट्रपतिमा पौडेलको जित निश्चित छ । कांग्रेसको १६ हजार २ सय २१, माओवादीको ७ हजार ७ सय ४५, जसपाको २ हजार १ सय ४५, एकीकृत समाजवादीको २ हजार ५ सय ७४, जनमतको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नाउपाको ८ सय ९२, जनमोर्चाको २ सय ६ र आम जनता पार्टीको ८९ मत छ ।
उनीहरूको मतभार ५२ हजार ६ सय २८ छ । त्यसको पचास प्रतिशत मत कटाउने उम्मेदवार निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २२, सोमबार २१:३७ गते