बेसीशहर– लमजुङमा फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमण रोकिन सकेको छैन । सो संक्रमण थप एक वडामा समेत पुष्टि हुन आएको छ । जसका कारण व्यावसायिक किसानका बंगुर फार्म तथा गोठहरू रित्तिन क्रम जारी छ । फागुन २२ गते साँझसम्म थप ८१ समेत कुल २३० वटा बंगुरका माउ तथा पाठापाठी मरिसकेका छन् ।
स्वाइन फिभरका कारण व्यावसायिक किसानहरू मारमा परेका छन् । उनीहरूको लाखौंको नोक्सानी भएको छ । यौटा वयस्क बंगुर डेढ क्विन्टल तौलका रहेको र तिनको मूल्य प्रति गोटा ४५ हजार रुपैयाँ पर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पाठापाठीको मूल्य छ हजार रुपैयाँ तोकिएको छ ।
उहाँले भन्नुभयो, ‘हालसम्मको पछिल्लो रिपोर्ट अनुसार स्वाइन फिभरका कारणले मरेका बंगुरको संख्या २३० पुगेको छ र त्यो संख्यामा आधा माउ र आधा पाठापाठी छन् ।’ उहाँले किसानहरूको लाखौंको क्षति भएको उल्लेख गर्नु भयो । उहाँले थप भन्नुभयो, ‘यो .रोगको मृत्युदर अति उच्च भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि बेसीशहर नगरपालिकाबाट बंगुर तथा वंगुरजन्य पदार्थहरू अन्य क्षेत्रमा लान तथा अन्य क्षेत्रबाट बेसीशहर ल्याउन प्रतिवन्ध लगाइएको हो ।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. श्रेष्ठले सो रोग बारेमा थप जानकारी दिदै भन्नुभयो, ‘यो रोग लागेको ४ दिनदेखि बढीमा एक महिनाभित्र बंगुरको मृत्यु हुने हुन्छ । बंगुरको इम्यूनिटी पावर अनुसार त्यो कति दिन बाच्ने भन्ने हुन्छ तर रोग लागेपछि बाच्ने सम्भावना नै हुँदैन भन्दा पनि हुन्छ ।’
यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएकाले संक्रमण फैलन नदिन वंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र वंगुरहरू मरेमा सुरक्षित तवरले खाडलमा गाड्न पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ । यो रोगको नियन्त्रणका लागि केही उपाय छैन ? भन्ने जिज्ञासामा डा. श्रेष्ठले भन्नुभयो, ‘हामीले हाम्रा प्राविधिकहरू पठाएर फार्महरूलाई निसंक्रमित गर्ने कार्य थालेको छौं । तर पनि यो कार्य उस्तो प्रभावकारी हुन सकेको छैन उहाँले जानकारी दिनुभयो ।
सो रोग फैलिएका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बंगुर तथा बंगुरजन्य पदार्थ जिल्ला सदरमुकाम बाहिर ओसार पोसारमा लगाइएको प्रतिवन्ध कडा पारिएको सो कार्यालयका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार हाल जिल्ला सदरमुकाम बेसीशहरमा बढी मात्रामा देखिएको छ । यसअघि बेसीशहर नगरपालिका– ६ र ८ मा मात्र सो रोग फैलिएकोमा हिजोबाट वडानं– ३ मा समेत फैलिन थालेको छ । उहाँले भन्नुभयो, ‘यो रोगको उपचार र भ्याक्सिन आजसम्म बन्न सकेको छैन, त्यसैले रोकथाम मात्रै एक उपाय हो ।’
सो रोगका बारेको पछिल्लो स्थिति बारेमा जानकारी दिदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले भन्नुभयो, ‘यो रोग मानिसमा कुनै पनि अवस्थामा सर्दैन तर मानिसहरू डराएर पालिएका बंगुरको पनि स्याहार गर्न छाडे भन्ने सुन्नमा आएको छ, त्यसरी डराउनु पर्दैन ।’ नियमित स्वाहार सुसार गर्दा हुन्छ तर नयाँ मानिसलाई बाहिर गएर फर्केपछि उही कपडाले सरसफाई नगरी फार्ममा पस्न भने हुँदैन उहाँले भन्नुभयो । 
उहाँका अनुसार लमजु्ङका चारवटै नगरपालिकामा व्यवासयिक वंगुर फार्म सञ्चालनमा छन् । मध्यनेपालको जिता, सोतीपसलमा लोकल बंगुर पाल्नेको संख्या पनि ठूलै छ । राइनास नगरपालिकाको गरमबेसी, तीनपिप्ले क्षेत्रमा बंगुरका फार्म छन् । तुलनात्मक रुपमा कम भए पनि सुन्दरबजार नगरपालिकामा पनि बंगुरका व्यवसायिक फार्म छन् उहाँहरू सबैले सावधानी अपनाउन जरुरी छ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले बताउनु भयो । उहाँ भन्नुभयो, ‘हामीले १० र त्योभन्दा माथिको संख्यामा बंगुर वा सुँगुर पाल्ने किसानलाई व्यवसायिक भनेका छौं, जिल्लामा करिब ६० को हाराहारीमा त्यस्तो फार्म छन् । केहीले त एक सयवटा माउ पनि पालेका थिए श्रेष्ठले उल्लेख गर्नु भयो ।
यो रोग देखिएमा बंगुर तथा पाठापाठीमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, पखला लाग्ने, छट्पटाउने लक्षण देखिन्छन् । रोगी बंगुर वा पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक ठाउँबाट अर्को ठाउँमा पुग्दा यो रोग सजिलै सर्ने भएकाले जैविक सुरक्षाका विधिहरू अपनाउन पशु चिकित्सकहरूले सल्लाह दिइएको डा. श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो ‘यो रोग मानिसमा नसर्ने भएको हुँदा मासु खाएकाहरूले पनि चिन्ता लिनु पर्दैन, अब सावधानी अपनाएर ढुक्कले स्याहार सुसार गर्दा हुन्छ ।’
ती किसानका लागि राहतको केही प्रवन्ध हुन्छ कि ? भन्ने जिज्ञासामा उहाँले त्यस्तो ठ्याक्कै कार्यक्रम त नेपाल सरकारको छैन, त्यस्तो कानुन नै आजसम्म बनेको छैन डा. श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार बीमाले केही राहत देला । कति किसानले बीमा गरको होलान् ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, १० प्रतिशत जनि फार्म बीमा गर्ने होलान् । तर पनि हामी प्रेदश सरकारको व्यवसाय पुनः स्थापन भनेर महामारी, बाढी पहिरोमा परेका किसानका लागि सहयोग गर्ने कार्यक्रम छ । तर यो राहत होइन उहाँले भन्नुभयो ।
प्रकाशित मिति २०७९ फाल्गुन २३, मंगलवार १०:१३ गते