नमार्खु गाउँमा ठाडोभाकाको छायांकन सहित विशेष कार्यक्रममा २४ वर्षदेखि ७४ वर्षीयाले गाए 

नमार्खु गाउँमा ठाडोभाकाको छायांकन सहित विशेष कार्यक्रममा २४ वर्षदेखि ७४ वर्षीयाले गाए 

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २८ गते आईतबार ०७:२२

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य समेत रहनु भएका नवीन बराल तथा प्रतिष्ठानकी सहकोषाध्यक्ष तथा उक्त कार्यक्रमको संयोजनकर्ता समेत रहनु भएकी भुन्टीमाया तामाङ बीचको प्रस्तुति पनि उत्तिकै रोचक रह्यो । भने हालसम्म कान्छी महिला गायिकाको रुपमा परिचय बनाउन सफल हुनुभएकी २९ वर्षीया सावित्री शाहीले श्रीमान् तामाङका साथमा ओजपूर्ण प्रस्तुतीको धेरै दर्शकहरूले प्रशंसा गरेका थिए ।

७४ वर्षीया बृद्धा सानुमाया गुरुङले पहिलो पटक माइक समाउँदा हर्षले गद्गद्

नमार्खु(लमजुङ)– लोकसंस्कृतिको धनी जिल्लाका रुपमा परिचित लमजुङको दुर्गम गाउँ यहाँ ठाडोभाकाको छायांकन सहित विशेष कार्यक्रम गरिएको छ । दुई दिवसीय उक्त कार्यक्रम फागुन २७ गते साँझ ५ बजे समापन गरिएको हो ।
उक्त कार्यक्रममा नमार्खु गाउँ क्षेत्रमा रहनु भएका गायक गायिका र आफ्नो प्रतीभा दबाउँदै आउनु भएका धेरै जना यो कार्यक्रममा खुल्नु भयो । त्यस्तै, एक प्रतीभाकी धनी हुनुहुन्छ ७४ वर्षीया सानुमाया गुरुङ । आफ्ना जवानी उमेरका दिनमा तीन दिनसम्म ठाडोभाका गाउँदा पनि जीतहार नभई उठेको स्मरण उहाँको मानस पटलमा ताजै रहेछ । त्यो बेलामा आजको जस्तो माइकको सुविधा थिएन, गीत गाउनकै लागि माइक पहिलो पटक समाएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठाडोभाका गाउन छाडेको पनि १५/१६ वर्ष जति भयो होला, अब त बुढी पनि भयो, बिर्सिसक्यो, ‘गाउँदैन ।’ भनेर निकै अड्डी कस्नु भएकी उहाँलाई आफन्तजन लगायत आयोजकहरूले गाउनका लागि विशेष जोडबल गरेपछि गाउनुभयो । उहाँले ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’का साथमा ठाडोभाका गाउनु भएको हो । शुरुमा अरुले माइक समाइदिन परेको थियो तर गाउँदै गएपछि भने उहाँले आफै माइक समातेर ढुक्कसँग गाउनु भयो । उहाँको गायन शैली अनुकरणीय रहेको ठाडोभाकाका पारखीहरूले बताएका छन् ।
यसैगरी, यो कार्यक्रममा ७३ वर्ष उमेरका घाँटु, सोरठी, मारुनीका गुरुवा समेत रहनु भएका र अर्का गृहस्थी जीवनमै रहनु भएका द्वय नरबहादुर गुरुङले पनि कर गरेपछि गाउनु भयो । ६८ वर्षका खड्गबहादुर गुरुङले समेत यो कार्यक्रमले गर्दा धेरै वर्षपछि ठाडोभाका गाउने मौका मिलेको बताउनु भयो । खड्गबहादुरले ठाडोभाका लोककला प्रतिष्ठानका उपाध्यक्ष सीता दुराका साथमा मित बाबु छोरी बनेर गाउनु भएको गीत निकै रसपूर्ण थियो । सीता दुराका साथमा गुमानसिंह तामाङले पनि मीठो प्रस्तुति दिनु भएको थियो । गुमानसिंह तामाङले यसअघि पनि कता कति ठाडोभाका गाउँने गरेता पनि यति ठूलो कार्यक्रममा र लामो समय पहिलो पटक गाएको बताउनु भयो ।
यसैगरी, गुरु नरबहादुर गुरुङले राधा भण्डारी(नेटा)का साथमा र अर्का नरबहादुर गुरुङले बुद्धिमाया गुरुङ(पुरानकोट)का साथमा गाउनु भएको थियो ।
यसैगरी, हालसम्म कान्छी महिला गायिकाको रुपमा परिचय बनाउन सफल हुनुभएकी सावित्री शाहीले श्रीमान् तामाङका साथमा गाउनु भएको थियो । सावित्रीद्वारा सुमधुर स्वर शैलीमा अत्यन्तै शालिन, सुसंस्कृति तथा ओजपूर्ण शब्दावलीको प्रयोगका साथ गरिएको प्रस्तुतीको धेरै दर्शकहरूले मन्त्रमुग्ध भएर सुन्दै प्रशंसा समेत गरेका थिए ।
त्यसैगरी, कुमारी गुरुङ र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपमहासचिव आशबहादुर विकका बीचमा आमा छोरा भएर गाएको गीत पनि उक्तिकै सुन्न लायक रहेको स्रोतहरू बीच चर्चा चलेको थियो ।
नवोदिन अर्थात पुरुषतर्फ ठाडोभाकाका कान्छा गायक नवीन बरालले मंगली गुरुङका बीचको प्रस्तुती पनि निकै रोचक बन्यो । मंगलीले नवीनलाई तिमीजस्तो लोर्केलाई मै छाड्नि मलाई नै लैजाउ, जान्छु भन्ने तथा नवीनले तिमी त बृद्धभत्ता खाने बेला भो, तिम्रो छोरी देउ, लग्छु भन्ने प्रशंगका प्रस्तुतिलाई दर्शक स्रोताहरूले निकै रुचाएका थिए ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य समेत रहनु भएका २४ वर्षीय नवीन बराल तथा प्रतिष्ठानकी सहकोषाध्यक्ष तथा उक्त कार्यक्रमको संयोजनकर्ता समेत रहनु भएकी भुन्टीमाया तामाङ बीचको प्रस्तुति पनि उत्तिकै रोचक रह्यो । नवीनले आफ्नो प्रस्तुतिका साथमा नमार्खु गाउँ तथा आयोजक जागृत आमा समूहले गरेको व्यवस्थापन, खटाई तथा स्वागत सत्कारसहितको बिर्सिनसक्ने आतिथ्यता बारेमा गर्नु भएको वर्णनले पनि धेरैको मन छोएको थियो ।
यहाँको जागृती आमा समूहको आयोजना तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको प्राविधिक सहयोगमा गरिएको उक्त कार्यक्रम ठाडोभाका महानायक एवम् प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को प्रमुख आतिथ्यतामा भएको थियो ।
सो कार्यक्रममा उक्त वडाका अध्यक्ष ओमबहादुर गुरुङ, समाजसेवी खड्गबहादुर गुरुङ, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रम आयोजक आमा समूहका अध्यक्ष वनमाया गुरुङको अध्यक्षता भएको थियो भने स्वागत जागृती आमा समूहका सदस्य एवम् गणेश प्राविका प्रधानाध्यापक धनकुमारी गुरुङले स्वागत तथा प्रतिष्ठानका महासचिव अकल विरही गुरुङले सञ्चालन गर्नु भएको थियो । स्वागत समेत ठाडोभाकामा प्रतिष्ठानका सदस्य अनिता गुरुङसहितले प्रस्तुत गर्नु भएको थियो ।

भुन्टीमाया तामाङको अनुकरणीय र अविस्मरणीय योगदान :
उक्त कार्यक्रम नमार्खु गाउँमा लग्नका लागि संयोजनको भूमिकामा सोही वडाका निर्वाचित वडासदस्य हुनुका साथै प्रतिष्ठानका सहकोषाध्यक्ष समेत रहनु भएकी भुन्टीमाया तामाङको विशेष सक्रियता र योगदान रह्यो । उहाँले आयोजक र प्राविधिक सहयोगकर्ता प्रतिष्ठानका बीचमा समन्वयकारी भूमिका निभाउनुका साथै विशेष आर्थिक सहयोग पनि उक्तिकै गर्नु भएर सबैलाई चकित बनाउनु भएको छ । उहाँले ठाडोभाका लोककला प्रतिष्ठान नेपालको प्राविधिक टोलीलाई सिउँडीबारदेखि कार्यक्रमस्थलसम्म जान आउन निजी खर्चमा बस रिजर्भ गर्नुका साथै कार्यक्रमका लागि छुट्टै नगद पाँच हजार प्रदान गर्नु भएको थियो । त्यतिमात्र होइन, विदाईका अवसरमा प्रतिष्ठानका पदाधिकारीहरू तथा गायक/गायिकाहरूलाई मायाको चिनो (उनीको गलबन्दी/सल) पहिराएर विदाई गर्नु भएको थियो । दानीलाई हानी हुँदैन भन्ने दिव्य सन्देश रहेको स्मरण गर्र्दै भुन्टीमायाको उत्तरोत्तर प्रगतिका लागि ठाडोकाका लोककला प्रतिष्ठानले विशेष कामना गरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ ।

उहाँका अनुसार भुन्टीमाया तामाङ प्रतिष्ठानले दोर्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उपज हुनुहुन्छ ।
कार्यक्रमको समापनका अवसरमा आयोजक जागृती आमा समूहका अध्यक्ष वनमाया गुरुङ सहितका पदाधिकारीहरूबाट कार्यक्रमलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तित्वका साथै प्रविधिक सहयोग गर्ने प्रतिष्ठानको अक्षयकोषका लागि छ हजार रुपैयाँ प्रदान गर्नुका साथै प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई मायाको चिनो सहित सम्मान गर्नु भएको थियो । त्यस्तै, प्रतिष्ठानद्वारा आयोजक समूहका अध्यक्ष तथा कोषाध्यक्षलाई दोसल्लासहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
२६ गते शुरु भएको उक्त कार्यक्रम राती एक बजेसम्म चलेको थियो भने २७ गतेका दिनमा साँझ ५ बजे समापन गरिएको थियो ।
लमजुङको पश्चिम क्षेत्रमा मात्र प्रचलित रहेको ठाडभोका पछिल्ला वर्षमा पूर्वीक्षेत्रमा समेत फैलिन थालेको छ । ठाडभोका लोककला प्रतिष्ठानले २०७६ सालमा आयोजना गरेको पहिलो प्रतियोगिता प्यारज्ुङमा गरिएको थियो । गत वर्ष राइनासकोटमा त्यहाँको होमस्टेले पनि प्रतियोगिता आयोजना गरेको थियो । प्रतिष्ठानले चैत पूर्णिमाका अवसरमा इमलपोखरी मेलाका अवसरमा ठाडोभाकाको छायांकन सहितको कार्यक्रम गरेको थियो । यो वर्ष नमार्खुमा यो कार्यक्रम गरिएको हो । आउँदो वर्ष दूधपोखरी गाउँपालिकाका लागि सेन्टर पर्ने गरी ठाडोभाका प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २८, आईतवार १९:२२ गते
हजुरको प्रतिक्रिया