बेसीशहर– लमजुङमा बिरलै चल्ने मानवबेचविखनको मुद्दामा पीडितले न्याय पाएको अनुभूति गर्न नसकेको रहस्य खुल्न आएको छ । यो घट्नाले प्रहरी, प्रशासन (न्यायालयसमेत) आजका दिनमा पनि पीडकको पक्षपोषणमा लाग्ने गरेको थप पुष्टि हुन आएको छ ।
गत वर्षको स्थानीय निर्वाचन लगत्तै बेसीशहर नगरपालिका– १ मा यौटा मानव बेचबिखनको घट्नालाई मुद्दा रुप नदिनका लागि ‘सत्य सेवा सुरक्षा’ तथा कथित ‘बालअधिकार र महिला अधिकार(हिंसा)प्रति शून्यसहनशीलता’को ढोंग(अपाल) ओकल्ने प्रहरीले निकै प्रयास गरेको थियो । त्यो रहस्य खुलेपछि महिला अधिकारकर्मीहरूको जोडबलमा त्यो मुद्दा दर्ता त गरियो तर निकै कमजोर रुपमा । पीडितले भने बमोजिमको व्याख्या र विश्लेषण गर्न अर्थात उजुरी लिन र अनुसन्धान गर्न प्रहरीले नमानेको गुनासो पीडितबाट त्यो बेलानै सुनिदै आएको हो । त्यसैले पीडकलाई नाम मात्रको सजाय जिल्ला अदालतबाट हुन आएको स्थिति छ ।
प्रहरीले शुरुमा पीडित १६ वर्षकी(जन्मदर्ता अनुसार) किशोरीलाई उमेर पुगेको भन्ने दावी गर्दै हप्काई दप्काई गरी कथित मिलापत्र समेत गराएर पठाउन सफल रहेको रहस्य त्यो बेलानै खुलेको थियो । पीडकलाई उन्मुक्ति दिनका लागि प्रहरीले पीडितलाई त्यो बेलामा गरेको व्यवहारले आजका दिनमा पनि उनीहरू एक्लै प्रहरीकोमा जाने हिम्मत गर्दैनन् ।
पीडित किशोरी गत बैशाख २७ गते बेपत्ता भई जेठ ६ गते अभिभायकको सम्पर्कमा प्रहरीकै मार्फत आएकी हुन् । स्मरणीय छ, स्थानीय निर्वाचनका कारण सीमा नाका तीन दिनसम्म बन्द (शील) हुँदा उनी विदेश पुग्न अर्थात बेचिनबाट बचेकी हुन् भन्ने समाचार हामीले त्यो बेलानै प्रकाशन गरेका थियौं ।
बैशाख ३१ को महिना थियो पीडित किशोरीले आफूलाई काठमाडौंमा राम्रो र धनी केटाको साथमा विवाह गरिदिने प्रलोभनमा पारी (अभिभावकको स्वीकृति बेगर) लगेर सात दिनसम्म आफूलाई बन्धक बनाई दुई जना तराईमूलका मानिसलाई पालोपालो पठाई यौन शोषण गराएको भनेकी छन् । उनको त्यो भनाईलाई बीचबीचमा बदल्न अनेक प्रयास(दबाब दिने) गरिए पनि आजसम्म त्यही छ । तर सो मुद्दाको मिलिसमा किशोरीको उमेर १७ वर्ष, जेठ ६ लाई ४ गते र ३ दिनमात्र बलात्कार गरिएको भन्ने उल्लेख गरिएको रहेछ । पीडितको पक्ष लिने दावी गर्ने प्रहरी बैशाख २७ गते बेपत्ता भई जेठ ६ गते कति दिन हुन्छ ? र ती अन्य दिनमा उनी कहाँ थिइन् ? भन्ने हेका तथा अनुसन्धान प्रहरीले किन गरेन ?
घट्नाको अनुसन्धानमा गहिरिन चाहन्न प्रहरी किन ?
यसैगरी, पीडितलाई पीडक शंकर कुँवरकी श्रीमतीले उनलाई लमजुङ फर्काउने बेलामा आफ्नो मोवाइल नंबर समेत दिएर लमजुङ गएपछि को को मान्छेसँग भेट हुन्छ क– कस्ले के के भन्छन् ? दिनभरको साँझमा मलाई भन्नुसमेत भनेर पठाएको पीडितले आज पनि बताउने गरेकी छिन् तर प्रहरी शंकरकी श्रीमतीलाई मतियार मान्न तयार भएन । त्यो बारेमा लेखिएका हरफहरू उजुरीमै मेटाउन प्रहरीले त्यो बेलानै दबाब दिएको र सफल समेत भएको भन्ने पीडितले गत वर्ष नै गुनासो पोखका थिए ।
त्यस्तै, सो काण्डकी नायक रहनु भएकी सेतीमाया भन्ने विष्णुमाया लोहनीकोमा ६/७ वर्ष अघि करिब एक सातासम्म उनको घरमा बसेर त्यो गाउँकी राम्री भनेर समेत कहलिएकी एक महिला हराएको र आजसम्म बेपत्ता रहेको बारेमा समेत अनुसन्धान गर्न पीडितले उजुरीमा खुलाएकोमा ती रहफ समेत प्रहरीले मेटाउन लगाएको भन्ने पीडितको दावी छ । यस्ता मावनीय संवेदनाका घट्नाको अनुसन्धानमा गहिरिन चाहन्न प्रहरी किन ? रहस्य एवम् खोजीको विषय बनेको छ ।
माथिका दुई विषयको खुलासा भएपछि पीडितको सहारा बनेका यहाँका महिला सञ्जाल, कुनै दिन बालहेल्प लाइन समेत सञ्चालन गरेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालय, तामाङ महिला समूहका प्रतिनिधिहरू तथा अधिकारकर्मी अमृता असीमसहितको टोलीले तत्कालीन प्रहरीलाई ज्ञपानपत्र बुझाउँदै माथिका विषयमा समेत अनुसन्धानको दायरामा ल्याउन माग गरेका थिए । उनीहरूले तत्कालीन प्रजिअलाई भेट गरी ज्ञापन पत्रमा उल्लेखित दुई विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन माग गरेका थिए तर प्रजिअबाट समेत त्यो काम भएको रहेनछ । त्यसबाट प्रशासनलेसमेत पीडिकको पक्षपोषण गर्ने रहेछ भन्ने थप बताउन आवश्यक रहेन ।
विष्णुमायाले पीडित किशोरीलाई काठमाडौं पठाउँदा पीडित किशोरीको पहिरन थोत्रो र मैलो भएका कारण आफ्नी छोरीका कपडा(जुत्तासमेत) लगाउन दिई, एक मोवाइल सेट (काठमाडौंमा सम्पर्क गर्न सहजताका लागि) समेत दिएर पठाएकी थिइन् । मोवाइल र जुत्ता शंकरले काठमाडौंमा खोसेर राखेको, कपडा भने आफ्नो साथमा रहेको पीडित किशोरीले बताएकी थिइन् । ती कपडाको फोटो गत वर्ष समाचारका साथमा आइसकेको छ । प्रहरीले काठमाडौंमा शंकरको कोठा खानतलासी गर्दा किशोरीले लगाई आएको जुत्ता फेला पारी प्रमाणका लागि जिल्ला अदालतमा बुझाई सकेको स्वम्भू प्रहरी बृत्तबाट यो पंक्तिकारलाई जानकारी दिएको छ ।
यसप्रकार मुद्दालाई कमजोर बनाइएका कारण पनि हुन सक्छ पीडकलाई जिल्ला अदालत लमजुङबाट न्यूनमात्र सजाय भएको पाइएको छ । तर पीडितहरू अनपढ र आर्थिक अवस्था निकै कमजोर भएका कारणले मुद्दामा हुन सक्ने चलखेलका सबै विषयवस्तु बुझ्दैनन्, अनि प्रश्न गर्छन्– ‘हाम्रो यतिको पीडामा मल्हम लगाउनेसम्मको काम पनि किन अदालतबाट भएन ?’
पुस्तकालयको सहयोगमा बयान :
गत वर्ष यो घट्ना हुँदा पीडितलाई न्याय दिलाउन भूमिका खेल्ने मध्येको एक रहेको यहाँ स्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले पीडित किशोरीलाई आर्थिक सहयोग गरेको छ । सोही खर्चबाट उनले काठमाडौं पुगेर अर्को मुद्दाको थप बयान दिएर फर्किएको जानकारीमा आएको छ ।
मुद्दा फिर्ता लिन दबाब :
त्यसो त पीडित परिवार अनपढ हुनुका साथै आर्थिक स्थितिसमेत निकै कमजोर रहेछ । त्यसको फाइदा उठाउन पीडित र उनका परिवारजन(अभिभावक)लाई उक्त मुद्दा फिर्ता लिनका लागि आउने गरेको दबाब आजका दिनमा पनि कम नभएको गुनासो पीडितहरूले गरिरहेका छन् । यस घट्नाबाट पहुँच बिनाका सर्वसाधारणका लागि न्याय कति दुरुह छ भन्ने थप पुष्टि हुन आएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन ३०, मंगलवार ०७:१९ गते