भोर्लेटार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले लमजुङको मध्यनेपाल नगरपालिकामा सांगठनिक संरचना निर्माण गरेको छ । सो दलको उक्त नगरपालिकाको भेलाले नगरस्तरीय कमिटि चैत ८ गते गठन गरेको हो ।
अनौपचारिक रुपमा सञ्चालन गरिएको उक्त भेला कार्यक्रमको सो दलको लमजुङ जिल्ला संयोजक धर्म केसी र काठमाडौं जिल्लाका उपसंयोजक रबि गौतमले संयुक्त रुपमा घण्टी बजाएर उदघाटन गर्नु भएको थियो ।
सो अवसरमा लमजुङका जिल्ला संयोजक केसीले पार्टीका गतिविधिका साथ समसामयिक राजनीतिका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले रास्वपाका भावि योजना, विधानको विशेषता बारेमा जानकारी दिदै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिदै उनीहरूले गर्नु पर्ने कामका बारेमा निर्देशन दिनु भएको थियो ।
यसैगरी, मध्यनेपाल– ४ मा पैतृक थलो रहनु भएका काठमाडौं जिल्लाका उपसंयोजक रबि गौतमले पार्टी संगठनको ढाँचा र पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिनुभएको थियो । त्यस्तै, मध्यनेपाल जन्मथलो भई हाल काठमाडौंमा बस्नु हुने तोयाराज अधिकारीले संसदमा विधेयक लग्ने विधि, पार्टीका सांसदहरूको भूमिका, उनीहरूलाई के कसरी प्रशिक्षित गर्ने गरिएको छ ? कार्यसमितिका पदाधिकारीहरूले अध्ययन गर्नु पर्ने विषयका बारेमा प्रकाश पार्नु भएको थियो ।
नगर भेलाले राजेन्द्रप्रसाद पौडेललाई नगर सभापतिमा चयन गरेको छ । त्यस्तै, उपसभापतिमा सूर्यबहादुर अधिकारी चयन हुनुभएको छ भने सचिवमा दिवेन्द्रकुमार श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा सूर्यबहादुर कुमाल(रामजी), विकाश कुँवर, केशबहादुर रानाभाट, धनबहादुर रानाभाट र रमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । कोषाध्यक्ष र दुई सदस्य पद पछि पूर्ति गरिने बताइएको छ ।
जिल्ला उपसंयोजक अशोक सापकोटाले स्वागत गर्नु भएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका सम्पर्क व्यक्ति श्याम केसीले सञ्चालन गर्नु भएको थियो ।
भेलाका सहभागीहरू बीच परिचयबाट थालिएको कार्यक्रम सो दलको चुनाव चिन्ह घण्टी बजाएर उदघाटन गरिएको थियो ।
उक्त भेलामा अन्य दलको जस्तो आसन ग्रहणको लर्को थिएन भने सभापतित्व समेत नगराइएको जानकारीमा आएको छ ।
यसैबीच, भोलि अर्थात चैत ९ गते सुन्दरबजार नगरपालिकामा, १० गते राइनास नगरपालिकामा र ११ गते बेसीशहर नगरपालिकामा नगर भेला गराई समिति गठन गरिने कार्यक्रम रहेको सो दलले जनाएको छ ।
रास्वपाको लमजुङको मध्यनेपालमा आज गठन भएको संगठनिक ढाँचा अर्थात संरचना पहिलो कमिटि हो ।
प्रकाशित मिति २०७९ चैत्र ९, बिहीबार ००:०७ गते