
काठमाडौं– नेपालमा कोरोना भाइरस(कोभिड– १९)का संक्रमित थपिने क्रम जारी छ । पछिल्ला आठ दिनमा २०८ कोरोना संक्रमित थपिएको चैत १६ गते खुलासा भएको छ ।
चैत ९ गते एकैदिन १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार चैत ९ देखि चैत १६ गतेसम्म २०८ जना संक्रमित थपिएका हुन् । त्यसपछि क्रमशः ३÷३ जना, १२ गते १६ जना, १३ गते ६९ जना, त्यसपछिका दिनमा क्रमशः २४ जना, ३४ जना तथा १६ गते ४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १२३ पुगेको छ ।
फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका सब भेरियन्टविरुद्ध पनि काम गर्ने अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले पुष्टि गरिसकेको छ । यस अर्थमा फाइजर बुस्टर डोजले ओमिक्रोनका सब भेरियन्टबाट सिकिस्त गराउने जोखिम कम गराउने देखिएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ । त्यस्तै, दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ । पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले कोरोनालाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।
त्यस्तै, संक्रमणबाट सिकिस्त हुने अवस्था आउन नदिन कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गर्दै आएको छ । देशरभका विभिन्न पालिकामा अहिले बुस्टर डोजको रुपमा फाइजर खोप दिइरहेको छ ।
प्रकाशित मिति २०७९ चैत्र १७, शुक्रबार ०६:०५ गते