कर्णाली प्रदेशको विकासबिना सम्भव छैन सुखी नेपाली समृद्ध नेपाल
– रमेश सुवेदी
चैतको पहिलो साता अध्ययन अवलोकन भ्रमणको सिलसिलामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लाको अवलोकन भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । भ्रमणका सन्दर्भमा ती जिल्लाका केही मानिसहरूसँग विभिन्न विषयमा जानकारी लिने मौका मिलेको थियो । प्रत्यक्ष भेटेका मानिसहरूले कर्णालीको विकासको आशा र स्थान विकटताको बारेमा सौहार्द्र तरिकाले सुनाए । पुरानो पुस्ताका वृद्धहरूले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अन्धविश्वास र विभेदका विषयमा चर्चा गरे भने उनीहरूले हात पाखुरा नचलाउँदासम्म खान पाइँदैन,जुन सरकार भए पनि हाम्रो जीवनमा केही फरक परेको छैन, हाम्रा दुःख र समस्या जस्ताका त्यस्तै छन् भनेर गुनासो पोखे । भेटेका केही युवाले कर्णालीको सम्भावनाको कुरा पनि व्यक्त गरेका थिए । कर्णाली प्रदेशको प्रत्यक्ष अध्ययन, अवलोकन र त्यहाँका मानिसहरूको भोगाइ र अनुभवलाई समेटेर सानो यात्रा संस्मरण तयार गरेको छु ।
स्वर्गकी अप्सरा रारा त्यस्तै फोक्सुण्डो ताल छ, त्यसको विकास भएको छैन । सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिँदै छ कर्णाली आज । विकासको अधिकतम सम्भावना र चुनौती बोकेको मूर्त कर्णाली बेदनाको भूमरीमा फसेर अबोध पीडाका साथ छट्पटाइरहेको छ ।
कर्णाली प्रदेशको कुल क्षेत्रफल २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल) समग्र देशको १८.९७% क्षेत्रफल ओगटेको छ, क्षेत्रफलको हिसाबले यो प्रदेश नेपालको सबैभन्दा ठुलो प्रदेश हो । २०७८ को नेपालको जनगणनाअनुसार जनसङ्ख्या १६,८८,४१२ रहेको छ, जसले यसलाई नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको प्रान्त बनाएको थियो । यसको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा गण्डकी प्रान्त, पश्चिममा सुदूरपश्चिम प्रान्त र दक्षिणमा लुम्बिनी प्रान्तको सिमाना छ। सुर्खेतको वीरेन्द्रनगर प्रदेशको राजधानी र सबैभन्दा ठुलो सहर हो ।

मैले देखेको कर्णाली प्रदेश
नेपालको पुरानो सभ्यता र संस्कृति जोडिएको कर्णाली प्रकृतिको अनुपम उपहार हो । कर्णाली प्रदेश नेपालको सबैभन्दा ठुलो प्रदेश हो । भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठुलो कर्णाली प्रदेश आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले सबैभन्दा कमजोर छ । कर्णालीको विकासका लागि जल, जङ्गल, जडीबुटी, जमिन र जनशक्तिको उच्चतम उपयोग गर्नुपर्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण कर्णाली प्रदेश जल, जङ्गल, जडीबुटी, जमिन र जलस्रोतको खानी हो । प्राकृतिक सम्पदालाई प्रभावकारी रूपमा उपयोग गर्न सके कर्णाली प्रदेश मुलुककै नमुना प्रदेश बन्नेमा शङ्का छैन । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण कर्णाली प्रदेश सङ्घीय सरकारको प्राथमिकतामा अझै पनि पर्न सकेको छैन, जसको कारणले गर्दा कर्णाली प्रदेशमा गरिबी, अशिक्षा, बेरोजगारी बढ्दै गयो । पूर्वाधार विकासमा पछाडि परेको कर्णाली प्रदेश विकासको पर्खाइमा कुरिरहेको छ । कर्णाली प्रदेश सम्भावनाको उर्वर स्थल हो । कर्णाली प्रदेशको समृद्धिका आधारहरू के हुन सक्छन् ? सम्भावना के छ ? स्रोतसाधनको परिचालन कसरी गर्ने ? भौगोलिक बनावटको हिसाबमा अति विकट भए पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण अमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तु कर्णाली प्रदेश नेपालकै गहना मानिन्छ ।
कर्णाली प्रदेश समस्याको खाल्डो मात्र होइन, सम्भावनाको सरोवर हो । वन्यजन्तुको आरक्षण केन्द्र हो । कृषि विविधीकरणको सम्भावित क्षेत्र हो । वनस्पतिको भण्डार हो । साहसिक पर्यटनको उच्च सम्भावना भएको क्षेत्र हो ।
नेपालकै सबैभन्दा ठुलो ताल रारा, गहिरो ताल फोक्सुन्डो र विश्वप्रसिद्ध बुलबुले ताल कार्के बिहार, देउती बज्यै, श्रीस्थान, नाबिस्थान, ज्वालामुखी जस्ता प्रयटकिय स्थानहरू कर्णाली प्रदेशमा पर्दछन । नेपालकै सबभन्दा लामो नदी कर्णाली र ठुलो झरना पाञ्चाल झरना पनि कर्णाली प्रदेशमा नै पर्दछन् । यहाँ नेपालकै दुर्लभ मानिने कस्तुरी मृग, रातो पाण्डा, डाँफे आदि पशुपंक्षी पाइनुको साथै यार्सागुम्बा, शिलाजित जस्ता थुप्रै औषधिजन्य जडीबुडीहरू पनि यसै प्रदेशमा प्रशस्तै पाइन्छन् । राष्ट्र भाषाको उद्गम स्थल जुम्लाको सिञ्जा उपत्यका पनि यही प्रदेशमा पर्दछ । विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सी धान कर्णाली प्रदेशको जुम्लामा फल्दछ । त्यस्तै जुम्लामा फल्ने ओखर, स्याउ र स्याउबाट बनेका विभिन्न ब्रान्डहरू विश्व बजारमा प्रख्यात छन् । नेपालको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक रूपले पछाडि पारिएको तर प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक दृष्टिकोणले अति नै धनी कर्णालीको आफ्नै पीडा र वेदनाहरू छन् । कर्णालीमा स्रोत छ, साधन र पहिचान छैन । स्वर्गकी अप्सरा रारा त्यस्तै फोक्सुण्डो ताल छ, त्यसको विकास भएको छैन । सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिँदै छ कर्णाली आज । विकासको अधिकतम सम्भावना र चुनौती बोकेको मूर्त कर्णाली बेदनाको भूमरीमा फसेर अबोध पीडाका साथ छट्पटाइरहेको छ । कर्णालीले आफ्नो विकास खोजिरहेको छ ।

कर्णाली प्रदेशले खोजेको विकास
– कर्णालीलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी आम्दानीको नियमित स्रोत पहिचान गरिनुपर्ने,
– आवश्यकता र बालबालिकाहरूको पहुँचको आधारमा विद्यालयहरू निर्माण गरिनुपर्ने,
– पाठ्यपुस्तकको तत्काल व्यवस्था गरी सहज गर्ने,
– अभिभावकहरूमा छोराछोरीहरूलाई पढाउनुपर्छ भन्ने मानसिकतामा बढवा दिने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने,
– शिक्षालाई प्राविधिकतर्फ जोड गर्ने खालको नीति अवलम्बन गर्ने, प्राविधिक शिक्षालयमा जोड गर्ने,
– पढेकाहरूमा पनि उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने मानसिकताको कमी भएको हुँदा उनीहरूको लागि सशक्तीकरण गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने,
– सरसफाइसम्बन्धी जनचेतनाको फैलाउने, प्राकृतिक र आयुर्वेदिक उपचारमा जोड दिने,
– अस्पताल, दक्ष जनशक्ति, औषधि र उपकरणको तत्काल व्यवस्था गर्ने,
– सडक निर्माण तथा भएका सडकहरूको स्तरोन्नती/सुधार गर्नुपर्ने,
– कर्णालीमा सञ्चारको माध्यमको गुणस्तरमा सुधार ल्याउनुपर्ने,
– पर्यटन व्यवसाय विकासको लागि तत्काल पूर्वाधारको तयार गर्नुपर्ने,
– पर्यटन व्यवसायसम्बन्धी पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान गरी प्रचार प्रसार गर्ने,
– ट्रेकिङ रूटसम्बन्धी जानकारीमूलक कार्यक्रम प्रचारप्रसारमा ल्याउने, धार्मिक तथा प्राकृतिक स्रोत साधनको (मठमन्दिर, गुम्बा, ताल, नदी, कुण्ड, तातोपानी, झरना, खोला चौर, खानीहरू) उपभोग र संरक्षण गरिनुपर्ने,
– जैविक विविधताको खोज तथा अनुसन्धानमा र जडीबुटी संरक्षण, सङ्कलन, प्रशोधन र बजारीकरण व्यवस्था गर्नुपर्ने,
– कर्णालीको माटो बुझेकाहरूबाट नीति निर्माण हुनुपर्ने र परम्परागत संरचनामा सुधार गर्ने,
– नीति निर्माणमा कर्णाली प्रदेशबासीको पहुँच हुनु र स्थानीय आवश्यकताको धरातलमा नीति बन्नुपर्ने,
– प्राकृतिक विविधतालाई उच्चतम ख्याल गरी नीति निर्माण गरिनुपर्ने, भौगोलिक विकटतालाई समस्या ठानी नीति बन्न नहुने,
– सिँचाइ, प्राविधिक जनशक्तिको सुनिश्चित गर्नुपर्ने, अर्गानिक खेतीलाई प्रवर्धन गर्नका निम्ति रासायनिक मलको प्रयोग निरुत्साहित गरिनुपर्ने,
– जलस्रोतको धनी भए तापनि विद्युत् उत्पादन र खानेपानीको उचित व्यवस्थापनमा जोड दिनुपर्ने ।
अन्तमा,
पोखरादेखि रारा तालसम्मको सात दिनको अवलोकन भ्रमण निकै उपलब्धिमूलक बन्यो । पोखराबाट स्याङ्जा, पाल्पा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगु जिल्लामा अवस्थित रारा तालसम्मको यात्रामा चिल्ड्रेन–नेपालको कार्यसमिति, पदाधिकारी र कर्मचारीहरूको टिमसँगको भ्रमणको क्रममा देखिएका कालीकोटको भूगोलले ओगटेका विशाल पहाडहरू, चट्टानैचट्टानका ठाडा भिरहरू र सिसाकलमले कोरिएका बाङ्गाटिङ्गा रेखा जस्तै देखिने कर्णाली राजमार्ग, जहाँ दोहोरो गाडीहरू जम्काभेट हुँदा चालकहरूले ठुलै कसरत गर्नुपर्ने बाध्यतामा गुज्रिरहेको कालीकोट नेपालको भौगोलिक विकटताको एउटा उदाहरण रहेछ । एक बित्ता मात्र पनि माटो भएको ठाउँमा सदुपयोग गरेर अन्न रोपेको देखिने ती भिराला पाटाहरूले जनजीवनको चरम कठिनाइलाई पनि सङ्केत गरेका छन् । अर्कातर्फ प्रकृतिको काखमा बसेको सुन्दर नगर, सुर्खेत तथा चुरे र महाभारत पर्वतले घेरिएको दाङ उपत्यका भौगोलिक रूपमा जनजीवनमैत्री लागे पनि सोचे जस्तो व्यवस्थित बन्न सकेका छैनन् । स्थानीय सरकार र जनप्रतिनिधिहरूले जनताको जीवन स्तर उकास्ने सन्दर्भमा ध्यान दिनु जरूरी देखिन्छ ।

उता नेपालको सबैभन्दा ठुलो रारा तालको अनुपम सुन्दरतालाई पनि त्यतिकै रूपमा बेवास्ता गरिएको जस्तो लाग्यो । सहज मोटरबाटो, आवश्यक प्रचारप्रसार र थप पर्यटकीय आकर्षणका संरचनाहरू विकास गर्न सके रारा ताल तथा रारा राष्ट्रिय निकुञ्जको मुहारसँगै स्थानीय बासिन्दाको जीवनस्तर पनि उठ्ने थियो । आशा गरौँ, सम्बन्धित निकायको ध्यान अवश्य जाने नै छ । धेरै महत्त्वपूर्ण सिकाइ अनुभव रह्यो, एक पटक सबैले कर्णाली प्रदेश अवलोकन गरौं । स्वर्ग आफ्नै ठाउँमा छ । भ्रमणका क्रममा स्थानीयको सहयोग अविस्मरणीय रह्यो । उहाँहरूप्रति उच्च सम्मान छ । कर्णाली प्रदेश समस्याको खाल्डो मात्र होइन, सम्भावनाको सरोवर हो । वन्यजन्तुको आरक्षण केन्द्र हो । कृषि विविधीकरणको सम्भावित क्षेत्र हो । वनस्पतिको भण्डार हो । साहसिक पर्यटनको उच्च सम्भावना भएको क्षेत्र हो । पूरातात्त्विक सम्पदाको सङ्ग्रहालय हो । जलस्रोतको मुहान हो । नेपाली लोकसंस्कृतिको साक्षात् प्रतिनिधि हो । सामाजिक तथा सांस्कृतिक रूपले अनुपम पूलबारी हो । खनिज सम्पदाको सम्भाव्य क्षेत्र हो । जलस्रोतको मुहान हो । नेपाली भाषाको आधारस्तम्भ पनि कर्णाली हो । कर्णालीको प्रचारप्रसार गरेर कर्णालीको विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ । कर्णालीको विकासबिना सम्भव छैन सुखी नेपाली समृद्ध नेपाल ।
जय कर्णाली प्रदेश !

प्रकाशित मिति २०७९ चैत्र १७, शुक्रबार १९:३० गते