
सुन्दरबजार(लमजुङ)– यहाँ स्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालले सुत्केरी सेवा शुरु गरेको छ । अस्पतालमा पहिलो पटक चैत १७ गते उक्त सेवा शुरु गरेको हो ।
अस्पतालमा सुन्दरबजार नगरपालिका– १० निवासी २६ वर्षिया शर्मीला तिवारीलाई सुरक्षीत सुत्केरी सेवा प्रदान गरेको हो । तिवारीले तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिनुभएको छ । अस्पतालका स्त्री रोग विशेषज्ञ डा. विजय शाहले बताउनु भयो । उहाँको नेतृत्वमा तालिमप्राप्त अनुभवी स्वास्थ्यकर्मी राममाया ठकुरी र कमला गुरुङको टोलीले सेवा दिनु भएको हो ।
अबदेखि सुन्दरबजार क्षेत्रका गर्भवति महिलाले नमुना सामुदयिक अस्पतालबाटै सुरक्षीत मातृत्व सेवा लिन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसअघि अस्पतालबाट एम्वुलेन्स डेलीभरी सेवा दिँदै आएको थियो । प्रमुख श्रेष्ठले भन्नुभयो, ‘अस्पतालले सेवा विस्तारै गर्ने क्रम जारी नै छ ।’ उहाँका अनुसार अहिले नर्मल डेलीभरी सेवा सुरु गरिएको हो । अबको एकसाता पछि शल्यक्रिया सहितको सेवा प्रदान गर्ने तयारी गरिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुन्दरजार क्षेत्रका नागरिकलाई मध्यनजर गर्दै अस्पतालबाट बहिरंग सेवा, २४ सै घण्टा आकस्मिक सेवा, अन्तर· सेवा, स्त्रीरोग सम्वन्धि विशेषज्ञ सेवा, जनरल सर्जरी सेवा, मुटुरोग सम्वन्धि सेवा, नाक, कान, घाँटी सम्वन्धी सेवा, मृगौला रोग सम्वन्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।
नमुना सामुदायिक अस्पताल सञ्चालनको जिम्मा लिएको संस्था एचडिसिएससँग यसअघि जिल्ला अस्पताल लमजुङ २२ वर्ष सञ्चालन गरेको अनुभव छ । सो अस्पतालमा सेवा सञ्चालनका लागि गरिएको सहमति पत्रमा जिल्ला अस्पतालमा दिइने सबै प्रकारका सेवाभन्दा कम नहुने गरी सो अस्पताल सञ्चालन गर्ने उल्लेख गरी पत्रकार सम्मेलनमा प्रतिवद्धता व्यक्त गरिएको थियो ।
अस्पतालका प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हामीले आफ्ना प्रतिवद्धता भुलेका छैनौं, सबै व्यवस्थापन मिलाउनका लागि केही समय लिएको मात्र हो ।’ उहाँका अनुसार हाल अस्पतालमा दैनिक ५० देखि ६० जना विरामी आउने गरेका छन् । उहाँले भन्नुभयो, ‘विरामीको चाप र आवश्यकता अनुसार सेवा थप गर्दै लैजाने योजना रहेको छ ।’
प्रकाशित मिति २०७९ चैत्र १८, शनिबार ०७:३५ गते