
काठमाडौं– नेपालमा एकैपटक १० जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै त्यस्तो खुलासा भएको हो ।
कुल एक हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित भेटिएका हुन् । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् ।
हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् । सोही अवधिमा कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार कोभिड– १९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सो अनुसार ओमिक्रोन विए १.१ दुइटा, ओमिक्रोन विए दुइटा, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुइटा भेरियन्ट फेला परेका हुन् ।
त्यस्तै ओमिक्रोन विए ५.२ दुइटा, ओमिक्रोन एक्सविवी १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवी २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् ।
यसैबीच, मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिएकाले नेपालमा पनि संक्रमण बढिरहेको जानकारी दिनु भएको छ । उहाँले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गर्नु भएको छ । साथै, संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निर्वाह गर्न समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट पुष्टि ः
यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताउनु भएको छ । डा. अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा ‘कोभिड– १९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ,’ उल्लेख छ ।
नेपालमा अहिले मौसमी रुघाखोकीका साथै कोभिड– १९ को संक्रमण पनि वृद्धि हुँदै गएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ ।
प्रकाशित मिति २०७९ चैत्र २१, मंगलवार ०७:१३ गते