लमजुङ– लमजुङको सदरमुकाम बेसीशहर जाने एकमात्र डुम्रे– बेसीशहर– चामे सडकको उदीपुर खण्डमा चल्ने गरेको सुख्खा पहिरोका कारण यात्रुहरूले सास्ती खेपिरहेका छन् । हिउँदको यो याममा पनि सास्ती खेपिरहेका उनीहरूले वर्षायाम नजिकिदै गर्दा वर्षातको मौसमका बेलामा के होला ? चिन्ता व्यक्त गर्न थालेका छन् ।
यो सडक लमजुङको सदरमुकाम बेसीशहर मात्र नभई हिमाल पारीको जिल्ला मनाङमा जाने समेत एकमात्र सडक भएको हुँदा सो पहिरोका कारण लमजुङबासीले मात्र नभई मनाङ बासीहरूले समेत सास्ती खेपिरहेको अवस्था छ ।
यो वर्षको वर्षा याम नजिकिदै गर्दा त्यो पहिरोले लमजुङ र मनाङबासीलाई थप झस्काउने गरिरहेको छ । डुम्रे– बेसीशहर सडकको बेसीशहर नगरपालिका– १ को उदीपुर स्थित देउरालीडाँडा खण्डमा पछिल्ला दुई वर्षदेखि चल्न थालेको पहिरोले यात्रुहरूलाई सास्ती दिने गरेको हो । सो स्थानमा २०७८ को असार ६ गते पहिलो पटक पहिरो चलेर सडक अवरुद्ध भएको थियो । त्यस समयमा जिल्ला प्रशासन कार्यालयको पहलमा पहिरोभन्दा माथिको बनेलीमा डाइभर्सन निर्माण गरी करिब आठ घण्टा नबित्दै यातायात सुचारु गरिएको थियो । यतायात चालु भएपछि त्यस पहिरोको क्षति प्रतिको चासो अर्थात सडकको पुनःनिर्माणको कार्य सुस्तायो ।
२०७९ को असारमा फेरि त्यही ठाउँमा पहिरो थपियो । त्यो पहिलो यसरी गयो कि ! त्यसले अघिल्लो वर्ष निर्माण गरिएको डाइभर्सन समेत बगाएन त्यो भन्दा माथिको जंगलको भागसमेत बगाउँदै टोपी खस्ने भिरमा परिणत गरिदियो । मानिसहरू घत्केलामा प्राण राखेको उक्त सडकमा आउँ– जाउ गर्न थाले । पहिरोका कारण सडक निर्माण गर्न नै नमिल्ने जस्तो स्थिति उत्पन्न हुन भयो । अबरुद्ध यतायात सुचारु गर्नका लागि मस्र्याङदी नदी किनारमा रहेको नेपाली सेना, चण्डीप्रसाद गणको व्यारेकमार्फत चल्ने सडकको उपयोग गरियो । सो सडक पनि केही समय पछि नेपाली सेनाले सुरक्षा संवेदनाका कारण सधैं प्रयोगका लागि दिन नसक्ने बतायो । त्यसपछि उक्त सडक पुनःनिर्माणका लागि केही चासो बढ्न गएको हो । तर परिणाम भने अझै आउन सकेको छैन । 
उक्त सुख्खा पहिरोका कारण लमजुङ जिल्लाबासीका अतिरिक्त मनाङबासी, यी जिल्लामा आउने– जाने जिल्लाबासीहरू तथा कर्मचारीहरू, पर्यटक आदि सबैले सास्ती खेपिरहेका छन् । लमजुङमा चार नगरपालिका र चार गाउँपालिका रहेका छन् । तीमध्ये सो सडक भएर तीन नगरपालिका र दुई गाउँपालिकाका बासिन्दाहरू सदरमुकाममा जानु पर्ने हुन्छ । सदरमुकाम र सो माथिका पालिकाहरूका बासिन्दाहरूले पनि पोखरा, चितवन, काठमाडौं जानु पर्दा प्रयोग गर्ने सडक त्यही हो । जिल्ला सदरमुकाम बेसीशहर जानका लागि सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका साथै दूधपोखरी र दोर्दी गाउँपालिकाका बासिन्दाहरूले सो सडक प्रयोग गनुर्् पर्दछ । त्यसबाहेक बेसीशहर नगरपालिका १ को उदीपुर र वडानं ११ चितिका बासिन्दा पनि सोही सडक भएर जिल्ला सदरमुकाममा जाने गर्दछन् । जिल्लाबासी बाहेक लमजुङ जिल्लामा काम परेर जानेहरू तथा ग्रामीण पर्यटनको हव बनिरहेको यस जिल्लामा आउने पर्यटकहरूले समेत उक्त पहिरोका कारण उत्तिकै सास्ती खेप्ने गरेका छन् । लमजुङको ग्रामीण पर्यटनका लागि ख्याति प्राप्त स्मार्ट भिलेज घलेगाउँ, काउलेपानी, रकगार्डेन(खानीगाउँ), सिउरुङ, नरुवाल, खासुर आदि होमस्टे गाउँमा उक्त सडकको सोही खण्ड पार गरेर जानु पर्ने हुन्छ । 
उदीपुरको देउराली डाँडामा सामान्य हावा चल्दा, बाँदर हिड्दा, स–सानो पानी पर्दा पनि पहिरो जाने गरेको जिल्लाबासीहरूको भनाई छ । सुख्खा पहिरोले सकड अवरुद्ध हुँदा सुन्दरबजार नगरपालिका– १ को उदीपुरमा घर भएकी लेखापढी व्यवसाय गर्नु हुने शर्मिला अधिकारीले त्यो पहिरोले गर्दा आफूले बेसीशहरमा डेरा लिनु परेको, सडक बन्द भएको दिन, पानी परेको दिनमा डेरामा बस्ने र सडक खुलेको दिनमा घरमा जाने गरेको बताउनु भयो ।
अपङ्ग अधिकारकर्मी अपाङ्ग संरक्षण समाजका संस्थापक अध्यक्ष बेसीशहर नगरपालिका– ८ निवासी चन्द्रकान्त पौडेलले उदीपुर पहिरोले धेरै चिन्ता बढाउने गरेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘विभिन्न कामले हरेक महिनामा पोखरा, काठमाडौं, चितवन गइरहनु पर्छ तर सडक सम्झदा यात्रा गर्ने अघिल्लो दिनकै रातदेखि निद्रा लाग्न छाड्छ ।’ उहाँका अनुसार नजाँदै कसरी जाने ? भन्ने र गइसकेपछि सकुशल के कसरी फर्कने ? भन्ने चिन्ता भइरहन्छ । यसैगरी, बेसीशहर नगरपालिका– ११ को चितिमा घर भएकी पत्रकार सविना प्रजा पनि प्रायः घरबाटै सदरमुकाम आउने जाने गर्छिन् । तर उदीपुरको पहिरो सम्झदा भने घर जान र घरमा गएपछि बेसीशहर आउन नपरे हुन्थ्यो भन्ने लाग्छ भन्नुहुन्छ ।
यसैगरी, सुन्दरबजार क्षेत्रमा रहेका दुई क्याम्पस मातृमूमि बहुमुखी तथा भक्ति आदर्श क्याम्पसका विद्यार्थीहरूलाई बेसीशहरमा परीक्षा केन्द्र भएका कारणले परीक्षा दिन जाँदा आउँदा समेत सो सडकको पहिरोका कारणले गर्दा निकै असहज भएको मातृमूमि बहुमुखी क्याम्पसका प्रमुख रामलाल श्रेष्ठले बताउनु भएको छ । उदीपुरकै पहिरोका कारणले गर्दा ेबसीशहरमा रहेको परीक्षा केन्द्रमा समयमा पुग्न र फर्कन पनि पाइने हो होइन ? भन्ने चिन्ताले सताउने गरेको उक्त क्याम्सका विद्यार्थीहरू उमाकान्त न्यौपाने, निकिता महतो, विशाल थापा तथा प्रतीभा कार्कीले बताएका छन् । उनीहरूले यस्तो परीक्षा केन्द्रको विकल्प सरकारले सोच्नु पर्नेमा समेत जोड दिएका छन् ।
उक्त सडकका बारेको पछिल्लो अवस्था बारेमा बुझ्नका लागि डुम्रे– बेसीशहर– चामे सडक आयोजनामा सम्पर्क गर्दा त्यस कार्यालयका प्रमुख रविन्द्र दासले आफू भरखरै कार्यालयमा आएको हप्ता दिन पनि भएको छैन, बुझ्दै छु यसबारेमा जानकारी दिन कार्यालयका इञ्जिनियर पुरुषोत्तम अधिकारीसँग सम्पर्क गर्न भन्नुभयो । 
इञ्जिनियर अधिकारीसँग सम्पर्क गर्दा उक्त पहिरोले सो सडक खण्डको १६० मिटर लम्बाईको भाग बगाएको उहाँले बताउनु भयो । उहाँका अनुसार त्यो सडक(नेपाली सेनाको व्यारेक जाने)देखि तल्लो मस्र्याङदी नदी किनारसम्मको दुरी ९० मिटर रहेको छ । उहाँले भन्नुभयो, ‘त्यो भन्दा १० मिटर तल मस्र्याङ्दी नदी बगेको छ । सडकभन्दा करिब ५० मिटर माथिबाट पहिरो खसेको छ ।’ त्यहाँको चट्टान अलिक रफ टाइपको, ढुंगा– माटोले एक अर्कोलाई नसमात्ने खालको भएको कारणले पनि त्यहाँ सामान्य हावा चल्दा, बाँदर हिड्दा, सानो पानी पर्दा पनि पहिरो जाने गरेको इञ्जिनियर अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार पहिरो पन्छाउन सडक आयोजनाको यौटा डोजर स्टैण्डवाई राख्ने गरिएको छ, पछिल्ला दिनमा सोही पहिरोको खण्डको भित्तो खोपेर अवरुद्ध यातायात सुचारु गर्ने गरिएको छ । उहाँले भन्नुभयो, ‘ठूलो पहिरो जाँदा ४– ५ घण्टामा र स– सानो पैह्रो झरेको अवस्थामा आधा एक घण्टामा सडक खुलाउने गरिएको छ ।’
उक्त सडक आयोजनाका इञ्जिनियर अधिकारीले उक्त सडकको सो पहिरो स्थलमा सडक पुनः निर्माण गर्नका लागि यही चैत १० गतेमात्र १३ करोड, ६५ लाख १५ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । उहाँका अनससार त्यस सडकको पुनःनिर्माणको जिम्मा पोखराको फेवा कन्ट्रक्सनले लिएको छ । उहाँले भन्नुभयो, ‘ठेक्का सम्झौता अनुसार २२ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । सो कम्पनीले काम थालिसकेको छ ।’ उहाँका अनुसार सुरुमा त्यो कम्पनीले पनि आफ्नो तरिकाको सर्वे गरी डिपिआर तयार गर्छ । हाम्रोतर्फबाट गरिएको सर्वेमा कुनै डिफेक्ट छ कि भन्ने चेक गर्छ । त्रुटी नभेटिए काम सुरु गर्छ, भेटिएमा फेरि हाम्रो टिम बसेर थप छलफल गरी टुंगो लगाउनु पर्ने हुन्छ अधिकारीले जानकारी दिनुभयो । 
इञ्जिनियर अधिकारीका अनुसार सो सडकको पुनः निर्माण कार्य गर्दा मस्र्याङ्दी नदीबाट नै ग्याविन वाल उठाउने भएको छ । सुरुमा त्यस ठाउँको खस्ने जस्तो पहिरोको भागलाई खसाल्ने काम हुनेछ । त्यसपछि तल्लो सकडबाट पनि ग्याविन वाल उठाइने छ । त्यसरी उठाउने वाल ४५ मिटरको हुनेछ । त्यसमा सात सय स्क्वायर मिटरमा वायोइञ्जिनियरिङ्ग अनुसार स– साना बास लगायतको बनस्पति लगाइने सम्झौता भएको अधिकारीको भनाइ छ । उहाँले सडक माथिको भागको संरक्षणका लागि तत्काल चार मिटर उचाईमा ग्याविन वाल उठाउने र बाँकी भागमा वायोइञ्जिनियरिङ्ग गर्ने संरक्षणको काम गर्ने गरी ठेक्का सम्झौता भएको बताउनुभयो ।
यसरी ठेक्ककाको काम तोकिएकै समयमा सो सकडको पुनः निर्माणको कार्य सम्पन्न हुन २०८१ को माघसम्म कुर्नु पर्दछ । त्यो समय यताका वर्षको वर्षायाममा थप पहिरो जाने, ठेकेदारले ढिलासुस्ती गर्ने गरेको खण्डमा उक्त सडकको पुनःनिर्माण कार्य सम्पन्न हुन के कति समय लाग्ने हो यकिन भन्न सकिने अवस्था छैन । जसले लमजुङ र मनाङबासीको निद्रा समेत भङ्ग गरिरहेको छ ।
प्रकाशित मिति २०७९ चैत्र २१, मंगलवार ०९:२६ गते