विराटनगर– बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गर्ने विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ जिल्ला अदालतमा चैत २० गते मुद्दा दायर गरेको हो ।
उक्त सहकारीका अध्यक्ष लगायत विरुद्ध सहकारी ऐन विपरीत बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।
पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार प्रतिवादी मध्ये फरार सूचीमा सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा रहेका छन् ।
आज २२ गतेदेखि प्रतिवादीहरूको बयान सुरु हुनेछ । बयान सकिए सोहीदिन थुनछेक बहस हुनेछ । बहसपछि अदालतले आदेश गर्नेछ ।
पक्राउ परेका मध्ये लेखा परीक्षण गर्ने सीए शितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाउने निर्णय गरेको छ । चन्दले गरेको कामकारवाही विधिसंगत देखिएपछि चन्दको हकमा मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले बताउनु भयो ।
प्रहरीको अनुसन्धानबाट सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ ।
अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीमा विराटनगरका १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप जम्मा गरेका छन् । सहकारीका सञ्चालकहरूले ३ हजार ६३ जना सर्वसाधारणको निक्षेप एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसी सहकारीको चार वटा शाखा छन् ।
सो सहकारीको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा ठूलो रकम बचत गरेको त्यसका सेयर सदस्यहरूको भनाइ छ ।
हालसम्म मोरङका बचतकर्ताले मात्र उजुरी दिएका छन् । झापा, सिरहा र गाइघाट शाखा अन्तर्गतका बचतकर्ताको उजुरी आउन बाँकी रहेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीका अनुसार बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको देखिएको छ ।
प्रतिवादीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता काफ्लेले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०७९ चैत्र २२, बुधबार ०८:०२ गते