
काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति ७६ वर्षीय डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले चैत २२ गते जनाएको छ ।
आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । उनीमाथि ३४ आरोप लगाइएको छ । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
ट्रम्प फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्कमा चैत २० गते मात्र गएका थिए । त्यसको भोलिपल्ट अर्थात हिजो दिउँसो १ बजे न्यूयोर्कस्थित ट्रम्प टावरबाट निस्किएर उनी अदालत गएका थिए । उनी अदालतभित्र प्रवेश गरेपछि आत्मसमर्पण गरे । त्यसपछि उनीविरुद्ध लागेका मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढ्यो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यही प्रक्रियालाई ट्रम्प औपचारिक रुपमा गिरफ्तारमा परेको भनेर लेखेका छन् । पक्राउ परे पनि उनीमाथि हतकडी भने लगाइएको छैन ।
ट्रम्पले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको दावी गरेको बीबीसीले जनाएको छ । ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।
न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरूले विरोध ¥याली निकाल्ने कोसिस गरेका थिए । ट्रम्पका विरोधीहरू र समर्थकहरूको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरूलाई अलग गराएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।
अदालतमा आफ्ना वकिलहरूसँगै न्यायाधिश अगाडि बसेपछि उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो । त्यसपछि उनले आफूले कुनै अपराध नगरेको भनेर दलिल पेस भएका थिए ।
अदालतबाट निस्किएर उनी फ्लोरिडा गएका छन् । त्यहाँ आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै फेरि पनि उनले आफूले कुनै गल्ती नगरेको भन्दै घटनालाई राजनीतिकरण गरिएको जिकीर गरेका छन् ।
ट्रम्पलाई जेल पुर्याउन सक्ने चार मुद्दा :
यसैबीच, डोनाल्ड ट्रम्पलाई पोर्न स्टार स्टोर्मी डेनिल्सलाई मौन बस्नका लागि पैसा र दबाव दिएको अभियोग लागेको छ । राष्ट्रपतीय निर्वाचनमा असर पुग्ने भन्दै ट्रम्पले डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको अभियोग लागेको हो ।
यसबाहेक ट्रम्पले थप तीन मुद्दा पनि खेपेका थिए । उनको कम्पनी विरूद्ध जालसाजीको मुद्दा परेको थियो । त्यसमा न्युयोर्क शहरको महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन आकर्षित हुनेगरी अनुसन्धान गरेको थियो । त्यस्तै, म्यानहटनले सार्वजनिक मुद्दा सम्बन्धी कानुन आकर्षित हुनेगरी मुद्दा अघि बढाएको थियो । गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरिवाना तिर्नुपरेको थियो ।
यसअघि अमेरिकी संसदले ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको थियो ।
करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो ।
यस्तै, ट्रम्पका वित्तीय प्रमुख एलन विसल्वर्गलाई पाँच महिनाको जेल सजायँ तोकिएको थियो । म्यानहटनले ट्रम्पको परिवारलाई नै सार्वजनिक मुद्दा चलाएको छ । अवैध तरिकाले अर्बौं सम्पत्ति जम्मा गरेको अभियोगको फैसला आगामी अक्टोबरसम्म आउने अपेक्षा गरिएको छ ।
ट्रम्पमाथि न्याय तथा कानुन मन्त्रालयले ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब गराएको अभियोग लगाएको छ । उनले ती कागजात फ्लोरिडा पुर्याएको भन्दै उनको निवासमा छापा समेत मारिएको थियो । उनको निवासमा ११ हजार कागजात जफत गर्दा १०० कागजात वेपत्तामध्ये रहेको दाबी गरिएको छ ।
ट्रम्पले जासुसी सम्बन्धी कानुनको उल्लंघन पनि गरेको भन्दै फौजदारी अभियोग चलाइएको छ । मुद्दा अभियोजन गर्दा भनिएको छ, ‘ट्रम्पले जासुसी सम्बन्धी कानुनको उल्लंघन मात्रै गरेका छैनन् छानबिनमा असहयोग गरेर न्यायमा अवरोध गरेका छन् ।’
ट्रम्प गिरफ्तारमा पर्नसक्ने अर्को मुद्दा संसदमा भड्काएको दंगा हो । राष्ट्रपती निर्वाचनको परिणाम अस्वीकार गर्दै उनले समर्थकहरूलाई आक्रमणका लागि उक्साएको आरोप लागेको छ । यस घटनामा १८ महिनासम्म संसदीय छानबिन चलेको थियो ।
अहिले पनि ट्रम्पमाथि फौजदारी अभियोग लागेको हो । डेनियल्सलाई त्रासमा राखेर पैसा दिएको प्रमाणित भए उनी जेल जान सक्छन् ।
राष्ट्रपतिको निर्वाचनबाट ट्रम्प पराजित भएको र जो बाइडन निर्वाचित भएको औपचारिक घोषणाको विरोधमा सन् २०२१ को जनवरी ६ मा उनका समर्थकहरूको भिड संसद भवनभित्र प्रवेश गरी प्रदर्शन र तोडफोड गरेको थियो । सो घटनामा गोली लागेर एक जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त घटनाबारे छानबिन गर्न सातजना डेमोक्र्याटिक र दुई जना रिपब्लिकन सांसद रहेको समिति गठन गरिएको थियो । समितिले १८ महिनाको छानबिन पछि ट्रम्पलाई फौजदारी अभियोग लगाउन सिफारिससहितको छानविन प्रतिवेदनको सांराश सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
आफूविरूद्धको अभियोगलाई ट्रम्पले ‘राजनीतिक प्रेरित’ भन्ने दावी गरेका छन् । ‘ममाथि राजनीतिक प्रतिशोधका साथ मुद्दा चलाइएको छ । मेरो लोकप्रियताप्रति सबैलाई त्रास छ,’ उनको भनाइ छ । आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने उनको योजना छ । फौजदारी अभियोग पुष्टि भए ट्रम्पको अभिष्टमा ब्रेक लाग्नेछ ।
ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रकाशित मिति २०७९ चैत्र २२, बुधबार ०८:३६ गते