
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण पुष्टि हुन थालेको चैत २३ गते खुलासा भएको छ । आज एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको मन्त्रालयको भनाइ छ । आजका दिनसम्ममा अस्पतालमा भर्ना भएका संक्रमितहरू १७ जनामध्ये ४ जना आइसीयु तथा एकजना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजका दिनसम्म स्वास्थ्यकर्मी संक्रमित नभएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बिमल चालिसेले बताउनु भएको छ । अस्पतालमा एकजना संक्रमित आईसीयूमा उपचाररत छन् । तर काठमाडौंका अन्य ठूला अस्पतालमा नै स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेको छ । स्वास्थ्यकर्मीहरूमा फाट्टफुट्ट कोरोना पोजेटिभ देखिइरहेको वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताउनु भयो । वीर अस्पताललाई कोभिड युनिफाइड अस्पतालको रुपमा तोकिएको छ । त्यस अस्पतालमा समेत सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरमा आजसम्म तीनजना संक्रमित उपचाररत रहेका छन् । उहाँले भन्नुभयो, ‘संक्रमण बढ्न थालेपछि अस्पताल आउने बिरामीलाई समेत एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ ।’ यसैगरी, मीनभवनस्थित सिभिल सर्भिस अस्पतालमा पछिल्लो दुई सातायता २० जनाभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकसहित विभिन्न विभागका कर्मचारी संक्रमित भएपछि ईसीजी, आईसीयूलगायतका सेवा प्रभावित भएका छन् । उहाँले भन्नुभयो, ‘संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको छ ।’ उहाँका अनुसार अस्पतालको आईसीयूमा भर्ना भएका तीनजना बिरामीमा पनि कोरोना संक्रमण देखिएपछि केही दिनअघि मात्रै वीर अस्पताल रिफर गरिएको छ । उता, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि तीनजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सिकिस्त नभए पनि होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरेको अस्पतालका सूचना अधिकारी बैकुण्ठ अधिकारीले बताउनु भयो । उहाँका अनुसार यस अस्पतालमा दुईजना संक्रमित भर्ना भएर उपचाररत छन् । स्वास्थ्य मन्त्रालयले संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्न, मास्क लगाउन र हातको सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । मन्त्रालयले संक्रमण भइहाले पनि सिकिस्त हुनबाट बच्न कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ । यसैबीच, नेपालगञ्ज नाकामा आज भारतबाट आएका चार जनामा देखियो कोरोना पुष्टि भएको छ । भारतको गढवाल, चेन्नाई, लखनऊ र हिमाञ्चलबाट आएका चार जनालाई कोरोना पुष्टि भएको हो । आज सय जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनु् भयो ।
प्रकाशित मिति २०७९ चैत्र २३, बिहीबार २१:०४ गते