
काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा आज चैत २९ गते थप एक जनाको मृत्यु भएको छ भने थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोभिड– १९ संक्रमणका कारण हिजो २८ गते पनि एकजनाको निधन भएको थियो । गत असोज ८ गतेपछि पहिलो पटक कोरानाभाइरस (कोभिड– १९) सङ्क्रमणका कारण हिजो ज्यान गएको हो । हिजोका कोरोना सङ्क्रमित ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो । उहाँका अनुसार सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । उहाँले भन्नुभयो, ‘उनको काठमाडौँमा उपचार भइरहेको थियो ।’
हाल देशभर कोरोनाका सक्रिय संक्रमित संख्या ४४५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभर ६२० पीसीआर तथा १७५७ एन्टिजेन परीक्षण भएको थियो ।
यही अवधिमा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड– १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५ जना आइसोलेसन, ११ जना आइसियु र तीनजना भेन्टिलेटरमा उपचारत रहेका छन् । कोरोना संक्रमणको दर बढ्दै गर्दा मन्त्रालयले खोप लगाउन आग्रह गरिरहेको छ । तर कोरोनाको बुष्टर डोज लगाउने संख्या भने नगन्य मात्र रहेको बताइन्छ ।
प्रकाशित मिति २०७९ चैत्र २९, बुधबार १८:५४ गते