भरतपुर(चितवन)– लोपोन्मुख ठाडोभाकाले नयाँ उचाई पाउँदै गएको छ । चितवनको भरतपुरमा यो गीतको छायांकनल बैशाख ३ गते साँझ गरिएसँगै त्यस्तो आभास भएको उक्त कार्यक्रमका वक्ता तथा सहभागीहरूले बताएका छन् ।भरतपुर महानगरपालिका– ९ को वडा सदस्य समेत रहनु भएकी ठाडोभाका लोककला प्रतिष्ठान नेपालकी कार्यकारी सदस्य कोपिला दुराले आफ्ना स्व हजुरबुबा हजुर भन्ने हस्तबहादुर दुरा, बुबा स्व. रमनबहादुर दुरा र आफ्ना पति स्व. होमबहादुर दुराको स्मृतिमा ठाडोभाकाको छायांकन कार्यक्रमको संयोजन गर्नु भएको हो ।
भरतपुर महानगरपालिका– ९ का वडाध्यक्ष यमलाल कडेँल प्रमुख आतिथ्यतामा सो छायांकन कार्य गरिएको हो । प्रमुख अतिथि कँडेल, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, सोही प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरी गुरुङ, दुरा सेवा समाजका संस्थापक अध्यक्ष भक्तबहादुर दुराले पाँच(१÷१) वटा मैनबत्ती बालेर संयुक्त रुपमा छायांकन कार्यको उदघाटन गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका कार्यकारी सदस्य कोपिला दुराले मामा– भाञ्जीको साइनो लगाउँदै लोकसंस्कृतिको संरक्षणका लागि समाजका अगुवा तथा जनप्रतिनिधिको दायित्व, नेपाली संस्कृतिमा पश्चिमा प्रभावप्रति सचेत हुनुपर्ने, समाजलाई अनुशासित बनाउनमा लोक संस्कृतिको भूमिका, विद्यमानमा महंगी बढेर मामा– भाञ्जीको भेटघाटमा समेत सिर्जिएको समस्या लगायतका समसामयिक विषय वस्तुका समेटिएको ठाडोभाकाको उत्कृष्ठ प्रस्तुति एवम् छायांकन कार्य गरिएको हो ।
उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि कँडेलले कलाकारहरूको मन छुने प्रस्तुतिबाट आफू अन्तन्तै प्रभावित भएको बताउँदै कार्यक्रम अति नै शिष्ट र प्रभावकारी रहेको उल्लेख गर्नु भयो । उहाँले गीतमा व्यक्त धार्मिक भावना, समाजका विकृति प्रतिको व्यङ्ग्य, महंगीको पेलाई, समाजका कीर्ति राख्नु पर्छ भन्ने सन्देश लगायतका विषय वस्तु समसापेक्ष भएको बताउनुभयो ।
दुरा सेवा समाजका संस्थापक अध्यक्ष भक्तबहादुर दुराले यो कार्यक्रमको जति गुणगान गरेपछि थोरै हुने बताउँदै आफ्नो जातीय लोकसंस्कृति एवम्, भाषा भेषभुषा बचाउनका लागि सबैले सचेत भएर लाग्नु पर्ने बेला आएको छ । छायांकनका क्रममा प्रस्तुत गीतको भावमा समेत यी विषय समेटिएको हुँदा सुनमा सुगन्ध भएको आफूले अनुभूति गरेको उहाँले बताउनु भयो । उहाँले हाम्रो जातीय पहिचानसँग समेत जोडिएको यो गीतको संरक्षणका लागि सबै विशेषतः दुरा जातिले योगदान गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले कलाकार स्रोतागणको माया र आशीर्वादमा बाचेको हुन्छ । आजका दिनमा मैले जे गर्न सकेको छु त्यो सबै यहाँहरूबाट प्राप्त माया ममतबाट नै सम्भव भएको हो उहाँले भन्नुभयो । लोकसंस्कृति अर्थात गीत भनेको मनको व्यथा विसाउने चौतारी समेत भएको स्मरण गर्दै कार्यक्रम सफल बताउन सहयोग गर्नु हुने सबैप्रति कृतज्ञता व्यक्त गर्नु भयो ।
त्यस्तै, सोही प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि र वर्तमानमा गरिरहेका कार्यका बारेमा जानकारी दिनु भएको थियो । उहाँले प्रतिष्ठानले आयोजना गर्ने गरेका प्रशिक्षण, प्रतियोगिता, प्रस्तुति एवम् यस्ता छायांकनका कार्यक्रमहरूले गर्दा नै आज अब ठाडोभाका लोप हुँदैन भन्ने स्थिति बन्न सकेको छ, यो यहाँहरू सबै सुभेच्छुकहरूको सहयोग, माया ममताबाट सम्भव भएको हो, आफू त मात्र निमित्त बनेर प्रतिष्ठान हाकिरहेको उल्लेख गर्नु भयो । उहाँले अग्रजहरू विशेषत ७० वर्ष उमेर पुग्नुभएका गायक गायिकाहरूलाई सम्मान, अनुजहरूलाई प्रशिक्षण दिएर प्रोत्साहन गरिरहेको जानकारी दिनु भयो । उहाँले भोलिका दिनमा झनै परिस्कृत कार्यहरू गर्दै जाने सोच रहेको अध्यक्ष पहाडीले बताउनु भयो ।
त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङले कार्यक्रमको संयोजनकर्ता कोपिलालाई विशेष बधाई दिदै कार्यक्रम उत्कृष्ठ रहेको बताउनु भयो । उहाँले आफू पनि नवलपुर(गैंडाकोट)मा बस्ने भएको हुँदा सदरपुर नजिकै रहेकोले यस्ता कार्यका लागि सहकार्यका लागि भोलिका दिनमा तयार रहेको बताउनु भयो ।
दुरा सेवा समाज भरतपुरका अध्यक्ष सुवेदार विष्णुप्रसाद दुराको अध्यक्षतामा भएको उक्त कार्यक्रम केक कोटर थालनी गरिएको थियो । उक्त कार्यक्रमको संयोजनकर्ता कोपिला दुराले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले उक्त अवसरमा ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, ठाडोभाका गायिका एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरा र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई सम्मान गरिएको थियो । सो छायांकन कार्यक्रमको सञ्चालन दुरा सेवा समाजको भरतपुर कमिटिका सचिव पवित्रा दुराले गर्नु भएको थियो ।
सो अवसरमा उक्त अवसरमा ठाडोभाका नाचका लागि बुद्धिमान दुरा धम्पुलाई लगाएको फूलको रकम तीन हजार छ सय २० रुपैयाँ, सोही महानगरपालिका– ८ र ९ मा रहेको वनदेवी बरण्डाघर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले पाँच हजार रुपैयाँ र उक्त कार्यक्रमको संयोजनकर्ता कोपिला दुराले सात हजार रुपैयाँ प्रतिष्ठानको अक्षयकोषका लागि अध्यक्ष पहाडी र उपाध्यक्ष सीता दुरालाई हस्तान्तरण गर्नु भएको थियो ।
सो रकम प्राप्त भएपछि प्रतिष्ठानको अक्षयकोषको कुल रकम १० लाख ७२ हजार २२० रुपैयाँ पुगेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनु भएको थियो ।
उक्त कार्यक्रमको सुरुमा स्मृतिमा कार्यक्रम आयोजना गरिएका द्विव्य त्रय पुरुषका अतिरिक्त ठाडोभाकाका सर्जकहरू देउबहादुर दरा, पञ्चपुब्बा गुरुङ, भेडीखर्के साइला लगायत ठाडोभाकाका ज्ञात अज्ञात स्रष्टाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
प्रकाशित मिति २०८० बैशाख ५, मंगलवार १९:४७ गते