मालिङ(लमजुङ)– लमजुङको क्ब्होलासोंथर गाउँपालिका– २ को मालिङमा ठाडोभाकाको निःशुल्क तीन दिने प्रशिक्षण सम्पन्न भएको छ । बैशाख ७ गतेबाट सुरु भएको उक्त प्रशिक्षण सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङको प्रमुख आतिथ्यतामा समापन ९ गते गरिएको हो ।
प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरणका साथमा अग्रज गायिका तथा स्थानीय व्यवस्थापनमा सहयोग गर्नु हुने आमाहरूलाई सम्मन गर्नु हुँदै प्रमुख अतिथि गुरुङले आफ्नो आमाले पनि ठाडोभाका गाउने गर्नु हुने गरेको पछिल्ला दिनमा आएर बुझेको बताउनु भयो । 
उहाँले म स्याङ्जाको मान्छे, त्यहाँको लवज र यताको केही फरक हुँदो रहेछ भन्नुभयो । उहाँले यस्ता कार्यक्रमको सार्थकताका लागि गाउँपालिकाले के गर्न सक्छ ? भन्नेमा आफूहरू पनि चिन्तन मननमै रहेको र ऐले आउँदो वर्षका लागि बजेट निर्माणको बेला पनि आएको हुँदा पालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरूसँग सल्लाह गरेर आउँदो वर्षका लागि केही न केही बजेटको प्रवन्ध पालिकाबाट गरिने छ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रशिक्षणका सहभागी बैनीहरूले नाच भने राम्रोसँग सिकेको देख्न पाउँदा खुशी लागेको उल्लेख गर्दै ठाडोभाका लोककला प्रतिष्ठानले लिएको अभियान सार्थक होस् भन्ने कामना गर्नु भयो ।
सो अवसरमा ठाडोभाकाकी पुरानो गायिका ८६ वर्षीया लक्षिन्द्र विकलाई सम्मान थरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, प्रतिष्ठानका संरक्षक धम्पु र अध्यक्ष पहाडीले संयुक्त रुपमा उहाँलाई सम्मान गर्नु भएको हो ।

‘लोक संस्कृतिको उत्थान– हाम्रो अभियान’ नाराका साथ ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजना, क्ब्होलासोथर गाउँपालिकाको प्रवर्द्धन तथा स्थानीय चार आमा समूहहरू शीर्जनशील, गौमती, म्रोचें र स्वास्थ्यको साथमा ठोंडा आमा समूहको व्यवस्थापन सहयोगमा उक्त प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले समापन मन्तव्यका क्रममा ‘ठाडोभाका दुःख बिसाउने चौतारी’ हो तथापि कहिलेकाही हसाउने काम पनि यो गीतमा हुन्छ भन्नु भयो । उहाँले प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको परिकल्पनाले आज जिल्लाको दुरदराजमा पनि ठाडोभाकाको कार्यक्रम लग्न सकेका छौं, यसमा निकै खुशी लाग्ने गरेको छ र भोलिका दिनमा थप गति लिने छ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
यसैगरी, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले विगतका दिनमा जिल्लामा खोप सुनिश्चितता, पूर्ण साक्षरता, खुल्ला दिसा मुक्त जस्ता अभियान सञ्चालन भएको र त्यसमा राज्यको ढुकुटी कति खर्च भएको थियो ? हामी सबै प्रायः जानकार छौं यो कार्यक्रम पनि लोकसंस्कृति बचाउने यौटा अभियान नै हो, जुन हाम्रो नाराले समेत बोलिरहेको छ तर यो अभियानमा भने राज्य कता तिर छ ? भनेर खोज्नु पर्ने स्थिति रहेको औंल्याउनु भयो । उहाँले यस अघिका कार्यक्रममाझैं ‘भौतिक निर्माणमात्र विकास हो भन्ने मानसिकतामा परिवर्तन आउन जरुरी छ र हाम्रा पहिचान बोकेको यस्ता मौलिक संस्कार संस्कृतिको संरक्षणमा तीनै तहकार सरकारको नीतिगत रुपमा ध्यान जानु पर्ने र नीतिगत व्यवस्था हुनुपर्नेमा जोड’ दिनुभयो । उहाँले ठाडोभाका लमजुङमा सिर्जिएको हुँदा यो यस जिल्लाको पहिचान र गौरव हो, त्यसैले यसलाई लमजुङे भनिरहन वा कुनै विशेषण जोड्न आवश्यक छैन । लमजुङमा गाइने यो गीत विशुद्ध ठाडोभाका हो पहाडीले भन्नुभयो ।
उहाँले प्रतिष्ठानका विगत, वर्तमानका साथै भविष्यमा गरिने केही कार्यक्रमका बारेमा समेत प्रकाश पार्नु भएको थियो । उहाँले २ जना छात्रछात्रालाई प्लस टु सम्मका लागि छात्रवृत्ती तीन वर्षदेखि दिदै आएको, ठाडोभाकामा जवानी खर्चिनु भएका तर ऐले जेष्ठनागरिकको जीवन विताइरहनु भएका ७० वर्षभन्दा माथिका स्रष्टाहरूलाई खोजी खोजी सम्मान गर्ने गरेको जानकारी दिनुभयो ।
ठाडोभाकाका सर्जक देउबहादुर दुराका नाउँमा अक्षयकोष सहितको पुरस्कार स्थापना गरी आउँदो वर्षदेखि वितरणको प्रवन्ध :
प्रतिष्ठानका अध्यक्ष पहाडीले ठाडोभाकाका सर्जक तथा अभियन्ताहरूको सम्मानका लागि ठाडोभाकाका सर्जक देउबहादुर दुराका नाउँमा अक्षयकोष सहितको पुरस्कार स्थापना गरी आउँदो वर्षदेखि प्रतिष्ठानको स्थापना दिवसमा वितरणको प्रवन्ध गर्ने र त्यो रकमको सम्भवतः आउँदो बैशाख पूर्णिमाको दिनमा घोषणा हुने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले देउबहादुर दुराको नाउँको पुरस्कारको अक्षयकोषका लागि उहाँको परिवारबाट जे जति रकम जम्मा हुन आउँछ त्यो बराबरको रकम प्रतिष्ठानको तर्फबाट थप गर्ने योजना रहेको समेत सुनाउनु भयो ।
सो अवसरमा ठाडोभाका प्रशिक्षक एवम् गायिका तथा प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले प्रशिक्षणको अनुभव सुनाउनु भएको थियो । उहाँले यस्ता कार्यक्रमलाई आउँदा दिनमा पनि थप गर्दै जाने बताउनु भयो ।
उक्त प्रशिक्षण कार्यक्रमको उघाटन सिर्जनशील आमा समूहका अध्यक्ष पञ्चमाया गुरुङको अध्यक्षतामा र समापन गौमती आमा समूहका अध्यक्ष ननसुब्बा गुरुङको अध्यक्षता भएको थियो ।
सो अवसरमा ८६ वर्षकी अग्रज ठाडोभाका गायिका मालिङ निवासी लक्षिन्द्र विकलाई सम्मान गरिएको थियो । यसैगरी, प्रशिक्षणमा व्यवस्थापन सहयोग गर्नु हुने पाँचवटै आमा समूहका अध्यक्षलाई सम्मान गर्नुका साथै उक्त कार्यक्रममा सहभागी विद्यार्थी पठाउने विद्यालयलाई कदर पत्र प्रदान गरिएको थियो ।
उक्त प्रशिक्षणमा ठाडोभाकाका वरिष्ठ गायक अमरध्वज गुरुङ, बुद्धिमाया गुरुङ, सुवे. सन्तबहादुर गुरुङले समेत प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । प्रतिष्ठानका कार्यकारी सदस्य कृष्णबहादुर केसीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू शर्मिला गुरुङ, सीता गुरुङ, अञ्जली गुरुङ, रमाना भण्डारी आदिले आ–आफ्नो अनुभव सुनाउँदै प्रशिक्षण कार्यक्रमको सराहना गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । उक्त प्रशिक्षणमा सात वर्षकी बालिकादेखि ६२ वर्षीया बृद्धा समेत २९ जनाले भाग लिएका थिए ।
उक्त प्रशिक्षणको प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले उदघाटन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० बैशाख १०, आईतवार २२:२५ गते