वैरागी, पराजुली र बोटेलाई ‘वानीरा पुरस्कार’बाट सम्मान

वैरागी, पराजुली र बोटेलाई ‘वानीरा पुरस्कार’बाट सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १२ गते मङ्गलबार ०७:३४

त्यस्तै, ‘वानीरा पुरस्कार’को राशि पचास हजार रुपैयाँ रहेको छ । सो अवसरमा भीमबहादुर बोटेलाई पनि पच्चिस हजार रुपैयाँ राशि सहित ‘वानीरा सेवा पुरस्कार’ प्रदान गरिएको हो ।

‘वानीरा प्रज्ञा पुरस्कार’को राशि एक लाख रुपैयाँ रहेको छ ।

काठमाडौं– अमर प्राज्ञ वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गरिएको छ । वानीरा फउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले यहाँ स्थापित वानीरा सभागृहमा एक समारोह माझ बैशाख १० गते समर्पण गर्नुभयो ।
नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञा पुरस्कार’को राशि एक लाख रुपैयाँ रहेको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदानका निम्ति सो पुरस्कार प्रदान गरिएको हो ।
सोही समारोहमा इन्जिनियर गिरिले सुप्रसिद्ध कवि गोपाल पराजुलीलाई ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो । उहाँलाई नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति सो पुरस्कार समर्पण गरिएको हो । सो पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ ।
यसैगरी, सोही समारोहमा वानीरा फाउन्डेसनका संरक्षक शङ्कर गिरिले भीमबहादुर बोटेलाई पनि पच्चिस हजार रुपैयाँ राशि सहित ‘वानीरा सेवा पुरस्कार’ समर्पण गर्नुभयो ।
उक्त समारोहमा वानीरा पुरस्कारबाट सम्मानित वैरागी काइँला र गोपाल पराजुलीबाट भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलख’को लोकार्पण भएको थियो ।
डा. वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो । इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा संग्रहालयको स्थापना भएको हो ।
यसअघि वानीरा संग्रहालयमा अवस्थित डा. गिरीको पूर्ण कदको सालिकमा अमर प्राज्ञ वैरागी काइँलाबाट माल्यार्पण गरिएको थियो ।
श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोमा वैरागी काइँला, गोपाल पराजुली, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य व्यक्त गर्नु भएको थियो ।
डा. वानीरा गिरीको लघु जीवनी :
वानीरा गिरीको जन्म २००१ साल वैशाख १३ गते अक्षय तृतीयाका दिन दार्जिलिङको खरसाङमा भएको थियो । उनले स्थानीय सेन्ट जोसेफ स्कुलबाट एसएलसी पास गरिन् । आईएस्सी पढेकी वानीराले २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरिन् ।
राजा महेन्द्रको इच्छामा वानीरा बीएको पुर्जा हातमा बोकेर २०२२ सालमा काठमाडौं आइन् र एमएमा भर्ना भइन् । नेपाली विषयमा एमए उत्तीर्ण भएपछि उनले पढाउन थालिन् । त्रिभुवन विश्वविद्यालयको स्थायी उपप्राध्यापक भएपछि उनले सोही विश्वविद्यालयबाट एमएड पनि उतीर्ण गरिन् । त्यसपछि उनले पीएच्डी गरिन् र नेपाली साहित्यमा पीएच्डी गर्ने उनी प्रथम नारी भइन् ।
दार्जिलिङबाट काठमाडौं आएकै वर्ष नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा वानीरा द्वितीय भएकी थिइन् । उनी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञा पदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।
नइको संयोजन र त्रिमूर्ति निकेतनको आयोजनामा डा.वानीरा गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थियो । सोही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा.गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सो समारोहमा प्रधानमन्त्री कोइरालाले डा.गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।
वानीराले २०३३ सालमा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमासमेत नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन् । उनी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली नारी प्राज्ञ थिइन् । उनीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए ।
वानीराको २०२३ सालमा इन्जिनियर शङ्कर गिरीसँग बिहे भयो । यी दम्पतिबाट एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो ।
वानीरा लामो समयदेखि मधुमेहको शिकार थिइन् । साथै उनी २०७३ सालदेखि बिस्मृतीजन्य रोग अर्थात् डिमेन्सियाबाट पनि पिडीत हुन थालेकी थिइन् । अनि उनी त्यसपछिको दुई वर्षदेखि नै अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् । उक्त समयमा उनका पति ई.शङ्कर गिरीले उनको अटुट सेवा गरिरहे । साथै उनका पति वानीराको कृतित्वको थप अमरत्व कायम गर्ने हिसावमा लागिपरे । फलस्वरप शङ्कर गिरीकै प्रबल इच्छाले २०७६ सालमा वानीरा फाउन्डेसनको स्थापना भयो । वानीरा फाउन्डेसनका लागि भवन तथा उक्त भवनभित्र वानीरा सङ्ग्रहालय, वानीरा सभाकक्ष र फाउन्डेसनको परिसरमा डा.वानीरा गिरिको पूर्णकदको सालिकसमेत निर्माण भएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीलाई कोरोनाको सङ्क्रमण भएको थियो । त्यसै रोगले उनी २०७८ साल जेठ ९ गते आइतबार राति १० बजे स्वर्गीय भइन् ।

प्रस्तोता : नरेन्द्रराज प्रसाई, सदस्यसचिव, वानीरा फाउन्डेसन ।

प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार १९:३४ गते
हजुरको प्रतिक्रिया