धुसेनी(लमजुङ)– लमजुङमा हालै सम्पन्न भएको एक खानेपानी आयोजनाले जिल्लामा हुने गरेका विकास निर्माणका काम के कति गुणस्तरीय रुपमा निर्माण गर्ने गरिएको छ भन्ने उदाङ्गो बनाएको छ । सुन्दरबजार नगरपालिका– १० धुसेनी क्षेत्रमा निर्माण गरिएको धुसेनी एक घर एक धारा खानेपानी आयोजनाको निर्माण कार्य कागजी रुपमा सक्ने र धारामा खानेपानी सुक्ने काम सँगसँगै भएबाट त्यस्तो पुष्टि हुन आएको हो ।
उक्त खानेपानी आयोजनाको वस्तुस्थितिले देशवासीलाई ‘मुहानदेखि मुखसम्म शुद्ध पानी खुवाउने’ सरकारी नीतिको ठाडो उल्लंघन भएको विभिन्न स्किमको उपभोक्ता समितिमा बसेका पदाधिकारीहरू नै स्विकार गर्दछन् ।
उक्त खानेपानी आयोजनाका केही उपभोक्ताहरूको विशेष अनुरोधमा यो पंक्तिकारलाई आयोजना निर्माणको गुणस्तरका बारेमा जानकारी दिदै सो क्षेत्रमा स्थलगत भ्रमण गरी समाचार लेखिदिन आग्रह गरेबाट पंक्तिकारद्वारा गरिएको स्थलगत अध्ययनबाट पाइएका वस्तु स्थितिहरू : 
उक्त खानेपानी आयोजना आव २०७४÷७५ सालबाट क्रमागत योजना अन्तरगत संघीयता लागू हुनुअघि नै स्विकृत भई काम थालिएको रहेछ । तिन ताका एक घर एक घाराको अवधारणा आइनसकेको तर संघीयता लागू भएपछि जिल्ला खानेपानी तथा सरसफाई कार्यायल डिभिजन कार्यालयमा परिणत भई गोरखामा गएपछि जिल्ला सदरमुकाम बेसीशहरमा त्यस कार्यालयको इकाई कार्यालय मात्र रहेको र सो मार्फत निर्माण भएको रहेछ ।
सोही इकाई कार्यालयको रेखदेख र पूर्ण निगरानी तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको विशेष निर्देशन हुने गरी काम भएको बेसीशहर स्थित खानेपानी तथा सरसफाई कार्यालय, लमजुङ इकाई कार्यालयका प्रमुख इञ्जिनियर देवबहादुर लामाले बताउनु भयो । उहाँका अनुसार सो खानेपानी आयोजनाको कुल लागत दुई करोड, १५ लाख २७ हजार ६८७ रुपैयाँ रहेछ । त्यसको निर्माण कार्य पुरै उपभोक्ता समितिमार्फत निर्माण काम हुने गरी सम्झौंता भएको लामाको भनाइ छ । उपभोक्ताले त ठेकेदारमार्फत निर्माणको काम भएको भनेका छन् नि ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘हामी ठेकेदारलाई चिन्दैनौं, निर्माणको जिम्मेवारी, निर्माणको प्रतिवेदन पेश गर्ने र नगद भुक्तानी लग्ने सबै काम उपभोक्ता समितिमार्फत भए, गरिएको हो ।’
‘सो आयोजनामा आव २०७४÷७५ देखि हरेक आवमा के कति रकम खर्च भएको रहेछ ? भन्ने जिज्ञासामा गत आवमा १४ लाख ४५ हजार ८७९ रुपैयाँ भुक्तानी भएको छ । त्यो योजनाका नाउँमा यो आर्थिक वर्षमा २० लाख रुपैयाँ निकासा आएको छ तर खर्च गर्ने ठाउँ छैन, आयोजनाको निर्माणको काम सम्पन्न भइसकेको हुँदा खर्चिने ठाउँ नभएको हो इञ्जिनियर लामाले जानकारी दिनु भयो ।
उक्त खानेपानी आयोजना अन्तरगत साविकको धुसेनी गाविसका पुरै ९ वडामा जम्मा आठवटा स्किम अर्थात आठ वटा मुलको पानीबाट हालको सुन्दरबजार नगरपालिका– १०, को पुरै क्षेत्रलाई एक घर एक धारा खानेपानी सेवा उपलब्ध गराउने गरी आयोजनाको स्वीकृत भई निर्माणको काम भएको सो कार्यालयबाट जानकारी दिइएको छ । जसमा कुल २२० घरमा धारा जडान गरी खानेपानी सेवा उपलब्ध गराउने गरी योजना स्विकृत भएको इञ्जिनियर लामाले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार ती घरमध्ये स्किम– १ अन्तरगत कानेस्वाँरामा ५७ घर, स्किम– २ को धुसेनीमा ७५ घर, स्किम– ३ को कोइरालाफाँटमा २९ घर, स्किम– ४ र ५ का नौलेडाँडा र जुकेपानी– १ मा क्रमशः ९/९ घर, जुकेपानी स्किम– २ मा १२ घर र जुकेपानी– ३ मा ५ घर तथा स्किम– ८ मा पाखुरे गाउँका २४ घरलाई खानेपानी सेवा दिने गरी योजना स्वीकृत भएको हो । उहाँले भन्नुभयो, ‘सो खानेपानी आयोजनाको शाखा लाइन खन्ने र पुर्ने काम उपभोक्ता आफैले गर्ने बाहेक अन्य सबै काम धाराको निर्माण र टुटी आदि समेतको जडान गर्ने काम सरकारी पैसाबाट सोही आयोजना अन्तरगत गर्ने गरी सम्झौता भएको हो ।’
सो आयोजनको गुणस्तरका बारेमा जिज्ञासा राख्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलसँग सम्पर्क गर्दा उहाँले यस्ता एक खानेपानी योजनाको आयु कम्तिमा १५ वर्षदेखि २० वर्षका लागि हुने गरी निर्माण गर्ने गरिएको बताउनु भयो । उहाँका अनुसार मुललाइनमा कम्तिमा दुई फिट(कडा चट्टान, पहरो आदि फेला परी खन्न नसक्ने अवस्थामा मात्र) र प्रायः ९० इञ्चको गहिराइमा पाइप विच्छ्याउने काम गर्नु पर्दछ, भुक्तानी दिने समयमा कामका आधारमा भुक्तानी हुन्छ । उहाँले भन्नुभयो, ‘एक घर एक धारा खानेपानी योजनाको उद्देश्य अनुसार २४सै घण्टा खानेपानीको सेवा उपलब्ध गराउने भन्ने नै हो तर कतै कतै पानीको मूल सानो हुने र सेवा लिने घर धेरै भएको अवस्थामा भने टंकी निर्माण गरी बाँकी समयमा पानी संकलन गरी दिनमा कम्तिमा पनि साँझ– विहानको समय मिलाएर ४– ६ घण्टासम्म पानी वितरणको प्रवन्ध गरिन्छ ।’
उपभोक्ता समितिमार्फत निर्माण भएका यस्ता खानेपानी आयोजनाहरू सम्पन्न भएपछि उपभोक्तालाई औपचारिक रुपमा हस्तान्तरण गरिन्छ कि गरिदैन ? भन्ने थप जिज्ञासामा पौडेलले भन्नुभयो, ‘उपभोक्तालाई हस्तान्तरण नै गर्नु पर्छ भन्ने त छैन तर पनि ३÷४ वर्षसम्म आयोजना स्वस्फूर्त रुपमा चल्न थालेपछि उपभोक्तालाई हस्तान्तरण गर्ने गरिएको छ, हामी हस्तान्तरण गर्छौं ।’ उक्त खानेपानी आयोजनामा कुल कति खर्च भएको रहेछ ? भन्ने थप जिज्ञासामा आफू नयाँ भएको र लेखापाल विदामा बसेको हुँदा लेखापाल नआउँदासम्म सो विवरण दिन नसक्ने डिभिजन प्रमुख पौडेलले बताउनु भयो ।
डिभिजन प्रमुख पौडेलसँग सो आयोजनाका बारेमा यो पंक्तिकारले जानकारी लिएको करिब आधा घण्टा पछि उहाँले कल व्याक गरी, ऐलेसम्म त्यो आयोजनाका बारेमा कार्यालयका औपचारिक रुपमा कनुै गुनासो आएको छैन । आएमा हामी त्यसको सम्बोधन गरी नै हाल्छौं । समाचार पोजेटिभ रुपमा लेखिदिनु होला भन्ने आग्रह गर्नु भएको थियो ।
तर सो खानेपानी आयोजनाबाट दैनिक एक घण्टा पनि धारामा पानी नआउने गरेको कहिले त ५– ७ दिनमा एक घण्टा जस्तो मात्र धारामा पानी चुहिन्छ, मन रमाउने गरी एक दिन पनि खानेपानी आएको थाहा छैन सो आयोजनाको सबैभन्दा ठूलो स्किम रहेको धुुसेनी गाउँका उपभोक्ताहरूले बताएका छन् । आफ्नो घरमा जडान गरिएको धारामा आजका दिनसम्म राम्रोसँग पानी आएको एउटै दिन छैन स्किम नं– ३ को कोइरालाफाँट स्किमको उपभोक्ता समितिका अध्यक्ष समेत रहनु भएका उपभोक्ता लवहरि कोइरालाले बताउनु भयो ।
उहाँका अनुसार हाम्रो गाउँतर्फ जाने खानेपानीको पाइपमा पानी नै वितरण टंकीमा मुख बन्द गरिएको छ, के गरेको हो ? भन्दा उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णप्रसाद कोइरालाले हामीलाई कुट्न खोज्छन् । उहाँले थप भन्नुभो, ‘यो निर्माण कार्यमा ठेकेदारले लापरवाही गरेको कारणले यस्तो परिणाम भोग्नु परेको हो ।’ योजना निर्माण गर्दा मापदण्ड अनुसार मुल लाइनमा समेत गहिराई अनुसार पाइप विच्छ्याउन त परै रहोस् अधिकांश ठाउँमा पाइप बाहिरै खुल्ला छाडिएको उपभोक्ताहरूले गुनासो गरेका छन् । सो आयोजनाको बढी उपभोक्ता ५७ घर रहेको दोस्रो ठूलो स्मिक– १ को कानेस्वाँरा क्षेत्रमा नयाँ टंकी बनाउनु पर्नेमा सो नै नबनाई पुरानै टंकीमा पाइप जोड्ने काम गरी खानेपानी वितरण गरेर ठेकेदारले लापरवाही गरेको सो वडाका वडासदस्य समेत रहनु भएका कानेस्वाँराका उपभोक्ता योगेन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार यस्तो झारा टार्ने काम गर्न हुँदैन भन्दाभन्दै पनि जबरजस्ति ग¥यो, ‘मूल लाइनका पाइपहरू पनि धेरै जसो खुलै छन् भने गाडिएको ठाउँमा पनि एक जनाले एक हातले तान्यो भने पनि सजिलै पाइप उखेल्न सकिन्छ ।’ गुरुङले भने । झन् ठेकेदार आफ्नो मान्छे पाइयो, राम्रो गर्ला भनेको त ‘दिनभरीको शिकार खाने बेलामा कान्छा बाबुको अनुहार’ भने जस्तो गरिदिएको छ के गर्ने गर्ने ? उहाँले गुनासो शैलीमा प्रतिप्रश्न गर्नु भयो ।
धुसेनीमै निर्माण गरिएको सडक मुनी, अर्को यौटा सेतो रङ्ग लगाइएको(फोटोमा) टंकीमा मुलबाट ल्याइएको पानी चढेकै छैन, अनि कसरी पानी वितरण हुन्छ ? भन्ने प्रश्न समेत केही उपभोक्ताहरूले गर्नु भएको थियो ।
यतिबेला सुख्खा मौसम चलिरहेको छ, पानीको केही कमी छ त्यसैले पनि पानी कम आएको हुन सक्ने केही उपभोक्ताको तर्क छ तर धुसेनी गाउँमा ल्याइएको खानेपानीको मुहानमा यो बेलामा पनि एक इञ्चभन्दा ठूलो पानी खेर गएकोदेखिन्छ । कोइरालाफाँट गाउँ धुसेनी गाउँ भन्दा झण्डै एक डेढसय मिटर तल्लो भागमा पर्दछ ।
सो आयोजना निर्माण गर्दा आयोजनाको बजेट कम अर्थात अपुग भएको हुँदा उपभोक्ताले घर घरमा जडान गर्ने धाराको टुटी जडान गर्नका लागि उपभोक्ता आफैले किन्नु पर्छ भन्दै प्रति घर पाँच सय रुपैयाँका दरले रकम उठाएको बताउँछन् । त्यो कुरा उक्त खानेपानी आयोजनको मुल उपभोक्ता समितिका सचिव विन्दूदेवी पौडेल अधिकारीले स्वीकार गर्नु भएको छ । सो आयोजना निर्माण गर्दा आठ वटै स्किम समेट्ने गरी यौटा मुल उपभोक्ता समिति र स्किम पिच्छे रेखदेख गर्नका लागि भन्दै सानो उपभोक्ता समिति बनाइएको रहेछ । समितिमा उपाध्यक्ष को छ ? कति सदस्यीय उपभोक्ता समिति हो ? भन्ने बारेमा समेत उहाँले बताउन सक्नु भएन ।
कतिपय समितिमा रहेका पदाधिकारीहरू समितिमा त राखिदिएका छन्, तर आफ्नो पदको काम के के हो ? यो योजनाको यथार्थ के हो ? भन्ने न त मुल उपभोक्ता समिति न त खानेपानी कार्यालय न ठेकेदार कसैले पनि हामीलाई राम्रोसँग बुझाउने काम गरेका छैनन् । हामी १२– १५ घरले आजसम्म खानेपानीको धारा त बनायौं तर रित्तो धारा हेरेर बस्ने काम मात्र भएको छ, यो कुकर्मचारीतन्त्रको उदासिनता वा कमाउ धन्दाबाट पुष्टि हुन आएको देखिन्छ एक स्किमका पदाधिकारीले नाम नछाप्ने सर्तमा बताए ।
खानेपानी योजनाको मापदण्ड अनुसार पानी वितरणका लागि टंकी निर्माण गरेता पनि ती कुनै पनि स्किमको मुहानमा निर्माण गर्नु पर्ने पानी थिग्र्याउने पोखरी र टंकी आदि निर्माण नगरिएको उपभोक्ताको गुनासो छ । निर्माण गरिएको पानी वितरणको टंकीको ढलान चर्किएको प्रष्टै देखिन्छ भने प्लास्टर गरेको ठाउँमा नङले कोट्याउँदा पनि बालुवा र सिमेन्ट बुरबुर खस्छ स्किम– २ को खानेपानीका उपभोक्ता समितिका अध्यक्ष मनबहादुर भण्डारीले बताउनु भयो । उहाँका अनुसार हामीलाई जम्मा एक करोडको खानेपानी योजना हो भनिएको थियो तर ऐले त तीन करोड रुपैयाँ आएको भन्ने सुनी राखिएको छ यथार्थ बुझ्न सकिएको छैन । यो पंक्तिकार स्थलगत निरीक्षणका लागि आएको भन्ने जानकारी पाएपछि एक दर्जन बढी उपभोक्ताहरू उक्त टंकी निर्माण स्लमा उपस्थित थिए । सबैले एक स्वरमा अध्यक्ष भण्डारीको कुरामा सहमति जनाए । सो प्रसङ्गमा भण्डारीले भन्नुभयो, ‘हामीले मूल उपभोक्ता समितिका अध्यक्ष सिंहबहादुर अधिकारीबाट राम्रो काम भएन, अध्यक्ष फेर्नु प¥यो भनेर पहल पनि गरेका हौं तर जिल्लाको खानेपानी कार्यालयले अध्यक्ष फेर्न मान्दै मानेन, त्यो पनि रहस्यपूर्ण लागेको छ हामीलाई ।’
धुसेनी स्किमका लागि ल्याइएको खानेपानीको मुहानमा टंकी नै निर्माण गरिएको पाइएको छ । मुहानमा केटाकेटीले खेल्नका लागि बनाएको धाराको जस्तो गरी रोहटोमा सिधैं पाइप जोडेर पानी सप्लाई गरेको देखिन्छ । जो सानो बाढी आउँदा समेत अवरुद्ध हुने प्रष्टै देखिन्छ । त्यति मात्र हैन अधिकांश स्थानमा खानेपानीको पाइप पुर्नु पर्ने गहिराईसम्म नपुरिएको देखिन्छ भने पाइप धान्नका लागि निर्माण गरिएका पिल्लरको समेत न त जग नै राखेको देखिन्छ । एक स्थानमा त यस्तो पनि देखियो पनि पिल्लरनै उप्किएर खानेपानीको जिआई पाइपले धारेको समेत फोटोमा प्रष्टै देखिन्छ ।
नयाँ खानेपानी योजनाबाट खानेपानी नआए पछि विकल्पको रुपमा आजका दिनमा पनि धुसेनीका अधिकांश उपभोक्ताहरूले २०४५ सालमा निर्माण गरिएको खानेपानी योजनाको टंकी र धाराबाट खानेपानीको गुजारा गर्ने गरेको जानकारी दिए ।
आफ्नो गाउँमा विहान बेलुका एक एक घण्टा जस्तो आउने गरेको पनि ३ दिनदेखि थोपा पनि चुहिएको छैन पाखुरे गाउँ स्किम ८ की उपभोक्ता धु्रमाया मजाकोटीले बताउनु भयो । उहाँका अनुसार आफ्नो गाउँका २४ घर सबैको अवस्था उस्तै छ ।
सो खानेपानी आयोजना उपभोक्ता समितिमार्फ काम गरिएको भए उपभोक्ता समितिका बैठक बसेर निर्णय गरी कामको थालनी अनि प्रगति अनुसारको कामको विवरण र त्यो पास गरिएको बैठकको निर्णय आदि हुनुपर्ने हो तर त्यस्तो केही नगरिएको मुल उपभोक्त समितिका सचिव विन्दू पौडेल अधिकारीले बताउनु हुन्छ । उहाँका अनुसार उपभोक्ता समितिमा को को हुनुहुन्छ भन्नेसम्म सबै जानकारी नै छैन । उहाँले थप भन्नुभयो, ‘एक पटक काम रोकिने भो, चेकमा सही गरिदेउ पैसा झिक्नु पर्यो भनेर अध्यक्षले भनेपछि विश्वासमा आफूले उपभोक्ता समितिको दुईवटा खाली चेकमा सही गरेर दिएको हुँ, के कति पैसा झिके, त्यो कहाँ के कति, कसरी खर्च गरियो, बैठकमा सोधुला भनेको दुई वर्षजति भयो बैठक नै बसेको छैन । यही बैशाख ४ गते बैठक बस्ने भनेको अध्यक्ष काठमाडौं गएर बसेका छन् त्यसैले बैठक हुन सकेको छैन ।
’
उक्त खानेपानी आयोजना सम्पन्न भएको भन्दै योजनको निर्माण खर्च भुक्तानीका लागि सिफारिस गर्ने प्राविधिकको नियतमा समेत प्रशस्त शंका गर्ने ठाउँ उक्त योजनाले बोलिरहेको उपभोक्ताको गुनासो छ । सो खानेपानी आयोजना स्थलको स्थलगत भ्रमणका क्रममा कम्तिमा एक सय जना उपभोक्तासँग भेटघाट भएको र एक जनाले पनि यो पंक्तिकारसँग सन्तुष्टि व्यक्ति गरेको पाइएन ।
यो पंक्तिकारलाई धुसेनीको भ्रमण गर्दा धुसेनी खानेपानी तथा सरसफाई उपभोक्ता मुल समितिका अध्यक्ष सिंहबहादुर अधिकारी काठमाडौं गएको भन्ने बुझियो तर फोन सम्पर्कका लागि पटक पटक प्रयास गर्दा पनि उनको फोन उठेन ।
स्मरणीय छ, सो खानेपानी आयोजनाको निर्माण कार्यमा भ्रष्टाचार भएको भन्दै असन्तुष्ट भएका उपभोक्ताहरूले अख्तियारमा समेत उजुरी दिने तयारी गरेको बताएका छन् ।
प्रकाशित मिति २०८० बैशाख १६, शनिबार २२:४६ गते