बेसीशहर– लमजुङमा सामुदायिक विद्यालयका शिक्षकलाई स्वास्थ्य परीक्षणबारे अभिमुखीकरण गरिएको छ । विद्यालय सुधार परियोजना अन्तरगत विद्यालयस्तरका छात्रछात्राको स्वास्थ्य अवस्थाको पहिचान गर्नका लागि एक दिने अभिमुखीकरण बैशाख २० गते गरिएको हो ।
आरसिडिसी लमजुङ र वल्र्डभिजनको साझेदारीमा गरिएको उक्त कार्यक्रमको समापनमा आरसिडिसी लमजुङका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले सहभागीहरूलाई अभिमुखीकरणका बेलामा प्राप्त ज्ञान, सीप र साधनको उपयोग गर्न आग्रह गर्नु भयो । उहाँले दिइएका सामग्रीको विद्यालयमा स्टोर दाखिला गर्न अनुसरोध गर्दै यो कार्यक्रम नेपाल सरकारकै कार्यक्रम हो, वर्षमा तीन पटक स्वास्थ्य परीक्षण गर्ने सरकारको नीति रहेको छ, त्यसलाई हामीले सहयोग मात्र गरका हौं घिमिरेले भन्नुभयो । उहाँले यो कार्य पुण्य आर्जन गर्ने र तपाईहरूप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढाउने समेत भएको हुँदा त्यसलाई ध्यानमा राखेर प्राप्त ज्ञान, सीप र साधनको उपायोग गर्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा आरसिडिसी लमजुङका कार्यक्रम संयोजक प्रमोद घिमिरेले अभिमुखीकरणका सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले बालबालिकालाई कसरी स्वास्थ्य राख्न सकिन्छ ? भन्ने बारेमा नेपाल सरकार स्थानीय स्रकारसँग व्यवहारिक रुपमै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी दिनु भयो ।
उहाँका अनुसार सो अभिमुखीकरण कार्यक्रममा कार्यक्षेत्रमा रहेका २५ विद्यालयमध्ये प्रत्येक विद्यालयका एक एक जना शिक्षक प्रतिनिधिलाई सहभागी हुन आमन्त्रण गरिएकोमा २४ जना सहभागी रहेका छन् । तीमध्ये ११ जना महिला शिक्षक रहेको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा बेसीशहर नगरपालिकाको स्वास्थ्य निरीक्षक पशुपति ढुंगाना तथा वल्र्ड भिजनका जिल्ला प्रतिनिधि शुक्रराज गुरुङले सहजकर्ताको भूमिका निभाउनु भएको थियो ।
सो अवसरमा मूलतः विद्यार्थीको वि.एम.आई.का आधारमा विद्यार्थीहरू स्वास्थ्य भए नभएको पहिचान गर्ने, विद्यार्थी अस्वस्थ भएमा तत्कालै स्वास्थ्य चौकी वा अस्पतालमा जान सल्लाह दिनु पर्छ स्वास्थ्य निरीक्षक पशुपति ढुंगानाले बताउनु भयो ।
छात्र÷छात्राको स्वास्थ्य स्थिति पत्ता लगाउन तौल र उचाई लाई भाग र गुणा गरी इन्डिकेटर अंक निकाल्ने र त्यसका आधारमा स्वास्थ्यको अवस्था निर्धारण गर्ने सिकाइएको अभिमुखीकरणकी सहभागी यशोब्रह्म माविका शिक्षक सिर्जना घिमिरेले बताउनु भयो । उहाँका अनुसार त्यसरी निकालिएको औसत अंक १८ देखि २६ भएमा त्यस्तो व्यक्ति निकै स्वस्थ्य हुने र त्यो अंकभन्दा माथिल्लो वा कम अंक आएको खण्डमा त्यस्तो व्यक्ति अस्वस्थ्य हुने र सो अंक जति बढी हुन्छ उत्तिकै अस्वस्थ्यताको संकेत हुने जानकारी दिइएको छ ।
सो अवसरमा आँखा, दाँत, कान, छाला परीक्षण तरिकाका बारेमा समेत सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको अभिमुखीकरणका अर्का सहभागी शिक्षक गोविन्द भट्टले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा सरसफाई लगायतका विषयमा पनि जानकारी दिइएको थियो ।
पछिल्ला वर्षहरूमा मोटोपन बढ्ने क्रम तिब्र रहेको र त्यसमा पनि पुरुषको तुलनामा महिलाहरू बढीमात्रामा मोटोपनको शिकार हुने गरेको हुँदा समयमै सावधानी अपनाउन र सकेसम्म औषधिको सेवन गर्न नपर्ने स्थिति बनाई राख्न नगरपालिकाका स्वास्थ्य निरीक्षक ढुंगानाले सहभागीहरूलाई आग्रह गर्नु भएको थियो ।
सो कार्यक्रमको आरसिडिसीका सहजकर्ता सोभित थापाले सञ्चालन गर्नु भएको थियो । उहाँका अनुसार सहभागीहरूलाई स्वास्थ्य परीक्षणका लागि आवश्यक साधनहरू तौल जाँच गर्ने मेसिन, उचाई नाप्ने, कानको परीक्षण गर्न लाइट, आँखाको अवस्था जाँच गर्ने साधन लगायतका सामग्री सम्बन्धित विद्यालयको सम्पत्ती हुने गरी हस्तान्तरण गरिएको थियो । उहाँले भन्नुभयो, ‘सो अभिमुखीकरणको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।’
प्रकाशित मिति २०८० बैशाख २०, बुधबार २१:३५ गते