पोखरा– लमजुङको मौलिक ठाडोभाकाका एक उज्वल नक्षत्रका रुपमा परिचित सुवेदार सन्तबहादुर गुरुङको निधन भएको छ । मध्यनेपाल नगरपालिका– ७ चिसंकु निवासी ६५ वर्षीय उनको पोखराको रामघाट स्थित तलुली घाटमा बैशाख २३ गते उहाँको अन्तिमसंस्कार गरिएको हो ।
स्व. गुरुङको पार्थिव शरीरमा उहाँका जेठो छोरा खेमबहादुर गुरुङले दागबत्ती दिनु भएको थियो । त्यसअघि उहाँले ठाडोभाका, सामाजिक क्षेत्र तथा भारतीय सेनामा कार्यरत रहदा र पेन्सनमा आएपछि भूपू सैनिकका तर्फबाट खेलेको भूमिकाका बारेमा प्रकाश पार्दै उहाँको अमरत्वको कामना गरिएको थियो ।
सुवेदार सन्तबहादुर गुरुङले ठाडोभाका लोककलाको क्षेत्रमा पु¥याएको योगदानका बारेमा प्रकाश पर्दै ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले स्व. गुरुङ प्रतिष्ठानका आजीवन सदस्य हुनुका साथै प्रतिष्ठानले आयोजना गरेको ठाडोभाका तेस्रो खुल्ला प्रतियोगितामा पहिलो स्थान हासिल गर्न सफल व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो, । पहाडीले उहाँ सधैं हाँसेर मात्र बोल्ने, खुशी देखिने शीलस्वभाव, उफ्रेर नाच्ने बानी भएको उर्जाशील व्यक्तित्व र विशेषताबाट आफू सधैं प्रभावित भई उत्प्रेरणा र उर्जा पाउने गरको बताउनु भयो । उहाँ एक प्रतीभावान् अनुकरणीय व्यक्तित्व रहेको, उनको निधनले ठाडोभाकाको क्षेत्रमा अपूरणीय क्षति भएको र एक असल अभिभावक गुमाएको अनुभव भएको पहाडीले उल्लेख गर्नुभयो ।
गुरुङको अमरत्वका लागि पुरस्कार स्थापना गर्ने घोषणा :
प्रतिष्ठानका अध्यक्ष पहाडीले गुरुङ ठाडोभाकाको कार्यक्रम स्थलमा गएर ठाडोभाकाको उजागर गर्ने क्रममा नै निधन भएको हुँदा उहाँले सधैं सम्झना भइरहने कार्य गरी अमरत्वका लागि प्रतिष्ठानले ‘ठाडोभाका सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले त्यस पुरस्कारको स्थायित्वका लागि अक्षयकोष बनाउने र त्यस कोषमा प्रतिष्ठानले ५० हजार रुपैयाँ प्रदान गर्ने जानकारी दिनु भयो । उक्त पुरस्कारलाई आकर्षक र देशव्यापी बनाउन कोषमा स्व. गुरुङका परिवारजन, नातेदार, इष्टमित्र, शुभेच्छुकहरू तथा ठाडोभाकालाई माया गर्ने जो कोहीले पनि रकम थप गर्न सक्ने र सो रकम सिधैं प्रतिष्ठानको नाउँमा रहेको बैंक खातामा पठाउन वा प्रतिष्ठानको रसिद लिएर मात्र सहयोग रकम प्रदान गर्न इच्छुक सबैमा पहाडीले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यसरी बनेको कोषको व्याजबाट प्राप्त हुने रकमबाट हरेक वर्ष सम्मान– पत्र, दोसल्ला र नगद राशि सहित एकजना ठाडोभाकाको नयाँ पुस्ता(४० वर्षभन्दा कम उमेर)का गायक गायिकालाई प्रदान गर्न कार्यविधि बनाएर प्रतिष्ठानले गर्ने छ ।’ अक्षयकोषमा सहयोग गर्न चाहनेहरूले प्रतिष्ठानको नेपाल बैंक लि. बेसीशहर शाखामा ठाडोभाका लोककला प्रतिष्ठानका नाउँमा रहेको खाना नं– २३८००१०७४०२६९७०००००१ मा जम्मा गर्न सक्नु् हुने पहाडीले जानकारी दिनुभयो । त्यस्तै, नगद दिन इच्छकुहरूले प्रतिष्ठानको रसिद लिएर मात्र रकम दिन पनि अनुरोध गर्नु भयो ।
सो अक्षयकोषमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका उपाध्यक्ष एवम् धम्पुका गायन जोडी सीता दुराले संयुक्त रुपमा २५ हजार रुपैयाँ थप गर्ने घोषणा गर्नु भएको छ ।
डडुवा दुर्छा लमजुङ तमु समाज पोखरा– १० का अध्यक्ष सिआई धनबहादुर गुरुङले शोकसभाको सञ्चालन गर्नु हुँदै उहाँको सामाजिक योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । सो समाजमा पोखरामा बस्ने ११२ परिवार आवद्ध रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, ६÷५ जि.आर. समाज पोखराका सचिव हनेरी दिलिप गुरुङले उहाँको पल्टनका साथै निवृत्त जीवनमा भूपू समाजमा गर्नु भएको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।
ठाडोभाकाको झण्डा ओढाएर अन्तिम विदाई :
स्व. गुरुङको पार्थिव शरीर प्रतिष्ठानका अध्यक्ष पहाडी, संरक्षक एवम् ठाडोभाका महानायक धम्पु, उपाध्यक्ष सीता दुरा, कोषाध्यक्ष सीता गुरुङ, सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, कार्यकारी सदस्य अमरध्वज गुरुङ, वरिष्ठ आजीवन सदस्य मीनबहादुर तामाङ, ठाडोभाका गायिकाहरू बुद्धिमाया गुरुङ, रमाना भण्डारी, तुलसा शाही ठकुरी, ठाडोभाकाका सर्जक देउवाहादुर दुराकी नातिनी गौमाया गुरुङ उनका श्रीमान योगेन्द्र गरुङ लगायतले प्रतिष्ठानको झण्डा ओढाएर अन्तिम विदाई गर्नु भएको थियो ।
गोरखाको सिराञ्चोक गाउँपालिका– ५ को चित्रेपोखरीमा आयोजना भएको ठाडोभाका खुल्ला प्रतियोगिता तथा सांस्कृति महोत्सवको तीन दिने कार्यक्रममा भाग लिन बैशाख २१ गते लमजुङकोतर्फबाट भाग लिन गएका १२ मध्ये एक टिमको नेतृत्व गरेर स्वर्गीय गुरुङ चित्रेपोखरी जानु भएको थियो । गुरुङ भोषभुषाका साथमा सो प्रतियोगिताको पहिलो चरणको प्रतिस्पर्धामा भाग लिएर सक्नासाथ कपडा फेर्दै गर्दा ढलेका थिए । उहाँको उपचारका लागि तत्कालै आँपपिपल अस्पतालमा पुर्याइएकोमा चिकित्सकले उहाँको निधन भएको घोषणा गरेका थिए ।
स्व. गुरुङको अन्तिम संस्कारको चाजोपाजो डडुवादुर्छा लमजुङ तमु समाज पोखरा– १० ले मिलाएको थियो ।
स्व. गुरुङका श्रीमती, दुई, दुई जना छोरा र बुहारी, दुई नाति र तीन नातिनी छन् ।
प्रकाशित मिति २०८० बैशाख २३, शनिबार २१:३५ गते