
मणिपुर(भारत)– पूर्वोतर राज्य मणिपुर राज्यमा जारी जातीय हिंसा भड्कीएको छ । त्यसमा ५२ जनाभन्दा बढीको मृत्यु भएको समाचार बैशाख २४ गते सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमार्फत मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक झडपका सामग्रीले परिस्थितिलाई थप जटिल बनाएपछि मणिपुरमा मोबाइल इन्टरनेट सेवा आजसम्मका लागि बन्द गरिएको छ । जसका कारण मणिपुरबाट निर्वाध सूचना प्रवाह हुन सकेको छैन र पछिल्लो विवरण सार्वजनिक हुन सकेको छैन । हिंसाका तस्विर र भिडियोहरू सामाजिक संजालमा व्यापक ‘सेयर’ भएपछि यस्तो निर्णय गरिएको हो ।
मणिपुर उच्च अदालतले मैतेई समुदायले अनुसूचित जनजाति वर्गमा आफूलाई पनि राख्न माग गर्दै दिएको रिटमा सुनुवाई गर्दै राज्य र केन्द्र सरकारलाई पुनरावलोकनको आदेश दिएको थियो । त्यसको विरोधमा पहिल्यैदेखि यो सुविधा पाउँदै आएको कुकी समुदायको विद्यार्थी संगठनले विरोध ¥याली निकालेपछि सुरु भएको झडप हिंसामा परिणत भएको हो ।
सो हिंसा बैशाख २० गतेदेखि सुरु भएको हो । हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि हिजो साँझसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको छ । र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसले आजको अंकमा लेखेको छ । प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले हिजो सर्वदलीय बैठक बोलाए पनि बैठकमा मुख्यमन्त्री सिंहले भानवीय क्षतिको यकिन विवरण दिन नसकेपछि आलोचना भएको थियो । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।
मणिपुर राज्यको राजधानी इम्फालबाट प्रकाशित हुने स्थानीय सञ्चार माध्यमहरूका अनुसार राजधानी र चुराचन्दपुर जिल्लाका अस्पतालमा ५० जनाभन्दा बढी मृतकका शवहरू राखिएका छन् ।
हिंसा सुरु भएको चौथो दिन हिजो पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।
साथै परिस्थिति नियन्त्रण बाहिर गएपछि आसम राइफल्स र भारतीय सेना परिचालन गरिएको छ । कर्फ्यु जारी भएका क्षेत्रमा सेना र प्रहरीको संयुक्त गस्ती चलिरहेको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईले चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा १६ शव, इम्फाल पूर्वी जिल्लाको जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा १५ शव र इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रीय अस्पताल रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा २३ जनाको शव राखिएको उल्लेख गरेको छ ।
हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक भए पनि यो संख्या अझैँ ठूलो हुनसक्ने बताइएको छ ।
जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको मैतेई समुदायले अनुसूचित जनजातिको हैसियत प्राप्त गरे आफ्नो पाइरहेको अधिकारमा कटौती हुने भन्दै कुकी समुदायले त्यसको विरोधमा उत्रिएको हो ।
मणिपुरको मैदानी भागमा रहेको मैतेई र पहाडी इलाकामा रहेको कुकी जनजाति समुदायबीच धेरै अघिदेखि यस विषयमा दरार उत्पन्न भइरहेको छ । राज्य र केन्द्र सरकारले यसको उचित व्यवस्थापन गर्न नसकेको बताइएको छ ।
बीबीसी हिन्दीका अनुसार मैतेई समुदायलाई आरक्षणको विषयमा भड्किएको हो । सरकारले आधिकारिक रुपमा मृत्यु हुनेको संख्या घोषणा गरेको छैन । सरकारले पटकपटक हिंसा रोक्न आग्रह गरे पनि त्यो सम्भव हुनसकेको छैन ।
मणिपुरमा शान्ति सुरक्षा कायम गर्नका लागि सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ । केन्द्रबाट नै सेना र अर्धसुरक्षा बल त्यहाँ पठाइएको छ । सेनाले विभिन्न स्थानमा फ्ल्याग मार्च गरि सबैलाई शान्ति रहन सन्देश दिइरहेको छ ।
मणिपुरमा मैतेई समुदाय करिब ५२ प्रतिशत रहेको बताइन्छ । उनीहरु धेरैजसो इंफाल घाटीमा बस्ने गर्छन् । उनीहरूलाई जनजातिमा अनुसूचित गर्ने तयारीविरुद्ध नै अन्य जनजाति समूह आन्दोलनमा उत्रिएका हुन् । विशेष गरी उनीहरुलाई अनुसूचित गर्न नहुने पक्षमा कुकी जनजाति समुदाय रहेका छन् । मणिपुरमा उनीहरुको संख्या करिब ३० प्रतिशत रहेको छ । मैतेई समुदायले आरक्षण पाए कुकी समुदायले सरकारी र शैक्षिक संस्थानमा पाउने अवसरबाट बञ्चित हुने भन्दै उनीहरुले अदालतको निर्णयको विरोध गरिरहेका हुन् ।

उक्त राज्यमा ‘नेपाली समुदाय’का रूपमा चिनिने नेपालीभाषीलाई नै लक्षित गरेर आक्रमणहरू गरिएको विवरण आएको छैन । तर एक अर्काको विरोधी बनेका दुई पक्षको द्वन्द्वमा आफूहरू ‘पिसिने अवस्था आउन सक्ने डर पैदा भएको’ नेपालीभाषीहरूले बताएका छन् ।
हिंसा बढेपछि त्यहाँ सरकारले सुरक्षा फौजलाई मानिसलाई देख्ने बित्तिकै गोली हान्ने आदेश दिएको छ ।
मणिपुरको राजधानी इम्फालमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षक एवम् एकजना नेपालीभाषी लेखक भवानी अधिकारीका अनुसार मणिपुरमा पहाडी क्षेत्रमा बसोबास गर्ने जातिलाई अनुसूचित जातिमा सूचीकृत गरिएको छ । उनका भनिन्, ‘हालसम्म त यहाँ हिंसा भए पनि नेपाली भाषी समुदायलाई खासै दुवै पक्षले केही गरेको सुन्नमा आएको छैन । तर हाम्रो बसोबास दुवै जातिको बीचमा छ्यासमिस छ । त्यसैले कसैको बीचमा बोल्न पनि हामीलाई गाह्रो छ ।’
पूर्वोत्तर भारतका प्रायः सबैजसो राज्यमा नेपालीभाषीहरूको बसोबास रहेको छ ।
लेखक अधिकारीका अनुसार सन् २०११ को जनगणनाले उक्त राज्यमा ६३ हजार नेपालीभाषीहरू रहेको देखाएको थियो ।
मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु र सेनाको गस्ती :
हिंसा अन्त्यका लागि भारत सरकारले केन्द्रीय सुरक्षा फौजलाई उक्त राज्यमा पठाएको छ भने त्यहाँ पाँच दिने कर्फ्यू जारी गरिएको तथा इन्टरनेट सेवा बन्द गराइएको छ । मणिपुरमा मानिसहरू सडकमा देख्नासाथ गोली हान्न आदेश दिइएको छ । राज्यभर कर्फ्यु र सेनाको गस्ती चलिरहेको छ ।
अधिकारीहरूले स्थिति चाँडै नियन्त्रणमा आउने बताएका छन् । यद्यपि बीबीसीसँग कुराकानी गरेका उक्त राज्यका नेपालीभाषीहरूले स्थिति साम्य हुने अवस्था अझै नदेखिएको बताएका छन् ।
बीबीसी हिन्दीका अनुसार मणिपुरको जनसंख्या लगभग २८ लाख छ ।
आदिवासी समूहबिच झडप हुँदा केही दिनयता मणिपुर अशान्त बनेको हो ।
प्रकाशित मिति २०८० बैशाख २४, आईतवार १३:४६ गते