नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ : आरजु र सुजातातर्फ पनि सोझिदै तिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ : आरजु र सुजातातर्फ पनि सोझिदै तिर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २६ गते मङ्गलबार ०७:३५

यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

सो प्रकरणमा पक्रउ पर्नेको कुल संख्या १० पुग्यो : काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्णसँग बयान लिएर छाडियो

काठमाडौं– भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी भएको प्रहरीले वैशाख २६ गते बताएको छ ।
पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
बिचौलियाको भूमिका खेलेको आरोप लागेका केसी र चौधरीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनु भयो । उहाँका अनुसार सो प्रकरणमा पक्रउ पर्नेको कुल संख्या १० पुगेको छ ।
यसअघि पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरूको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी भनाइ छ ।
यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।
टोपबहादुर रायमाझी भने फरार छन् । आजै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सातदोबाटोस्थित उनको घरमा पुगेको भए पनि उनी फेला परेनन् । उनलाई प्रहरीले खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले समेत रायमाझीको खोजी गर्न टोली परिचालन गरेको जनाएको छ ।
उनी भारत पुगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत परिचालन भएको छ । ब्युरोको टोलीले २३ गतेदेखि उनको खोजी गरिरहेको छ । यद्यपि उनी कहाँ छन् भन्ने खुलिसकेको छैन ।
रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । वारेन्ट जारी भएपछि उनका छोरा पक्राउ परेपनि रायमाझी ‘फरार’ रहँदै आएका छन् ।
यो प्रकरणलाई संगठित अपराधको कसूरमा प्रहरीले अनुसन्धान गरेको जनाएको छ ।
काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीमा : बयान लिएर छाडियो
यसैबीच, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफै काठमाडौँ प्रहरी परिसर पुगेको खुल्न आएको छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिमाथि अनुसन्धान जारी राखेका बेला खाणलाई पनि पक्राउ पुर्जी जारी गर्न प्रहरीमाथि दबाब परिरहेका बेला उनी बैशाख २५ गते साँझ खाण आफै बयानका लागि काठमाडौँ प्रहरी परिसर पुगेको प्रहरी स्रोतले बतायो । स्रोतले भन्यो, ‘पक्राउ परेका व्यक्तिले उहाँको नाम पोलेपछि सोधपुछका लागि बोलाएका थियौँ । सुरुमा उहाँले आउन आनकानी गरेपछि पक्राउ गर्छौँ भन्यौँ, त्यसपछि उहाँ आफै आउनुभएको हो ।’
खाणलाई प्रारम्भिक रूपमा सोधपुछ गरिएको प्रहरीले जनाएको छ । सोधपुछपछि ‘बयान कागज’ गराएर छाडिएको प्रहरी स्रोतको भनाइ छ । खाणलाई प्रहरीले चाहेको बेला उपस्थित हुने गरी कागज गराएर छाडेको खुलेको छ।
सो प्रकरणमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको इच्छाअनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको प्रहरीसामु बयान दिएको स्रोतको भनाई छ ।
हाल उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पक्राउ गरेको थियो । खाण गृहमन्त्री बनेको एक महिनापछि टेकनारायण पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा भएका थिए ।
२०७४ फागुन १४ देखि २०७८ असार २८ गतेसम्म रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । त्यसपछि २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म खाण गृह सम्हाल्न पुगेका थिए । बादलको भन्दा निकै छोटो कार्यकाल गृह मन्त्रालयमा बिताएका खाणले गिरोहसँग बलियो उठबस गरेको अनुसन्धानले देखाएको स्रोतको दावी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गत चैतमा पक्राउ परेका सानु भण्डारीले अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान ‘होल्ड’ भएको थियो ।
अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए । बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेपछि एक हप्ता बयान होल्ड गरेर फेरि लिइएको हो ।

आरजु र सुजातातर्फ पनि सोझिदै तिर :
त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई समेत पैसा बुझाएको भनेर गिरोहसँग भएको मोबाइल कुराकानीको अडिओ भेटिएपछि प्रहरीले त्यसको अनुसन्धान गरिरहेको बताएको छ ।
ठगी गिरोहका नाइकेहरु कांग्रेस नेत्री सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा नेताहरूले पैसा लिएर पनि काम नगरेको बयानका क्रममा बताएका थिए ।
उक्त प्रकरणमा एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएका उनीहरुले एक अर्ब ठगी गरेको खुलेको छ ।

प्रकाशित मिति २०८० बैशाख २६, मंगलवार १९:३५ गते
हजुरको प्रतिक्रिया