जुमडाँडा(दोर्दी)– लमजुङको ऐतिहासिक थलो जुमडाँडाको वास्तविक इतिहास, महत्व, विशेषताबारेमा प्रचारप्रसार गर्नका लागि यहाँ एक विशेष भेलाको आयोजना गरियो । ऐतिहासिक जुमडाँडा संरक्षण एवम् प्रवर्द्धन समितिको आयोजनामा बैशाख २५ गते सो भेला गरिएको हो ।
ग्रामीण पर्यटनको हब बनिरहेको लमजुङमा त्यस्तै अर्को पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको ऐतिहासिक थलो हो– जुमगढी । त्यो थलो जिल्लाको पूर्वी क्षेत्रमा रहेको दोर्दी गाउँपालिका– ६ मा रहेपनि वडानं– ४ को सीमा क्षेत्र पनि त्यही पर्दछ । सो थलोमा बाइसे चौबीसे राजाको पालामा खुलाल गुरुङका पुर्खा राजा रहेको केही प्रमाण फेला परेको छ । सो चिनारी कार्यक्रम दोर्दी गाउँपालिकाका अध्यक्ष एवम् पर्यटनकर्मी युवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमका प्रमुखअतिथि अधिकारीले मन्तव्यका क्रममा सो स्थानको उत्खनन् वा पुनःनिर्माणका लागि पुरातत्व विभागले चासो देखाएको बताउनु भयो । उहाँका अनुसार यसअघि विभागमार्फत १० लाख रुपैयाँको काम भइसकेको छ भने यो वर्ष १६ लाख रुपैयाँको टेण्डर भएकोमा त्यसमा कसैको पनि टेण्डर नपरेको अवस्था रहेको पुरातत्व विभागको त्यो बजेट घले गढीको मात्र हो भन्ने थियो । उहाँले भन्नुभयो, ‘हैन, यहाँका सबै गढी उही महत्वका भएको हुँदा सबैको काम सँगसँगै हुनुपर्छ गाउँपालिकोतर्फबाट भनेका छौं ।’
अध्यक्ष अधिकारीले जुमडाँडाको जुमगढीमा खुलाल र घलेको गढी छ भने केही तल पाण्डे गढी रहेको र अर्को भंगेरी गढी समेत रहेको जानकारी दिनु भयो । उनका अनुसार यो ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको स्थलो हो, जुमगढीबाट करिब एक घण्टा पैदल दुरीमा दाम्राङ पोखरी पुगिन्छ, त्योसँगै आधा घण्टाको दुरीमा लिपे लेक छ । उहाँले भन्नुभयो, ‘हामी यो क्षेत्रमा भेडी गोठमार्फत पर्यटन प्रवर्द्धनको तयारीमा छौंं । त्यो काम यो वर्षबाट सुरु भएको छ । यी क्षेत्रमा केही पूर्वाधारको मात्र अभाव छ, खासमा खानेपानी र शौचालयको प्रवन्ध हुने हो भने पर्यटकहरू आउन थाल्ने छन् ।’ भेडीगोठमार्फत पर्यटन प्रवद्र्धन सम्भवतः विश्वमै पहिलो कार्यक्रम हुन सक्ने आंकलन छ गाउँपालिकाका अध्यक्ष अधिकारीले दावी गर्नुभयो । आवश्यक थप संरचना थप्दै जाने सोच रहेको र त्यसतर्फ गाउँपालिका अघि बढेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । ‘यहाँ अर्को अभाव भनेको उचित प्रचार प्रसार हुन नसक्नु हो, तपाईहरू (पत्रकारहरूलाई देखाउँदै) आउनु भएको छ, अब त्यो काम पनि हुन्छ भन्ने लाग्छ, हामी योजना बद्ध रुपमा यस क्षेत्रको विकासमा लागिरहेका छौं, लाग्छौं ।’ तर यसका लागि सबैको एकताको आवश्यकता छ उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘ठूलो बजेट लाग्ने खालका कामका लागि प्रदेश र संघीय सरकारले हेर्नु पर्छ भन्ने हामीले सोच बनाएका छौं, यो क्षेत्रको डिपिआर पनि तयार हुँदैछ ।
’
जुमगढीलाई जुमकोट, जुमडाँडा पनि भन्ने चलन छ सोही क्षेत्रमा स्थायी बसोबास भएका, तत्कालील जिल्ला पञ्चायतका सभापति एवम् समाजसेवी गजबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार जुमकोटको आसपासमा रहेका हरि गाउँ, कप्लिङ, कामचौर, सिमे गाउँका स्थानीयको माग यो क्षेत्रको उत्खनन र संरक्षण गरिनु पर्छ भन्ने छ । उहाँले भन्नुभयो, ‘ऐले पनि यी चार गाउँका मानिसहरूले हरेक वर्ष चैत दशैं र बडादशैंंको समयमा आएर फूलपाती, गाईको दूध, पञ्चामृत, फलफूल आदि चढाएर कोरी पुजा गर्ने प्रचलन छ, यहाँ बली पुजा चल्दैन ।’
सो स्थानमा राजा बस्ने दरबारको अवशेष, सेन्ट्री बस्ने स्थल तथा गढी, राजाले प्रयोग गर्ने गरेका खुडा, तरबार र ढाल फेला पारी गाउँलेले सुरक्षित राखेकोमा ती सामग्री ऐले समितिको जिम्मामा रहेको समाजसेवी ७८ वर्षीय गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरू जवान छ’दा यहाँ वरपरका रुखमा जाँतो झुण्डिएको समेत देखिन्थ्यो, ऐले ती रुख ढलें, जाँतोहरू पहिरोले पुर्यो ।’ उहिले यसको महत्वका बारेमा थाहा थिएन, जुमगढीको आसपासको जंगलमा घुमेर हेर्ने हो भने अहिले पनि मान्छेका विभिन्न आकृतिका ढुंगाहरू फेला पर्छन् गुरुङले उल्लेख गर्नुभयो ।
गजबहादुर गुरुङले थप भन्नुभयो, ‘हरि राजाको ६/६ हात लामा दुवैतर्फ जुँघा थिए रे ! त्यही समयदेखि ‘जुंगाको मान राख्ने’ भन्ने चलन चल्नुको साथै लामो जुंगा भएको हुँदा यो जिल्लाको नाम लमजुङ नामाकरण भएको र त्यस्तो भूमिका खेल्ने अरु कोही नभएर हरि राजा नै भएको बुढापाकाको मुखबाट आफूले सानैदेखि सुन्दै आएका छौं ।’ उहाँका अनुसार यहाँका विशेष महत्वका वस्तु र इतिहास नुवाकोटमा लगेर राखेको एरिया थाहा पाएको छु । हामी त्यहाँ गएर यसको यतिहास खोज्ने तउारीमा छौं, ती सबै कुरा निकट भििवष्यमा प्रकाशन हुने स्मारिकामा हामी समेट्छौं । 
हरिगाउँलाई गुरुङ भाषामा चेँनासा भनिन्छ, ‘चे’ भनेको सामग्री र ‘नासा’ भनेको गाउँ हो । त्यसलाई खस अर्थात नेपाली भाषामा हरिगाउँ भनिन्छ । यो खुलालकै अन्तिम राजा हरि खुलालको नाउँमा रहेको हो भन्ने भनाई बढापाकाबाट आफूहरूले सुन्दै आयुँको समाजसेबी गजबहादुर गुरुङले उल्लेख गर्नुभयो ।
सो गाविसका पूर्वअध्यक्ष गोरे गुरुङले यहाँको सही इतिहास भन्न सक्ने मानिसको खाँचो छ । त्यसको खोजीमा सबै मिलेर लाग्नु पर्ने भएको छ । यसको संरक्षणको अभावले पनि समस्या आएको हो, संरक्षणमा पनि ध्यान पु¥याउनु पर्छ उहाँको जोड थियो ।
त्यस्तै, दोर्दी गाउँपालिका– ६ का वडाध्यक्ष नन्दराज घलेले आफूहरूका बीचमा कुनै द्वन्द्व नभएको र यहाँको विकास एकमात्र चाहना रहेको हुँदा सबै मिलेर अघि बढौं भन्नुभयो ।
जुमगढीको आसपासमा यौटा बोल्ने ढुंगा समेत रहेको र त्यसको उत्खनन गर्नु पर्ने स्थानीयले तीनै तहका सरकारसँग माग गरेका छन् । २०७२ सालको भूकम्पका कारण चलेको पहिरोमा परी त्यो ढुंगा पुरिन गएको स्थानीयको भनाइ छ ।
सो जुमगढी उत्तर पूर्वतर्फको जंगलमा यौटा बोल्ने ढुंगा रहेको थियो । त्यो ढुंगा एक्लो मानिस फेला पर्नासाथ विभिन्न आवाजमा कराउने गर्दथ्यो । तर उसको भाषा भने बुझिदैनथ्यो । दुईजना मिलेर ऊ भएको ठाउँमा जान हुँदैनथ्यो । त्यसरी दुई जना गयो भने एक जनाको मृत्यु हुन्थ्यो । त्यसैले दुई जना भएर सो ढुंगा छेउ जान डराउथें, जादैनथे, जुमगढी क्षेत्र संरक्षण समितिका अध्यक्ष मेखराज गुरुङले बताउनु भयो । उहाँका अनुसार त्यो ढुंगालाई २०७२ सालमा आएको भूकम्पबाट चलेको पहिरोले पुरिदिएको छ । उहाँले भन्नुभयो, ‘त्यसैले यसको उत्खनन कार्य गर्न आवश्यक रहेको हुँदा त्यसका लागि उचित वातावरण मिलाउन वा दबाब दिनका लागि पत्रकार सहितको टोलीलाई यो क्षेत्रको अवलोकन भ्रमण सहित यो कार्यक्रम गरेका हौं ।’
समुद्र सतहदेखि जुमगढीको उचाई दुई हजार पाँच मिटर रहेको हरि गाउँका ६१ वर्षीय वीरसिंह गुरुङले बताउनु भयो । उहाँका अनुसार पछिल्ला वर्षमा जुमगढीको इतिहास बङ्ग्याउने काम गरिएकोमा हामीलाई दुःख लागेको छ । उहाँले भन्नुभयो, ‘हामी पहिलेदेखिको स्थानीय मान्छेसँग नबुझी यसअघि आएका पत्रकारहरूले पनि जथाभावी लेखिदिए, आज हामीले त्यसको सच्चा इतिहास बताउने उद्देश्यले जिल्लाका पुराना, अनुभवी पत्रकारहरूलाई समेत बोलाएर यो कार्यक्रम राखेका हौं ।’
जुमकोटका अन्तिम राजा हरि खुलालसँग पृथ्वीनारायण शाहले वार्ता गरेर एकीकरण गर्न सफल भएको भन्ने आफ्ना बाजेहरूबाट सुनेको उहाँले बताउनु भयो । उहाँका अनुसार ‘उहिल्यै एक जना गर्भवती महिला यहाँका राजाको शरण लिन आइछन् । त्यो खबर राजाकोमा पुगेपछि ‘के कस्तो मान्छे हो ?’ भन्दा ‘गर्भवती महिला !’ त्यो थाहा भए पछि राजाले बोलाएर उनलाई शरण दिई उनको कोखबाट छोरा भएमा छोरी दिएर ज्वाई गरी राख्ने र छोरी भएमा बुहारी बनाउने भन्ने सर्तमा ती महिला राजाको दरबारमा बसिछन् ।’ वीरसिंह गुरुङले भन्नुभयो, ‘ती महिलाको छोरा भएछ । त्यसपछि ती छोरीको साप्री घलेसँग विवाह गरी दिएर हरि गाउँ नजिकको खर्क गुरुङ भाषामा ‘आयुँ’मा काचोपात लगाउन र तमाखु बनाउन चाहिने खुदोका लागि महभिरबाट मह काडेर तमाखु बनाई खानु भनेर ती दुवै ठाउँ ती ज्वाईलाई ‘दाइजो’ दिएको थलो आजसमेत रहेको छ ।’
‘साप्री घले र हामी कुटुम्ब हो, हामी बीचमा कुनै वैमनस्य छैन । जुमगढीमा गरिएको पुजाको प्रसाद दुवैथरीले एकआपसमा बाडेर खाने चलन आज पनि छ । ‘यो इतिहासले पनि खुलालभन्दा अघि घले राजा थिए भन्ने झुठ हो’ उहाँले दावी गर्नु भयो । उहाँको स्वरमा सो कार्यक्रममा उपस्थित भएका गाउँलेहरूले ‘एक स्वरमा ‘सत्य कुरा यही हो’ भने ।
जुमगढीमा आध्यात्मिक शक्ति समेत रहेको भन्ने गाउँलेको विश्वास रहेको सो थलोमा पुजारी भएर तीन पुस्ता बिताई सकेका पुजारी सार्की गुरुङले बताउनु भयो । उहाँका अनुसार सो गढीमा बली दिन हुँदैन, कुनै प्रकारको जुठो वा फोहर गर्न हुँदैन । उहाँले भन्नुभयो, ‘फोहर, जुठो, रगतको लसपस आदि गर्यो भने तत्कालै हिउँदका दिनमा क्षणभरमै असिना पानी पर्न थाल्छ । बडादशैंको बेलामा पानी परेर होम आहुती गर्नका लागि आगो बाल्न समेत कठिन हुने हुन्छ ।’ सार्की गुरुङका बाजेले एक पटक जिद्धि गरी हतियारलाई चढाइने बली र गढीको पुजा एक साथ बली दिएर गराएछन् । त्यसपछि उनी लामो समयसम्म बिरामी परेछन् । उनलाई कसै गर्दा पनि निको भएन । उपचारकै क्रममा करिब तीन वर्ष बिते छ । त्यसपछि जुमकोटमा गएर क्षमा पूजा गरेपछि उनलाई ठीक भएछ । त्यसपछि हतियारलाई गाउँहरूले आफ्नै साथमा राख्ने र त्यसलाई बली चढाएर पूजा गर्ने र गढीमा कोरी पूजा गर्न प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।
जुमडाँडाको संरक्षण तथा पहिचानका लागि ऐतिहासिक चिनारी दिन आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्दै त्यसको उद्देश्यमा प्रकाश पार्दै स्थानीय सामाजिक कार्यकर्ता मिलनकुमारी गुरुङले हामी चुप बस्ने हो भने हाम्रो शेषपछि यसअघि प्रचारमा आएको झुठ कुरा नै सत्य हुनेछ । त्यस्तो अफवाह र भ्रम चिर्नका लागि पनि हामी चारैतिर छरिएर रहेका खुलाल बन्धुहरू एक हुन आवश्यक छ भन्ने आह्वान गर्नु भयो । उहाँले भन्नुभयो, ‘यो कार्यक्रमको मुल उद्देश्य जमकोटको सत्यतथ्य इतिहासलाई उजागर गर्ने, प्रचार गर्ने, संरक्षण गर्ने र त्यस्तो ऐतिहासिक तथ्य समेटिएको एक स्मारिकाको प्रकाशन गर्ने हो ।’
बयोबृद्ध समाजसेवी विराज घलेले सहितको आ–आफ्नो धारणा राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन स्थानीय युवा सुकबहादुर गुरुङले गर्नु भएको थियो । कार्यक्रम सञ्चालनका क्रममा उहाँले अब भने यो क्षेत्रले न्याय पाउने छ भन्ने विश्वास जागृत भएको उल्लेख गर्नु भयो । सो कार्यक्रममा हरिगाउँ लगायतका असपासका खुलाल गुरुङ आमा समूहका आमा दिदी बहिदीहरूलाई पाहुनाहरूको स्वागत गर्ने र गुन्द्रुक, भट्ट र सेलरोटीका साथै चिसोसहितको खाजाको प्रवन्ध गर्नु भएको आयोजकले बताएका छन् ।
उक्त कार्यक्रम पछि दाम्राङगढीको अवलोकन भ्रमण गरिएको थियो ।
प्रकाशित मिति २०८० बैशाख २७, बुधबार १३:२२ गते