
दुईपिप्ले(लमजुङ)– लमजुङमा आदिकवि भानुभक्त र उनका प्रेरणा स्रोत मानिएका घाँसीका बीच भएको सम्वाद पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्ले स्थित रिस्ती खोलाको बुद्धि रह (पौडी पोखरी)सँगै भानु– घाँसीको मुर्तिसहितको पार्क निर्माण गरिएको हो । पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको पार्क निर्माण एवम् संरक्षण समितिले जनाएको छ ।
उक्त पार्क निर्माणका क्रममा खासगरी भानु– घाँसीको मुर्चि र चौतारा निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ र मध्यनेपाल नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको भानु– घाँसी सम्वाद पार्क उपभोक्ता तथा संरक्षण समितिका अध्यक्ष केशव वाग्लेले बताउनु भयो । उहाँका अनुसार पहिले भानु– घाँसीको मुर्ति नै राखौं भन्ने निष्कर्षमा समिति पुग्यो, अन्य निर्माणका काम क्रमशः हुन्छन् । उहाँले भन्नुहुन्छ, ‘यहाँको रिस्ती खोला स्थित बुद्धि रहमा पौडी खेल्ने, पिक्निक स्पोटका साथै बालबालिका, युवायुवती, जेष्ठनागरिक सबैको अपनत्व हुने गरी संरचना निर्माण गर्ने तयारी गरेका छौं ।’
ऐलेसम्म मानिसहरूले यस पार्कका बारेमा कुरा गर्दा गफ हो, भन्ने र विश्वास नगर्ने स्थिति उत्पन्न भएको थियो, अब भने त्यस्तो कुरा काट्नेहरूको मुख बन्द हुन थालेको अध्यक्ष वाग्लेको भनाइ छ । उहाँले भन्नुभयो, ‘पार्क निर्माणका लागि पूर्वप्रधानपञ्च समेत रहनु भएका समाजसेवी गेहनाथ वाग्लेले यो पार्क निर्माणका लागि जग्गा दान दिनु भएको हो ।’ भानु र घाँसीको सम्वाद मिथ्या हो भन्ने पनि यदाकदा सुनिन्छ तर त्यो सत्य होइन वाग्लेले दावी गरे ।
उहाँका अनुसार हाम्रै जिजुबाजे दण्डपाणि शर्मा वाग्ले मध्यनेपाल नगरपालिका– २ को तान्द्राङ टक्सारमा रहेको नाग भैरवको पुजारी रहेको र ऐले पार्क रहेको स्थल नजिक पुजारीको खेत रहेको, त्यो खेत र त्यसमा हुने खेती तथा घाँसको रेखदेख तथा व्यवस्थापनको काम उनै घाँसीका पुर्खाले गरेको इतिहास भेटिएको छ । उहाँले भन्नुभयो, ‘त्यसैले पनि तनहुँको भानु नगरपालिका– ७ को पाजतलमा घाँसी कुवा रहेको र सो स्थलो भानु नगरपालिकासँगै जोडिएको रिस्ती खोला किनारमा यो सम्वाद भएको हो ।’
भानुभक्तको मावली लमजुङको हाल मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा जाने बाटो पनि यही भएको हुँदा यहाँ भानु र घाँसीको सम्वाद भएको हो÷थियो भन्ने सहजै आंकलन गर्न सकिन्छ उक्त पार्क निर्माण समितिका सचिव शोभाकर घिमिरेले बताउनु भयो । उहाँका अनुसार मानिसहरूको सत्यतथ्य खोज्नेतर्फ भन्दा पनि आफ्नो सोच अनुसारको अर्थ लगाउनेतर्फ उद्दत हुने प्रवृत्ती भएको हुँदा पनि आशंका बढ्न गएको हो । उहाँले भन्नुभयो, ‘धेरै जसो पुरानापाका मानिसहरू बितेर जानु भो, तर उहाँहरूले त्यो बेला भोगेर सुनाएका भानु– घाँसीका जीवनका घट्नाहरू यहाँ घरघरै जस्तो सुन्न पाइन्थ्यो ।
’
करिब १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्कलाई बालबालिका, युवायुवती, जेष्ठ नागरिक सबैको अपनत्व हुने गरी निर्माण गरिने भएको र निर्माणको काम चरणबद्ध रुपमा अघि बढेको सो पार्क निर्माण समितिले जनाएको छ । घाँसी मगरजातिका मानिस भएको बालकृष्ण समको ‘भक्त– भानुभक्त’मा समेत उल्लेख छ, यस्ता विषयमा बिना अध्ययन बोल्न नहुने पार्क संरक्षण समितिका अध्यक्ष वाग्लेको तर्क छ ।
यो दुईपिप्ले क्षेत्रमा करिब एक सय घर बोटे र तीन सय जति घरपरिवार कुमाल जातिको बसोबास छ । ती टोलमा होमस्टे सञ्चालन गरी यो पार्कमा आउनेहरूलाई खान बस्न तथा खाजाको प्रवन्ध गर्ने योजनामा छौं सोही समितिका कोषाध्यक्ष शारदा वाग्ले शर्माले बताउनु भयो । उहाँका अनुसार यो पार्कले भानु र घाँसीका बारेमा लुकेका धेरै पाटाहरूको खोजी कार्य गर्न समेत सहज हुने आंकलन गरिएको छ । उहाँले भन्नुभयो्, ‘मध्यनेपालको थलो समेत यही दुईपिप्लेमै भएको हुँदा यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना छ हामी त्यो गृहकार्यसहित प्रचारप्रसारमा समेत जुटेका छौं ।’
भानु– घाँसी सम्वाद चौताराको शिलान्यास मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले गर्नु भएको हो । अब यो मुर्तिको रङ्गरोकन सहितका काम सकेपछि सम्भव भएमा आउँदो भानु जयन्तीमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट यो चौताराको विमोचन गर्ने योजनामा छौं उक्त पार्क संरक्षण समितिका सदस्य स्वकिला कोइरालाले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८० बैशाख २८, बिहीबार १७:४४ गते