काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट बैशाख ३१ गते साँझ पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रायमाझी अघिल्लो दिनमा मात्र काठमाडौं आएका थिए । रायमाझीविरुद्ध भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरू बताउँछन् ।
उनी पक्राउ पुर्जी जारी भएको ११ औं दिन पक्रिएका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरूले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पूर्जी जारी भएको दिन राति ९ बजे उनी भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । त्यहीबेला उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर करिब १५ मिनेट कुराकानी गरेका थिए । त्यसक्रममा रायमाझीले आफूविरुद्ध पक्राउ पूर्जी जारी भए÷नभएकोबारे बुझेका थिए ।
जवाफमा कुँवरले ‘आफूलाई त्यसबारे थाहा नभएको बताउँदै सम्बन्धित प्रहरी परिसरका प्रमुख वा त्यहाँका अधिकृतसँग सम्पर्क राख्न’ भनेको स्रोत बताउँछ । आईजीपीसँगको कुराकानीमा रायमाझीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका थिए । अनुसन्धानमा सहयोग गर्न आफैं प्रहरी समक्ष उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्नु भएका टोपबहादुरमा काठमाडौं पुग्ने आँट आएन । उनले प्रयोग गरेको प्रदेश ३–०१–०२२ च–०५८२ नम्बरको गाडी भने चालकले लिएर एक्लै काठमाडौै आएका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । उनीहरूको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतको दावी छ ।
रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको प्रहरी बताउँछ । तर, रायमाझीले महानिरीक्षक कुँवरसँग आफूहरूसँग त्यस्तो कुनै चेक नआएको भन्दै फसाउन खोजिएको दाबी गरेका थिए । सानु भण्डारी गाउँले भएकाले चिनजान भएको बताउँदै अरु सिलसिलामा भेट भएको विषयलाई तोडमोड गरेर फसाइएको दाबी महानिरीक्षक कुँवरसमक्ष उनले गरेका थिए ।
अर्का आरोपी केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको निजी सचिव थिए । ‘त्यतिबेला म पनि शान्ति प्रक्रियाको काममा संलग्न भएकाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उहाँसँग पनि भेट भइराख्थ्यो’, रायमाझीले प्रहरी प्रमुखसँग दाबी गरेका छन्, ‘त्यहीक्रममा चिनजान भएपछि सम्पर्क र भेटघाट हुन थालेको हो, मैले गलत उद्देश्यले केही गरेको छैन ।’ उनले अर्कै प्रसंगमा घुम्न गोसाइँकुण्ड गएको विषयलाई पनि जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी :
यसैबीच, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले थापाविरुद्ध आजै पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।
प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा हुन् । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएसँगै प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी भनाइ छ ।
स्मरणीय छ, प्रतीकले यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पुर्जी जारी भएका इन्द्रजितका छोरा निरज राई भने फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन सुरु भएपछि निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै जनस्तर तथा राजनीतिक दलकै तर्फबाट पनि सरकारलाई दबाब दिने क्रम जारी रहेको छ ।
सो प्रकरणमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राख्न हिजै अनुमति दिएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ १, सोमबार ०४:४३ गते