
पोखरा– वरिष्ठ साहित्यकार, संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको दोस्रो स्मृति दिवस यहाँ विशेष कार्यक्रमका बीच गरिएको छ । हिमाली सांस्कृतिक परिवारद्वारा आयोजित स्मृति सभाका वक्ताले कार्कीलाई स्वाभिमान जोगाउँदा ओझेलमा परेका प्रतिभाका रुपमा चिनाएका थिए ।
हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक रहेका कार्कीको स्मृतिमा निर्माण गरिएको ‘चेतन कार्की स्मृति कक्ष’मा आयोजित सभाका वक्ताले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको कला, साहित्य संस्कृति संरक्षणमा चेतन कार्कीले पुर्याएको योगदानको उचित कदर हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले सांस्कृतिक कार्यक्रम गरेर आजको पोखराको महेन्द्रपुल पहिलो चोटी बनाउनका लागि पहिलो सांस्कृतिक कार्यक्रम गरेर निर्माण गरेको स्मरण गर्दै वडा नं. ९ ले हिमाली सांस्कृतिक परिवारको अग्रसरतामा महानगर विद्यालयस्तरीय चेतन कार्की स्मृति विशेष कार्यक्रम आयोजना गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले चेतन कार्कीका विविध आयामबारे चर्चा गर्दै कार्कीले लेखेको ‘आत्मा बेचेको छैन’ उपन्यासका माध्यमबाट नेपाली आख्यान साहित्यमा दिएको योगदानको जति चर्चा हुनुपर्ने थियो त्यो नहुनु दुःखद भएको बताउनु् भयो । उहाँले स्वाभिमानका खातिर दुःख भोग्न तयार हुने चेतन कार्कीले स्वाभिमान नजोगाएको भए धेरै महत्वपूर्ण अवसर पाउने व्यक्तित्व भएको स्मरण गर्नुभयो ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कार्कीको छत्रछायामा आफूँ विभिन्न प्रतियोगितामा सहभागी भएको स्मरण गर्नुभयो । २०५० सालदेखि कार्कीको कला कौशलतालाई नजिकैबाट चिनेको र संस्कृतिविद्को पनि अभिभावक कार्की भएको उहाँको तर्क थियो ।
जनकवि धर्मराज– सावित्री थापा स्मृति प्रतिष्ठानका संरक्षक कुञ्जराज थापाले संस्कृतिको गाँठो निकै गहिरो र बलियो हुने बताउनु भयो । आफूले कक्षा– ७/८ पढ्दादेखि चेतन कार्कीलाई चिनेको र सीमित व्यक्तित्वसँग मात्र देश राज्यलाई र समाजलाई जोड्ने प्रतिभा हुने ती मध्येका एक प्रतिभा कार्की भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, वरिष्ठ उपाध्यक्ष गजबहादुर गुरुङ, सचिव मनबहादुर गुरुङलगायतको चेतन कार्कीले हिमाली सांस्कृतिक परिवारलाई आजको अवस्थासम्म ल्याउन पु¥याएको योगदान, व्यक्तित्व र कृतित्वबारेमा प्रकाश पार्नु भएको थियो ।
– असफल गौतमको सहयोगमा ।
प्रकाशित मिति २०८० जेष्ठ ४, बिहीबार ०५:२८ गते