विद्युतीय झड्काका कारण हात नै गुमाएका छात्रलाई छात्रबृत्ति घोषणा

विद्युतीय झड्काका कारण हात नै गुमाएका छात्रलाई छात्रबृत्ति घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ४ गते बिहिबार ०६:५२

२०७९ सालको बैशाख महिनामा उनलाई करेन्ट लागेर हात गुमाउनु परेको हो । उनले उपचारसमेत राम्रोसँग पाउन नसकेको देखिन्छ । उनको हातमात्र गुमेको छैन । त्यो हात तर्फको शरिरको पुरै अंग जलेको छ, गोडासम्मै । उनी रातको समयमा समेत ‘दुख्यो ! भनेर कराउने गर्दछन् तर उपचार गर्ने पैसा छैन’ उनकी आमाको भनाइ छ ।

निमुखा तामाङलाई अझै पनि विद्युत प्राधिकरणले क्षतिपूर्ति दिएको छैन

भोटओडार(लमजुङ)– बेसीशहर नगरपालिकाको ल्याण्डफिल्ड साइटमा खेल्ने क्रममा विद्युत प्राधिकरणबाट बेवारिसे छोडिएको विद्युतीय तारबाट करेण्ट लागेर एउटा हात गुमाएका छात्रले छात्रबृत्ति पाउने भएका छन् । जेष्ठ नागरिक समाज, भोटेओडार, लमजुङले राजशान्ति शैक्षिक छात्रवृत्ति पुरस्कार प्रदान गर्ने निर्णय जेठ ३ गते गरेको हो ।
बेसीशहरको बालमान्दिर आधारभूत विद्यालयमा कक्षा– ५ मा अध्ययनरत छात्र बुद्धिबहादुर तमाङले सो छात्रबृत्ति पाउने भएका हुन् । उनलाई जेष्ठ नागरिक समाज, भोटेओडार, लमजुङले राजशान्ति शैक्षिक छात्रवृत्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको भोटेओडार निवासी वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरले बताउनुभएको छ । उहाँका अनुसार समाजका नि. अध्यक्ष नारायणप्रसाद ढकालको अध्यक्षतामा बसेको समाजको बैठकले सो निर्णय गरेको हो । उहाँले भन्नुभयो, ‘समाजले उक्त छात्रवृत्तिबाट निजलाई कक्षा– १० सम्म पढिञ्जेल मासिक पाँच सय रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइने छ ।’
सो छात्रवृत्ति संचालनका लागि राजशान्ति सुनार दम्पतिले ५० हजार रुपैयाँको अक्षय कोष राखी दिनु भएको समेत कुँवरले जानकारी दिनुभएको छ ।
निमुखा तामाङले अझै पनि क्षतिपूर्ति पाएका छैनन् :
यसैबीच, पहुँच नभएका नावालक बुद्धिबहादुर तमाङले उपचारसमेत राम्रोसँग पाउन नसकेको देखिन्छ । उनले अझै पनि विद्युतीय झड्काका कारण हात गुमाउँदा पनि पूर्णउपचार र त्यसको खर्च तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । उनका बारेमा बोलिदिने कोही नभएका कारणले उनले क्षतिपूर्ति पाउन नसकेका ह्न् । २०७९ सालको बैशाख महिनामा उनलाई करेन्ट लागेर हात गुमाउनु परेको हो । उनको हातमात्र गुमेको छैन । त्योहात तर्फको शरिरको पुरै अंग जलेको छ, गोडासम्मै । उनी रातको समयमा समेत ‘दुख्यो ! भनेर कराउने गर्दछन् तर उपचार गर्ने पैसा छैन’ उनकी आमाको भनाइ छ ।
तामाङको सो परिवार बेसीशहर नगरपालिका– ८ को कर्पुरेश्वर महादेव मन्दिर नजिक मर्स्याङ्दी नदी किनारका अर्काको जग्गामा टहरो हालेर ज्याला मजदुरी गरी गुजारा गर्दै आएको छ । बुद्धिबहादुर तमाङको परिवारमा उनका पिता, आमा, एक एक जना दाजु, दिदी र भाइ छन् ।

प्रकाशित मिति २०८० जेष्ठ ४, बिहीबार ०६:५२ गते
हजुरको प्रतिक्रिया