
दोर्दी(लमजुङ)– ग्रामीण पर्यटन प्रवर्द्धनका लागि लमजुङका तीन र गोरखाको एक पालिकाको ऐक्यवद्धता जनाएका छन् । त्यसका लागि बुद्ध हिमाल–हिमालचुली–ग्रेटलेक सर्किट ट्रेल बनाउने सहमतिका साथ तदर्थ समिति समेत जेठ ३ गते गठन गरिएको छ ।
ती पालिकाको सो अभियान सफल बनाउनका लागि ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने भएको छ । दोर्दी गाउँपालिका कार्यालयमा भएको स्थानीय तह प्रमुखहरूसंगको बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम निर्धारण गरेको सो गाउँपालिकाका अध्यक्ष एवम् पर्यटनकर्मी युवराज अधिकारीले बताउनु भयो । विगतको डेढ दशकदेखि पर्यटनका क्षेत्रमा विभिन्न अनुभव हासिल गर्दै आएका अध्यक्ष अधिकारीको पहलमा यसअघि पनि ती पालिकाहरूका बीचमा बैठक भएको थियो । तर त्यो कार्य उपलब्धी मूलक हुन सकेन तर ऐले म आफै अध्यक्षमा आएपछि यो गर्नु पर्छ भनेर आफैले बैठकको संयोजक गरेको हुँ उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो अभियानमा गोरखाको सुलीकोट बाह्रपाक गाउँपालिकाका साथै मनाङको नासों गाउँपालिकालाई समेत समेट्ने योजना छ ।
उहाँले भन्नुभयो, ‘हामी तत्कालै यसको डिपिआर तयार गर्छौं र सम्भाव्यताका बारेमा ब्रोसर सहितको विशेष घोषणा कार्यक्रम आउँदो जनवरीमा गर्ने सहमति भएको छ ।’
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको बैठकमा बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेलको लागि गोरखाको अजिरकोट गाउँपालिका, लमजुङको दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिका बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी र उत्तरी क्षेत्रहरूमा रहेका दुधपोखरी, दोर्दी र मर्स्याङ्दी गाउँपालिकालाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाईएको टानका अध्यक्ष निलहरि बास्तोलाले बताउनु भयो । टानसँग विगतका ४५ बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको अनुभव छ ।
बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेल निर्माणका लागि अजिरकोट र दुधपोखरी गाउँपालिकाको सिमानामा राइनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सिमानामा बेसीशहर नगरपािलका भएकाले राइनास र बेसीशहर नगरपालिकालाई साझेदारी र सहकार्य गर्नका लागि अनुरोध गरिने भएको बास्तोलाले बताउनु भयो । उहाँका अनुसार मनाङको नासों गाउँपालिकालाई समेत यस कार्यमा जोड्ने निर्णय गरिएको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा उक्त सर्किट ट्रेल निर्माणका लागि समन्वय समिति निर्माण गरिएको छ । समितिको सदस्यहरूमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देपकोटा, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहनु भएको छ ।
मनाङमा सडक नजादासम्म अन्नपूर्ण चक्रीय पदमार्ग २१ दिनको थियो । त्यो ऐले ४– ५ दिनमा झरेको छ । हामी त्यही रुटको वैकल्पिक पदमार्गको खोजीमा थियौं, त्यो ध्वस्त भएको पदमार्गको ठाउँ यसले पूर्ति गर्छ, हुन्छ भन्ने विश्वास जागृत भएको छ समन्वय समितिका संयोजक युवराज अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार हामी दुईवटा रुट बनाउने सोचमा छौं– पहिलो पदमार्ग पाँच हजार मिटर उचाईको पदमार्ग मनाङलाई समेत जोडेर २१ दिनको हुन्छ भन्ने लागेको छ । उहाँले भन्नुभयो, ‘अर्को तीन हजार ३२ सय मिटर उचाईको पदमार्ग १२– १३ दिनको हुने आंकलन छ ।’
उक्त बैठकमा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, टानका अध्यक्ष निलहरि बास्तोला, दोर्दी गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, दुधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, अजिरकोट गाउँपालिका उपाध्यक्ष अनिता भुजेल, दोर्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङ, दुधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, अजिरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी, टानका उपाध्यक्ष धनबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा आफ्नो ठाउँबाट पर्वतीय पर्यटन प्रवर्द्धनमा के के गर्न सकिन्छ ? भन्ने विभिन्न छलफल गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको दोर्दी गाउाँलिकाका प्रमुख कार्यकारी अधिकृत सम्शेर गुरुङले जानकारी दिए ।
प्रकाशित मिति २०८० जेष्ठ ४, बिहीबार ०९:३३ गते