राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ गाउँपालिकास्तरमा समिति गठन गर्न जुट्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ गाउँपालिकास्तरमा समिति गठन गर्न जुट्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ११ गते बिहिबार ११:१४

रास्वपाका केन्द्रीय सदस्य लीमा अधिकारीद्वारा दोर्दी भेलाको उदघाटन । सर्वसाधारणको अवस्था बदल्नका लागि राजनीतिमा आएको दावी उहाँले गनुृभयो ।

मर्स्याङ्दी र दोर्दीमा समिति गठन, दूधपोखरीमा जेठ १२ गते र क्ब्होलासोंथरमा १४ गते समिति गठन गरिने

लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले दोर्दी गाउँपालिकामा समिति गठन गरेको छ । सो गाउँपालिकाको सेरामा आयोजित भेलामा जेठ १० गते समिति गठन भएको हो ।
रास्वपाका केन्द्रीय सदस्य लीमा अधिकारी (भरतमोहन अधिकारीकी सुपुत्री) प्रमुख अतिथि हुनुहुन्थ्यो भने सो दलका जिल्ला संयोजक धर्म केसीको सभापतित्वमा दोर्दी गाउँपालिकास्तरीय भेला भएको थियो ।
भेलाको घण्टी बजाएर उदघाटन गर्नु हुँदै लिमा अधिकारीले रास्वपाले अवलम्बन गरेको नीति, कार्यक्रम, राष्ट्रिय राजनीति, मुलुकमा व्याप्त बेथिति तथा भ्रष्टाचारले देश थिलो थिलो भएको र यो सबै ठूला र पुराना भनिने राजनीतिक दलका कारणले भएको हो भन्नुभयो । उहाँले हिजोका दिनमा भएको परिवर्तन नेताहरूका लागि मात्र भयो । अब हामी सर्वसाधारणको अवस्था बदल्नका लागि राजनीतिमा आएका हौं, रास्वपाको उदय त्यस्कै लागि हो भन्नुभयो ।
यसैगरी, जिल्ला संयोजक धर्म केसीले रास्वपाको विधान तथा सिद्धान्तका बारेमा सविस्तार वर्णन गर्नु भएको थियो । उहाँले लमजुङबासीले अब कम्तिमा एक सय युनिट विद्युत निःशुल्क पाउनु पर्छ हामी त्यो अभियानमा छौं भन्नुभयो । आजसम्म ठूला भनिएका दलले हाइड्रपावरबाट निःशुल्क सेयर पाएका कारणले यसबारेमा बोल्न सकेका छैनन् तर हामी गरेर देखाउँछौं भन्नुभयो । उहाँले हामी सबैले देख्ने र अनुभूति गर्ने गरी परिवर्तनका काम गर्नका लागि लागि परेका छौं, सबै मिलेर त्यो काम गरौं, यो सम्भव छ भन्नुभयो ।
सुन्दरबजार नगर कमिटिका अध्यक्ष श्याम केसीले सञ्चालन गर्नु भएको पालिकास्तरीय भेलामा स्थानीय युवा कमल भुजेलले समेत मन्तव्य राख्नु भएको थियो ।
दोर्दी गाउँपालिकाको सेरामा आयोजित भेलाले तदर्थ समितिमा सभापति नवराज गुरुङलाई चयन गरेको छ । त्यस्तै, उपसभापतिमा रामबाबु घिमिरे, सचिव रमेश भुजेल तथा कोषाध्यक्ष कान्ता गिरि चयन हुनुभएको छ । यसैगरी, सदस्यहरूमा कमल भुजेल, मोहनप्रसाद घिमिरे, सबित्रा बराल घिमिरे ‘ चयन हुनुभएको छ । सो समितिको केही स्थान पछि पूर्ति गरिने भएकोछ भने वडानं– १ न को सभापतिमा बिष्णुबहादुर अधिकारी चयन हुनुभएको छ ।
यसअघि, मर्स्याङ्दी गाउँपालिका खुदीमा आयोजित भेलाले सालिन व्यक्तित्वका धनी भद्रमोहन थापालाई पालिका अध्यक्षमा ८ गते चयन गरेको थियो । सो समितिको उपाध्यक्षमा भीम तामाङ चयन हुनुभएको छ भने सचिवमा चन्द्रप्रसाद घिमिरे, कोषाध्यक्षमा शोभा थापा चयन हुनुभएको छ । त्यसैगरी, समितिको सदस्यहरूमा जीवन थापा, बाबुराम थापा, कुमबहादुर तामाङ, आरोश गुरुङ, राम थापा, बशन्तबहादुर घर्ती र डिलबहादुर सुनार चयन हुनुभएको रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार वडानं ३ को सभापतिमा दीपक भण्डारी, वडानं– ८ मा भीमप्रसाद घले र वडानं– ९ को सभापतिमा सुदीप अधिकारी चयन हुनुभएको छ ।
यसैगरी, भोलि जेठ १२ गते दूधपोखरी गाउँपालिकाको भेला विचौरमा हुने भएको छ भने जेठ १४ गते क्ब्होलासोंथर गाउँपालिकाको भेला मालिङमा आयोजना गरी सो पालिकाामा पनि समिति गठन गर्ने तयारी रहेको सो दलले जनाएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ ११, बिहीबार ११:१४ गते
हजुरको प्रतिक्रिया