
भूलभूले(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ‘सफा मर्स्याङ्दी’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । विश्व वातावरण दिवसको अवसर यही जेठ २२ गते पालिकाका सबै वडा र गाउँवस्तीमा ‘सफा मर्स्याङ्दी’ अभियान सञ्चालन गर्ने भएको हो ।
अभियान अन्तर्गत गाउँपालिकाका सवै वडा, गाउँटोल, बस्तीमा सचेतना सहित बाटोघाटो समेत सरसफाई गरिने भएको छ । मर्स्याङ्दी नदी सो गाउँपालिकाको क्षेत्रमा करिब २५ किलोमिटर पर्दछ भने गाउँपालिकाको झण्डै मध्यभागबाट बहने गर्दछ । मस्र्याङ्दी गाउँपालिकाले मर्स्याङ्दी नदीमा २०७६ असोजदेखि फोहर फाल्न बन्देज लगाउँदै आएको थियो । हिमाल पारीको जिल्ला मनाङ जाने मुल बाटो तथा एक मात्र सडक पनि सोही गाउँपालिकामा पर्दछ । त्यसैले यो क्षेत्रमा पर्यटकहरूको समेत चाप हुने गर्दछ । पछिल्ला दिनमा होटल व्यावसाय बढेको, सडक र सवारीमा हिँडनेले फोहरहरू जताततै फाल्ने गरेकाले मर्स्याङ्दी नदी दिनदिनै फोहर हुँदै गएका कारण गाउँपालिकाले अघिल्लो सो नदीमा फोहर फाल्न बन्देज लगाएको थियो ।
त्यतिबेला मस्र्याङ्दी नदीलाई मात्र केन्द्रमा राखेर ‘सफा मर्स्याङ्दी’ अभियान सुरु गरिएको थियो तर अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेको अभियानमा जुटेको सो गाउँपालिका अध्यक्ष गुरुङले बताउनु भयो । उहाँका अनुसार मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभावि नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरिएको छ । त्यसरी संकलन हुने फोहरलाई कुहिने नहुने गरी छुट्याएर प्रशोधन कार्यसमेत त्यसै समयदेखि गरिएको हो ।
सो प्रयोजनका लागि गाउँपालिकाले तीन वर्ष लगाएर करिब २० लाख रुपैयाँको लागतमा फोहर प्रशोधनका लागि स्टोर सहितको संरचना तयार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताउनु भयो । उहाँका अनुसार फोहर व्यवस्थापनका लागि गाउँपालिकाले एक ट्याक्टर खरिद गरेर गाउँगाउँबाट फोहर संकलन गर्दै आएको छ ।
सफा मर्स्याङ्दी अभियानलाई सफल पार्न गाउँपालिकाले पालिकाका सबै जनप्रतिनिधी, कर्मचारीहरू, शिक्षकहरू, विद्यार्थी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरू, सामाजिक क्षेत्रमा संलग्न सम्पूर्णलाई अनुरोध गरेको छ ।
सो अभियानअन्तर्गत जेष्ठ २२ गते बिहान ८ बजे देखि १० बजेसम्म गाउँपालिकाको हरेक टोल बस्तीहरू, संघ संस्थाहरू वरपर, सार्वजनिक स्थलहरू र खोलाहरूको सरसफाई गरिने भएको छ । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन आ–आफ्नो पायक पर्ने स्थानमा सहभागी हुन सबै जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरू, सामाजिक क्षेत्रमा संलग्न सम्पूर्णलाई पालिकाले अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सड्ने खालको फोहरलाई घरघरमै व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
यसै सन्दर्भमा जेठ २४ गते विहान मर्स्याङ्दी गाउँपालिका– ३ को खुदी बजार, दिउँसो १ बजे मस्र्याङ्दी गाउँपालिका– ७ को ङादी बजार र जेठ २५ गते बिहान मर्स्याङ्दी गाउँपालिका– ४, जगतबजारमा फोहोरमैला व्यवस्थापन सम्बन्धमा स्थानीयसंग अन्तरक्रिया एवम् बहस कार्यक्रमको आयोजना गरिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार फोहर व्यवस्थापनका लागि गाउँपालिकाले खर्च नगर्ने बरु आम्दानीको स्रोत बनाउने सोच अनुसार कार्यक्रम बनाइएको छ । ऐले पनि संकलन भएका प्लास्ष्टिक जन्य चाउचाउ, तक्लेट आदिका खोज बाहेक वियर, पानी, रक्सीका बोलतहरू, कपडा, फलाम, भाँचिएका कुर्चि आदि सबै कवाडीले लग्दो रहेछ, हामीले बच्दै आएका पछि छौं अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस काममा चार जना युवालाई सहजिकरण गरेर काममा लगाएका छौं, अहिले वर्षदिनमा के कति आम्दानी हुनेरहेछ हामी हेर्र्दैछौं, भोलिका दिनमा यसबाट रोयल्टी समेत उठाउन सकिने आशा गरिएको छ ।’
प्रकाशित मिति २०८० जेष्ठ १४, आईतवार १९:२३ गते