
काठमाडौं– स्थापित स्रष्टाहरूको विशेष सहभागितामा ‘अन्तर्बोध’(संयुक्त गजल संग्रह)को लोकार्पण गरिएको छ । वरिष्ठ गीतकार÷गजलकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा प्रज्ञा भवनको सभाहलमा जेठ १५ गते सो लोकार्पण कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार÷गजलकार प्रा. डा. कृष्णहरि बरालसहित मञ्चासिन व्यक्तित्वहरूले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गर्नु भएको हो । सो कृतिमा ३१ जना स्रष्टाहरूको गजल संग्रहित छ ।

वरिष्ठ गीतकार÷गजलकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा उहाँले ३१ जना स्रष्टाहरूलाई समेटेर सङ्ग्रह निकाल्नु सह्रानीय काम भएको बताउँदै गजल लेख्दा बहरमा लेख्नु पर्नेमा जोड दिनु भयो । यसैगरी, विशिष्ट अतिथि वरिष्ठ अग्रज गजलकार ज्ञानुवाकर पौडेल हुनुहुन्थ्यो । त्यस्तै, अतिथिहरू वरिष्ठ साहित्यकार÷कवि कलानिधी दाहाल, गजलकार डा. प्रदिपकुमार मैनाली, वरिष्ठ मुक्तककार÷गीतकार रमेश पौडेल, साहित्यकारहरू गिरीराज डल्लाकोटी, गंगा लिगललगायत विभिन्न विधाका स्रष्टाहरूको सहभागिता रहेको थियो ।
कवि÷साहित्यकार कलानिधी दाहालले विमोचित कृतिको समीक्षा गर्नु भएको थियो । त्यस्तै गजल विधाका अग्रज ज्ञानुवाकर पौडेल, डा. प्रदिपकुमार मैनाली एवम् प्रा.डा. कृष्णहरि बरालले सो कृति सहित गजल विधाका विविध पक्षमा आ– आफ्नो धारणा राख्दै लेखकहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कृतिका प्रधान सम्पादक चुडामणि दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मीना चौलागाईंले राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालिका, गायनका साथै विभिन्न क्षेत्रकी प्रतिभाशाली व्यक्तित्व बिष्णु माया पौडेलको आकर्षक र रमणीय उद्घोषणले कार्यक्रमलाई भरपुर रोचक बनाएको थियो । त्यस्तै, बिच बिचमा विभिन्न सर्जकहरूबाट गजल वाचन समेत भएको थियो ।
सय जनाभन्दा बढी स्थापित स्रष्टाहरूको उपस्थिति रहेको उक्त कार्यक्रम प्रज्ञा भवनको लेखनाथ हलमा भव्यताका साथ सम्पन्न भएको आयोजकहरूको दावी छ ।
मिना चौलागाइँको सहयोगमा ।
प्रकाशित मिति २०८० जेष्ठ १६, मंगलवार ०५:४८ गते