
लमजुङ– लमजुङमा एक वडाध्यक्षले ४८ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको रहस्य खुलेको छ । तर पीडित महिला पटक पटक प्रहरीकोमा उजुर लिएर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको उनको दावी छ । गणतन्त्र दिवसको दिन जेठ १५ गते साँझ करिब ७ः३० बजे सो घट्ना भएको पीडितले बताएकी छन् । पीडक सुन्दरबजार नगरपालिका– ८ को वडाध्यक्ष बिजेन्द्र थापा भएको पीडितको भनाइ छ ।
साँझपख दाजुको घरमा खाना खाएर फर्कने क्रममा घरतर्फ जाँदै गर्दा त्यो मान्छेले त्यस्तो हरकत गरेको हो । ‘त्यो मान्छे न्याय दिनका लागि वडाध्यक्ष भएको कि म एकल महिलाका लागि जबरजस्ती गर्न ?’ पीडित महिलाले प्रश्न गर्नु भएको छ । उहाँले थप भन्नुभयो, ‘म बलियो भएको हुनाले उस्ले लछारपछार गर्दा, लडाउन खोज्दा पनि म उसको पञ्जाबाट उम्किन सकेँ, मेरो ठाउँमा अन्य निर्बलिया दिदी बहिनी हुन्थे भने त्यसले उनीहरूको जिन्दगी बरबार पाथ्र्यो ।’
त्यो मान्छेले यो कुरा बाहिर कतै नभन्नु भनेर मलाई दुई लाख रुपैयाँ दिएको छ र थप ५० हजार रुपैयाँ दिन्छु भनेको छ । तर मलाई पैसा हैन न्याय चाहिन्छ पीडित महिलाको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रा दिदी बहिनी, छोरीहरुले साँझ विहान निर्धक्क हिड्न सक्नु पर्छ ।
यसबारेमा उजुर गर्न म त्यही दिन इलाका प्रहरी कार्यालय भेटेओडारमा गएकी थिएँ । त्यहाँ जाँदा ‘ऐले रात परिसक्यो भोलि आउनु’ भने, पीडित महिलाले बताउनु भएको छ । उहाँका अनुसार त्यो बेलामा प्रहरी अफिसमा एक जना महिला र एक जना पुरुष थिए बाहिर । भोलिपल्ट विहान गएँ । ‘१० बजे आइज’ भने । फेरि १० बजे गए । ‘हाम्रो हाकिम छैन, बाहिर जानु भएको छ, उहाँ भएको बेलामा आउनु’ भनेर फर्काए, मैले न्याय नै पाउने भइन पीडित महिलाले बताउनु हुन्छ ।
यसबारेमा बुझ्न इलाका प्रहरी कार्यालय भोटेओडारमा सम्पर्क गर्दा सो कार्यालयका प्रमुख इनिस्पेक्टर राजन तिमिल्सिनाले आफ्नोमा त्यस्तो घट्नाका बारेमा भन्न ऐलेसम्म कोही आएको छैन, न पीडित न त पीडितका मान्छे भन्नुभयो । उहाँले यो बारेमा सोध्ने तपाई दोस्रो पत्रकार हो, तर पत्रकारले लेखेर त न्याय मिल्दैन निवेदन लिएर सम्बन्धित कार्यालय(जिल्ला)मा जानु पर्यो नि ! यो त मुद्दा चलाउने निकाय होइन तपाईलाई थाहै छ उहाँले थप भन्नुभयो । उहाँले त्यस्तो हल्ला आएपछि हाम्रो केटाहरूलाई समेत सोधे, गणतन्त्र दिवसको दिनको कुरा हो भन्ने छ । म त कार्यक्रममा गएको थिए । कसैले पनि कोही नआएको भने । हामीले बुझ्दा बलत्कार प्रयास नभई अन्य झगडा हो र मिलिसक्यो भन्ने पनि सुनियो सिमिल्सिनाले उल्लेख गर्नु भयो । उहाँले ‘पुलिस त सधैं पीडितको पक्षमा हुन्छ’ भन्ने दावी समेत गर्नु भयो ।
यसबारेमा बुझ्नका लागि सम्बन्धित वडाध्यक्षसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।
पीडित महिलाले यो पंक्तिकारसँग त्यो घट्नाका बारेमा बताएको भिडियो रेकर्ड सुरक्षित छ ।
प्रकाशित मिति २०८० जेष्ठ १८, बिहीबार ०८:०९ गते