
लमजुङ– बेसीशहरको ल्याण्डस्टार आमाविद्वारा आफ्ना विद्यार्थीहरूलाई कविता लेखन विधिबारे एक कार्यक्रमका बीच जानकारी दिने काम गरेको छ । बेसीशह नगरपालिका– ८ स्थित सो आमाविले दुई चरणमा कविता लेखन विधिका बारेमा विद्यार्थीहरूलाई जेठ १८ गते जानकारी दिएका हुन् ।
पहिलो चरणमा मावि तह र दोस्रो चरणमा आधारभूत तहका विद्यार्थीलाई कविता लेखन विधिका बारेमा जानकारी दिने काम गरिएको हो । त्यस कार्यमा सहजिकरण अन्तरङ्गका सम्पादक नवराज पहाडीले गर्नु भएको थियो । उहाँले कविता के हो ?(भाव विचार प्रवाह गर्ने कलात्मक अभिव्यक्ति वा माध्यम), यसले जीवन भोगाईलाई सुखद, सुगम र सौन्दर्यमय बताउछ भन्नुभयो । त्यस्तै, कविताको इतिहास(१९ औं शताब्दीबाट शुरु भएको र खासगरी तीन काल), कविताको प्रकारमा(पद्य, गद्य र गीतिलय) लेखिने भए पनि गीतिलय पनि गद्य नै हो भन्नुभयो । उहाँले कविताको स्वरुप लघु(मुक्तक÷गजल) वा १५ हरफभन्दा सानो कविता), माझौला(खण्ड काव्य÷लामो कविता) र महाकाव्य(कम्तिमा १ हजारभन्दा बढी श्लोक भएको) हुन्छ भन्नुभयो । त्यस्तै, कविता किन लेख्न ? लेखकको सन्तुष्टि(सुखानुभूति)का लागि, मनोरञ्जन, ज्ञान दिन, समाजमा सकारात्मक सन्देश दिन र घट्ना परिवेशलाई कलात्मक सूचना प्रवाह गर्छ भन्नुभयो । त्यस्तै, कविता लेख्दा के कस्ता विधि अपनाउने ? शीर्षक वा विषय वस्तुको चयन लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।
आफैमा साहित्यिक अभियन्ता एवम् साहित्यकार समेत रहनु भएका पहाडीले विद्यार्थीहरूलाई कविता लेखनका लागि पहिलो आवश्यकता मानसिक रुपमा आफूलाई तयार गर्नु वा हुनु हो । कविता लेखेर पनि म मेरो व्यक्तित्वलाई समाजमा चिनाउन सक्छु भन्ने भावना मनमा जीवन्त हुन आवश्यक छ भन्नु भयो । यसप्रकार मानसिक रुपमा तयार भएपछि शीर्षक वा विषय वस्तुको छनौट गर्ने, त्यो विषयका बारेमा थप जानकारी लिने, अध्ययन गर्ने, त्यसका महत्वपूर्ण बुँदा टिपोट गर्ने, नेपालीका शब्द भण्डार बढाउने, पर्यायवाची शब्दहरूका बारेमा जानकारी लिने, कुन शब्दलाई के कस्तो प्रसङ्गमा कसरी प्रयोग गर्ने ? भन्दै पानी र दहीको उदाहरण सहित प्रकाश पार्नु भएको थियो ।
त्यस्तै, उहाँले कविता कस्का लागि लेखिने हो ? त्यसले दिने सन्देशका बारेमा समेत कविले ख्याल गर्नु पर्छ भन्ने जानकारी दिनुभयो । उहाँले कविमा संवेगात्मक चेत, शृंगारिकताको चेत, कविता विधाको चेत, छन्द ज्ञानको चेत, संप्रेषणात्मक विषयवस्तुको चेत, अनुकलित वातावरणको चेत जस्ता विषयमा समेत ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।
यसैगरी, कविता वाचन गर्ने शैलीको ज्ञान हुन आवश्यक छ । त्यसमा मूलतः तीन कुरा लय, गति र यतिका बारेमा जानकार हुनुपर्छ र त्यसै अनुसार वाचनमा प्रयोग गर्नुपर्छ भन्दै केही कविता वाचन गरेर सुनाउनु भएको थियो । त्यस्तै, शीर्षक जुनकुनै पनि आफूलाई मन पर्ने विषयमा लेख्न सकिन्छ भन्नुभयो । उहाँले अर्थ्ली प्याडाइज माविका संस्थापक प्रिन्सिपल ठाकुरप्रसाद छाँगाको बेलाको बोली कविता संग्रहमा भएका केही शीर्षक, बेसीशहर सेरा, दाह्रीको कथा, लौरो, बालक, कुर्ची, संस्कार फेर्नु पर्यो, नेपाल अर्कै भयो लगायत सुनाउँ भयो । अहिलेसम्म सबैभन्दा धेरै कविता ‘आमा’ शीर्षकमा लेखिएको बताउँदै बा, दाजु, दिदी, भाइ– बहिनी, छिमेकी, मर्स्याङदी, पहाड, हिमाल, स्कूल आदि विषयमा पनि लेख्न सकिन्छ तर त्यस विषयमा कविमा विशेष जानकारी हुन आवश्यक छ भन्नेमा जोड दिनुभएको थियो ।
नेपाली साहित्यको भण्डारमा चार कृतिहरू भित्र्याई सक्नु भएका पहाडीले सो अवसरमा मावि तहका भन्दा आधारभूत तहका विद्यार्थीहरू बढी जिज्ञासु आफूले पाएको अनुभूति गरेको बताउनु भयो ।
प्रकाशित मिति २०८० जेष्ठ १९, शुक्रबार ०६:४२ गते