
काठमाडौं– भारतको ओडिसामा भएको रेल दुर्घटना कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । सो दुर्घटनामा ओडिसाको बालासोरनजिक जेठ १९ गते राती भएको हो ।
स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको समाचारमा उल्लेख छ ।
उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ ।
घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् । घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।
भारतका रेलमन्त्री अश्विनी वैष्णव आफै दुर्घटनास्थल पुगेका छन् । उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । त्यस्तै, घाइतेलाई ५० हजार रुपैयाँ दिने उनको घोषणा छ ।
उक्त रेल दुर्घटनाको प्रारम्भिक समाचारमा निधन हुने संख्या दुई सय ३७ जना बताइएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ २०, शनिबार ०९:४५ गते