बेसीशहर– विश्व वातावरण दिवस– २०८० मा लमजुङमा विविध गतिविधि भएका छन् । ठोस र योजनावद्ध रुपमा मर्स्याङदी गाउँपालिकाले काम गरेको जेठ २२ गते पाइएको हो ।
५० औं विश्व वातावरण दिवसको अवसरमा लमजुङका विभिन्न स्थानमा वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गरिएका समाचार प्राप्त भएका छन् ।
मर्स्याङदी गाउँपालिकाद्वारा ‘सफा मर्स्याङदी’ अभियान :
मर्स्याङदी गाउँपालिकाले ‘सफा मर्स्याङदी’ अभियान सञ्चालन गर्यो । सो पालिकाले केही समय अघिदेखि नै त्यसको तयारी गरेको थियो । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौ : वातावरण मैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराकासाथ मर्स्याङदी गाउँपालिकाले आफ्ना सबै वडामा सरसफाई अभियान सञ्चालन गर्यो ।
मर्स्याङदी गाउँपालिकाको कार्यलय परिसर र भुलभुले बजार क्षेत्रमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङ लगायत गाउँपालिका कर्मचारीहरूको सहभागी भएर सरसफाई कार्यक्रम गरिएको छ ।
त्यस्तै, सो गाउँपालिका– २ को घनपोखरा क्षेत्र, वडानं– ५ को खानीगाउँ स्थित रकगार्डेन क्षेत्र लगायत सबै गाउँमा सरसफाई गरिएको छ । रक गार्डेन नुन खानीगाउँ मासिक दुई पटक सरसफाइ गर्ने गरिएकोमा त्यसलाई निरन्तरता दिदै आजको मर्स्याङदी सरसफाई अभियान सफल पर्दै खानीगाउँ टोल र रक गार्डेन क्षेत्र सरसफाई गरिएको रक गार्डेन होमस्टे समितिका अध्यक्ष सीता गुरुङले बताउनु भयो ।
लमजुङका स्थानीय तहहरूमा मर्स्याङदी गाउँपालिकाले झैं अन्य पालिकाले वातावरण संरक्षणका लागि योजनावद्ध रुपमा काम गरेको वा औपचारिक कार्यक्रम गरेको जानकारीमा आएको छैन । पालिकाले सो अभियान विहान ८ देखि १० बजेसम्म गरेको छ । यस कार्यलाई थप व्यवस्थित गर्न वडास्तरमा समेत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सुन्दरबजारमा वृक्षारोपण र बजार सरसफाई :
सुन्दरबजारबाट प्राप्त समाचार अनुसार विश्व वातावरण दिवसको उपलक्ष्यमा HDCS, नमूना सामुदायिक अस्पतालको आयोजनामा अस्पताल हातामा वृक्षारोपण र बजार सरसफाई गरिएको छ ।
सो कार्यक्रममा सुन्दरबजार नगरपालिका– ६, डिभिजन वनकार्यलय सुन्दरबजार, यूथ क्लब सर्कल, लमजुङ क्याम्पस, रेडक्रस सुन्दरबजार उपशाखा आदिको सहयोगमा अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम र बजारमा सरसफाई कार्यक्रम गरिएको HDCS, नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा अस्पतालले आफनै हातामा बगैंचा निर्माण गर्दैछ । त्यसमा १० वटा कपुरका विरुवा रोपिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रममा सुन्दबजार नगरपालिका उपप्रमुख भवानी केसी, प्रमुख जिल्ला अधिकारी रामृकष्ण अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मी, जिल्ला प्रहरी कार्यलय प्रमुख प्रनाउ प्रकाश श्रीमती, जिल्ला ससस्त्र प्रहरी कार्यलय प्रमुख मनबहादुर शाही, डिभिजन वन कार्यलय प्रमुख पूर्णेश्वर सुवेदी, रेडक्रस र सुन्दरबजार युवा क्लब साथै कृषि क्याम्पसका विद्यार्थीहरू लगायत अस्पतालका सम्पूर्ण कर्मचारीहरू सहभागिता थियो ।
सचेतना र्याली र बृक्षारोपण :
जिल्ला सदरमुकाम बेसीशहरमा विश्व वातावरण दिवसका अवसरमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालद्वारा सचेतना र्यालीको आयोजना गरियो ।

Exif_JPEG_420
सो जनचेतनामूलक र्यालीमा बेसीशहर नगरपालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, सशस्त्र प्रहरी बलको गुल्म, युनिभर्सल एकेडेमी, न्युइरा आमावि, ल्याण्डस्टार आमावि, विद्याविकाश आमाविका शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता थियो । यसैगरी र्यालीमा सहभागी हुनेहरूमा लमजुङ उद्योग बाणिज्य संघ, साहित्यिक संस्थाहरू, नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङ, नागरिक समाज, प्रकृति नारी समाज, बास नेपाल लमजुङ शाखा लगायतका संघसंस्थाहरूको सहभागिता रहेको बताएको छ ।
मनाङ्गे चौताराबाट सुरु भएको र्याली बेसीशहर बजार परिक्रमा गरी सेरा स्थित प्रकृति नारी समाजको भवनमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा वृक्षरोपण कार्यक्रमका परिकल्नाकार बासुदेव सेढाईले वातावरणमा आएको परिवर्तन, दिनहुँ तातिरहेको वातावरणले एक दिन मानिस बस्न नसक्ने हुने स्थिति बन्दै गरेकोले हरियाली बढाउनेतर्फ सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले र्यालीमा सहभागी भएर यसअघि वृक्षरोपण कार्यक्रमको गौरव बढाउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने सबैमा जन्मदिनमा वृक्षरोपण अभियान नेपाल धन्यवाद ज्ञापन गर्दछ भन्दै कोणसभा बिसर्जन गर्नु भएको थियो । सो अभियान अन्तरगत प्रकृति नारी समाजको हातामा बृक्षारोपण समेत गरिएको थियो ।
न्यूइरा आमाविद्वारा बृक्षारोपण र वातारवण सम्बन्धि चित्रकला प्रदर्शन :
यसैगरी, बेसीशहर स्थित न्यूइरा आमाविले विश्व वातावरण दिवसका अवसरमा विद्यार्थीहरू सहभागी गराई वृक्षारोपण तथा वातारवण सम्बन्धि चित्रकला प्रदर्शन कार्य गरेको छ ।
‘सफा मन सफा समाज’ नारासहित न्युइरा स्कुल बेसीशहरमा बृक्षारोपणका साथमा विद्यालय हातामा वातारवण सम्बन्धि चित्रकला प्रदर्शन गरेको हो ।
बृक्षारोपण बेसीशहर नगरपालिका– ८ स्थित कर्पुरेश्वर महादेव मन्दिर परिसरमा गरिएको सो आमाविका प्रिन्सिपल ओम कायस्थले बताउनु भयो ।
प्रदर्शनीमा सोही विद्यालयको मन्टेश्वरी विभागका छात्रछात्राहरूले बनाएका चित्रकला राखिएको थियो भने सोही अवसर चित्रकला निर्माणको अभ्यास समेत गराइएको थियो । सो कार्यमा शिक्षिकाहरू आशा श्रेष्ठ, परिसरा राना मगर र मीरा खवासले सहजिकरण गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ २३, मंगलवार ०६:५२ गते