काठमाडौं– पछिल्लो केही समययता देशका धेरै स्थानमा तापक्रम बढ्ने क्रम जारी रहेको छ । अझै केही दिन तापक्रम उच्च रहने मौसमविद्हरूले बताएका छन् । त्यसोत त सधैंझैं मनसुन भित्रने हो भने औसत समयमा अब चार दिन मात्रै बाँकी छ । मनसुन यतिबेला केरला आइपुग्यो नेपालमा कहिले आइपुग्ला ? भन्ने चासो बढिरहेको छ ।
केही भू–भागमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । मनसुन आज जेठ २६ गते केरला आइपुगेको छ र त्यो सर्दै नेपाल आउने हो । मनसुन त्यहाँबाट नेपाल आइपुग्ने औसत समय १० देखि १२ दिन हो तर यो औसत समय हो, यकिन भन्न सकिने हुँदैन र्मौसमविद्हरू बताउँछन् । उनीहरूले यस वर्ष असार ४ गतेतिरमात्र मनसुन नेपाल भित्रने बताएका छन् ।
नेपालबाट औसतमा अक्टोबर २ अर्थात असोज १५ गते मनसुन बाहिरिन्छ । त्यसो त यो पनि औसत समय नै हो । योभन्दा केही अगाडि वा पछाडि मनसुन बाहिरिन पनि सक्छ ।
सामान्यतः नेपालमा जुन १३ अर्थात जेठ ३० गते मनसुन भित्रिने गर्छ । तर, यो वर्ष केही ढिलो हुन सक्ने मौसमविद् रोजन लामिछाने बताउनु भयो । उहाँका अनुसार भारतको केरलासम्म मनसुन आइसकेको छ । उहाँले भन्नुभयो, ‘केरलाबाट मनसुन सधैँ १० देखि १२ दिनमै नेपाल आइपुग्छ भन्ने हुँदैन, यो भन्दा केही छिटो पनि हुनसक्छ भने ढिलो पनि हुन्छ । कहिले काहीँ १८– २० दिन समेत लाग्न सक्ने हुन्छ मौसमविद् लामिछानेले जानकारी दिनुभयो ।
ऐले कारण गर्मी बढ्नुको मुख्य कारण नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी वायु कमजोर हुँदा बदली र वर्षा हुन सकेको छैन । अझै केही दिन विद्यमान मौसमी प्रणालीमा फेरबदल नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका भू–भागमा तातो हावा चलिरहेकाले यसबाट बच्न सतर्क रहन स्थानीय तहहरूले आग्रह गरहेका छन् ।
‘रेकर्ड ब्रेक’ भएका क्षेत्रमा तापक्रम अझै बढ्ने ?
केरलासम्म आएको मनसुन औसत समयमा आइपुग्ने हो भने यो वर्ष ढिलो मनसुन नेपाल भित्रिनेछ । केरलाबाट औसत समयमै मनसुन आइपुग्यो भने करिब एक हप्ता ढिलो हुनेछ । जुन १९ को सेरोफेरोमा मात्रै मनसुन नेपाल भित्रिनेछ । त्यसैले तापक्रममा ‘रेकर्ड ब्रेक’ भएका क्षेत्रमा अझै बढ्ने भएको हो ।
विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा ३५ देखि ५५ प्रतिशत कम वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ ।
न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्य–पश्चिमी भू–भाग, गण्डकी प्रदेशका मध्य भू–भाग, लुम्बिनी प्रदेशका मध्य–दक्षिणी भू–भाग, वाग्मती प्रदेशका मध्य–पूर्वी भू–भाग र मधेस प्रदेशका पश्चिमी तथा मध्य भू–भागमा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ रहेको छ ।
यस वर्ष ढिलो गरी मनसुन भित्रिने देखिन्छ जल तथा मौसम विज्ञान विभागले भनेको छ । यस वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ ।
तापक्रम कतिसम्म पुगे ‘लु’ चल्छ ?
यसैबीच, जल तथा मौसम विज्ञान विभागले तराईका विभिन्न स्थानमा ‘लु’को अवस्थाको पूर्वानुमान गर्दै सावधानीका लागि सचेत गराएसँगै ‘लु’को बारेमा जानकारी दिएको छ । ‘लु’ को अवस्था निर्धारणको आधार तापक्रम नै हो ।
विश्व मौसमविज्ञान संगठनले कुनै पनि स्थानको नियमित अत्याधिक तापमानमा लगातार दुईदेखि पाँच दिनसम्म ५ डिग्री सेल्सियस भन्दा बढी भएको अवस्थालाई ‘लु’ को अवस्था भनिन्छ तर ‘लु’को पनि अवस्थामा विश्वव्यापी एकरुपता छैन ।
हालका अभ्यास नियाल्ने हो भने देशअनुसार र एउटै देशभित्र पनि ठाउँअनुसार तापक्रमको निश्चित मापदण्ड तोकिएको हुन्छ वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले बताउनु भयो । उहाँका अनुसार ‘लु’को अवस्था सामान्य, कडा र धेरै कडा गरी तीन अवस्थामा बाँडिएको हुन्छ ।
जल तथा मौसम विज्ञान विभागले विभिन्न स्थानमा विगत तीस वर्षको तापक्रमको अध्ययन गरेर विभिन्न स्थानमा ‘लु’को अवस्था निर्धारक तापक्रमको मापदण्ड तोकेको विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले बताउनु भयो । उहाँका अनुसार उक्त तापक्रम २ या ३ दिनसम्म रहने अवस्थालाई ‘लु’को अवस्था भन्ने गरिन्छ । उहाँले भन्नुभयो, ‘काठमाडौँको तापक्रम ३३.५ पुग्दा ‘लु’को धेरै कडा अवस्था हुन्छ भने नेपालगञ्जको तापक्रम ३९.८ भएसम्म पनि सामान्य ‘लु’को अवस्था हुन जान्छ ।’
झोलिलो पदार्थ पिउन सुझाव :
यसैगरी, नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरूले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएको बारेमा आयोजना गरिएको मौसमविद्हरूले यस्तो चेतावनी दिएका हुन् ।
मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताउनु भयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरूले ठाउँ ठाउँमा माटोको भाँडाहरूमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागतीहरू हालेर पानी खुवाउने र मोहीहरू खुवाउने विधिलाई अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले यस्तो स्थितिमा परोपकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउँदै यसमा सरकार र प्राधिकरणले पनि सहयोग गर्ने जानकारी दनुभयो ।
गर्मीका कारण लू लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने हुन सक्ने विज्ञहरूको भनाइ छ ।
प्रकाशित मिति २०८० जेष्ठ २६, शुक्रबार २१:११ गते