काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका एमाले सचिव एवम् सांसद टोपबहादुर रायमाझीका वकिलहरूले उनको बचाउ गर्दै निर्दोष भएको दाबी गरेका छन् । भुटानी अधिकारवादी नेता टेकनाथ रिजालको ‘मानसिक स्वास्थ्य’मा समेत प्रश्न उठाउँदै तारिखमा छाड्नुपर्ने माग गरे ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सो प्रकरणको थुनछेक बहस चलिरहेको छ । सो बहस जेठ २१ गतेबाट सुरु भएको हो । जेठ ३१ गते बहस सकिने र सोही दिन अदालतको आदेश आउने कार्यतालिका छ ।
रायमाझीको पक्षमा बहस गरेका वकिलहरूले उनको बचाउ मात्र गरेनन्, उनलाई पोलेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालको ‘मानसिक स्वास्थ्य’माथि प्रश्न उठाउन भ्याए ।
वरिष्ठ अधिवक्ता रमेश बडालले टोपबहादुर रायमाझीको लागि सिंगो एक दिन चाहिने माग गर्नु भएको थियो । त्यसमा सहमति जनाएको इजलासले रायमाझीका लागि २६ गते सिङ्गै दिएको हो । उनको प्रतिरक्षामा बहस गर्ने वकिलको संख्या १० जना थियो । कानुन व्यवसायीहरूले उनको बचाउमा विभिन्न तर्क प्रस्तुत गर्दै सके साधारण तारिख, नभए धरौटीमा रिहा गर्न माग गरेका छन् ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजालका साथै सानु र केशवले सरकारी वकिलको कार्यालयमा दिएको बयानले रायमाझीको संलग्नता देखाएको हो ।
रिजालले अदालतमा दिएको बयानमै टोपबहादुर योजनाकार भएको बताएका छन् । सानु र केशव मार्फत टोपबहादुरसम्म पुगेको र भुटानी शरणार्थीहरूलाई अमेरिका पठाउने क्रममा नेपालीलाई पनि भुटानी बनाई अमेरिका पठाउने आफ्नो योजना रहेको भनी रिजालको विश्वास जित्न खोजेको उल्लेख छ ।
नक्कली शरणार्थी प्रकरणको प्रमुख योजनाकार मानिएका रायमाझीलाई बचाउँका लागि मुख्य रूपमा पाँचवटा विषयमा केन्द्रित रहेर वरिष्ठ अधिवक्ता बडालले बहस गर्नु भएको थियो ।
उहाँले सुरुमै टेकनाथको बयानलाई प्रमाणका रुपमा लिन मिल्दैन भन्ने दावी गर्दै करिब चार करोड उठाउनेलाई प्रतिवादी नबनाई जाहेरीकर्ता बनाइएको छ । कहीं कतै संलग्न नभएको टोपबहादुर रायमाझीमाथि एउटाले पोलेको भरमा मुद्दा चलेको छ वरिष्ठ अधिवक्ता बडालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले केही वर्षअघि नै भुटानमा हिरासतमा रहँदा पाएको यातनाका कारण आफू मानसिक रूपमा पनि कमजोर भएको बताउनुभएको छ । किताबमा नै उहाँले आफ्नो अभिव्यक्ति कतैबाट नियन्त्रित भएको प्रतीत हुन्छ भन्नुभएको छ । उहाँको अभिव्यक्तिलाई प्रमाणको रूपमा लिन मिल्दैन ।’
भुटानमा पक्राउ परेपछि चर्को यातनाको कारण रिजालको मानसिक अवस्थामा लामो समय असर परेको थियो, त्यो असर अहिलेसम्म देखिएको बडालको जिकिर छ ।
भूराजनीतिक स्वार्थमा समेत मानसिक रूपमा समस्या परेका रिजाललाई प्रयोग गरिएको हुनसक्ने भन्दै सचेत रहन ध्यानाकर्षण गराउहाँले भन्नुभयो, ‘उहाँको बयानलाई प्रमाण मानेर मेरो पक्ष (टोपबहादुर रायमाझी)लाई दोषी करार गर्न मिल्दैन ।’
यसैगरी, एमालेलाई लक्षित गरियो भन्ने उहाँको अर्को तर्क थियो । बहसका क्रममा वरिष्ठ अधिवक्ता बडालले अनेक उदाहरण र फेहरिस्त प्रस्तुत गर्दै तत्कालीन केपी ओली सरकारलाई लक्षित गरी आरोपपत्र तयार गरिएको दावी गर्नु भयो । कैयौं आरोपितको भनाइलाई आधार मान्दा २०७४ सालमा देउवा सरकारकै पालामा सानु भण्डारी, केशवप्रसाद दुलालहरूले पैसा उठाउन थालेको उहाँको तर्क थियो । ‘कैयौं तथ्यले खण्डन गर्दा समेत यो मुद्दामा विषयान्तर गरेर ओली सरकारलाई तान्न खोजेको देखिन्छ, त्यसै अनुसार आरोपपत्र बनेको छ ।’ उहाँले उल्लेख गर्नु भयो ।
त्यस्तै, छोराको दोष बाउलाई दिन नमिल्ने उहाँको तर्क छ ।
जाहेरी हो कि अभियोगपत्रको मस्यौदा ? वरिष्ठ अधिवक्ता बडालले प्रेमराज पन्थीको जाहेरीको विश्वसनीयतामाथि समेत प्रश्न उठाउँदै भन्नुभयो, ‘करिब चार करोड उठाउनेलाई प्रतिवादी नबनाई जाहेरीकर्ता बनाइएको छ’ उनले भने, ‘कहीं कतै संलग्न नभएको टोपबहादुर रायमाझीमाथि एउटाले पोलेको भरमा मुद्दा चलेको छ ।’ बडालले प्रश्न गर्नु भयो, ‘४ वर्षअघि मदिरा किन्दा ग्राहकले भनेका कुराको रेकर्ड राख्ने वेटर पनि यही मुद्दामा भेटिए श्रीमान् ।’
तर थुनछेक बहस गर्दा कानुन व्यवसायीहरूले डायरीको आधिकारिकताबारे प्रश्न उठाएका छन् ।
बडालले डायरीमा लेखिएको रकमबारे उल्लेख गरेर सो रकम ‘झुटो विवरण’ रहेको जिकिर गर्नु भयो । उहाँले डायरीमा ‘मैया’, ‘मामा’ र ‘भाञ्जा’को नाम रहेछ भन्दै त्यसको विश्वसनीयतामा प्रश्न उठाउनु भयो ।
यसैगरी, अभियोजनमा भेदभाव भयो, धरौटीमा छाडौं भन्ने तर्क गर्दै कानुन व्यवसायीहरूले कसैको नाम मुछिनुका साथै अडियोमा नाम समावेश हुँदा तथा मौकाको कागज (प्रहरीसँगको बयान)मा नाम पोल्दा सोधपुछसम्म नगरेको तर, रायमाझीलाई हेलिकप्टर चढेरसँगै गोसाईंकुण्ड गएको आधारमा प्रतिवादी बनाइएको दावी गर्नु भयो ।
वरिष्ठ अधिवक्ता पन्तले आरजु राणा देउवातर्फ संकेत गर्दै संसदमै बोलेको भरमा कोहीले अनुसन्धानबाट उन्मुक्ति पाएको बताउनु भयो ।
अधिवक्ता पर्शुराम कोइरालाले समेत आरोप पुष्टि गर्न मिटिङमा उपस्थित भएको, फलानो–फलानो ठाउँमा भेटेको जस्ता विवरण समावेश गरिएको दाबी गर्नु भएको छ । उहाँले सानु भण्डारीको डायरीलाई आधार मान्ने हो भने त्यहाँ उल्लेख नभएको रकम विगो दाबी गरिएको भन्दै नागरिकलाई अनाहकमा थुन्न नहुने हुँदा रायमाझीलाई धरौटीमा छाड्न उपयुक्त हुने भन्दै लामो सैद्धान्तिक व्याख्या समेत गर्नु भएको थियो ।
सानु भण्डारीको ‘हरियो डायरी’ :
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सानु भण्डारीको घरबाट बरामद ‘हरियो डायरी’मा लेखिएको हिसाबका कारण पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, डा. इन्द्रजित राई र सन्दीप रायमाझी थुनामा छन् ।
प्रहरीको अनुसन्धानका आधारमा दायर अभियोगपत्रमा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई नक्कली शरणार्थी प्रकरणको प्रमुख योजनाकार मानिएको छ । सानु भण्डारी र केशवप्रसाद दुलालले देशभरबाट नक्कली शरणार्थी बनाउने भनी रकम पठाएपछि त्यसलाई नीतिगत रूपमा कार्यान्वयन गराउने जिम्मेवारी टोपबहादुर रायमाझीले पाएको भनी प्रहरीले आरोप लगाएको छ ।
आफूले त्यसमा विश्वास नगरी तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई भेट्टाइदिन आग्रह गर्दा रायमाझीले आफूलाई लिएर प्रचण्ड निवासमा पुर्याएको बयान इजलासमै दिएका छन् । अरू आरोपितले नाम पोल्नु र रिजालले अदालतमै त्यही बयान दिनुले रायमाझी अप्ठेरोमा परेका छन् ।
रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमेश बडाल र सुशील पन्त, अधिवक्ताहरू परशुराम कोइराला, धर्मराज रेग्मी लगायतले बहस गर्नु भएको हो ।
प्रकाशित मिति २०८० जेष्ठ २७, शनिबार ०८:२३ गते