
सुन्दरबजार(लमजुङ)– सु्न्दरबजार नगरपालिकाले जननिर्वाचन कालको छैटौं वर्ष बितेपछि पहिलो पटक सार्वजनिक सुनुवाई गर्यो । स्थानीय निकायमा कर्मचारीको नेतृत्वकालमा ६– ६ महिनामा सार्वजनिक सुनुवाई हुने गरेको भएता पनि जननिर्वाचितकाल सुरु भएपछि पहिलोपटक नगरपालिकाको सार्वजनिक सुनुवाई जेठ २६ गते गरिएको हो ।
उक्त सार्वजनिक सुनुवाईको सोही नगरपालिका आयोजक भएता पनि सञ्चालन भने जिल्लामा पहिलो पटक नाम सुनिएको स्वर्णिम अनुभव प्रा.लि.ले गरेको थियो ।
स्थानीय निकाय र स्थानीय तहमा आकाश जमिनको फरक छ भनिएता पनि कार्यशैलीका हिसाबले भने तह र निकायमा तात्विक फरक हुन सेकेको छैन । त्यस बारेको महत्व र ज्ञान नभएकै कारण हुन सक्छ जनप्रतिनिधिहरू पनि निकाय ताकाका भन्दा खासै भिन्न देखिदैनन् भलै उनीहरूले लिने/पाउने सुविधामा भने आकाश जमिनको फरकले बृद्धि गरिएको किन नहोस् । स्थानीय निकायहरू तहमा परिवर्तित भएपछि सर्वसाधारणले फरक अनुभूति गरेको भनेको कर तिर्ने कार्यमा मात्र हो, अन्य सेवा सुविधाका हिसावले त्यस्तो अनुभूति गर्न वा अनुभूति हुने गरी कार्य गर्न जनप्रतिनिधिहरू र उनीहरूलाई त्यो स्थानमा पठाउने राजनीतिक दलहरूले त्यस्तो दक्षता नै देखाउन सकेका छैनन् । त्यसो त विधायकहरूले संसदीय विकास कोषमा र्याल काड्न थालेपछि त्यो स्थिति झनै छरप्रष्ट भएको छ । सांसदहरूको त्यस्तो हविगत भएको बेलामा वडाध्यक्षहरू परम्परागत शैलीमा चले भन्ने गुनासो पनि मनसिव नहुन सक्छ । तर वडाध्यक्षहरू पदीय जिम्मेवारी निर्वाह गर्नेमा भने चुकेको उक्त कार्यक्रम साथीको रुपमा बर्सौंैैसम्म रहिरहनेछ ।
कुनै पनि वडाध्यक्षले आफ्नो वडा हाल यो अवस्थामा छ र यो कार्यकाल सकिदै गर्दा यो वा यस्तो स्तरमा उक्लिने छ भन्ने भन्न सकेको देखिएन । भलै तीन जना वडाध्यक्ष पुनः निर्वाचित भएर आएको समेत सोही कार्यक्रममा जानकारी दिइएको थियो । वडाध्यक्षहरूले नयाँ दिशा दिन नसकेपछि नगरपालिकाको नेतृत्व वडाध्यक्षकै चाहना अनुसार रुमलिन र रमाउन खोज्नु पनि स्वभाविक नै हो । त्यसो त नगरपालिकाको नेतृत्वले पनि नयाँ दिशामा वडाध्यक्षहरूलाई डोर्याउन सकेको भए सुनमा सुगन्ध हुन्थ्यो, त्यस्तो संकेत पालिका नेतृत्वबाट पनि सार्वजनिक सुनुवाईका क्रममा देख्न र सुन्न नपाएको सहभागीहरूले गुनासो गरे ।
सञ्चालकले पनि वडाहरूमा घुमेर संकलन गरेको भन्दै देखाएको विकासका कार्यहरू पनि कुन वडाको कुन ठाउँ र के कस्तो विकासको कार्य, कति बजेटको हो ? भन्ने बोलेर वा त्यसको प्रस्तुतिमा लेखेर राखिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो तर त्यसो गरेको देख्न, सुन्न पाइएन ।
प्रमुख प्रशासकीय अधिकृत ले प्रस्तुत गर्नु भएको प्रतिवेदन पनि पत्रकारहरू, पार्टीका प्रमुखहरू, अन्य सामाजिक अगुवाका लागि सम्म भने पनि उपलब्ध गराएको भए त्यसमा अध्ययन गरेर प्रश्न उठाउने वा सुझाव राख्ने गर्न सकिनेमा त्यति काममा आयोजकको ध्यान नपुग्नु भनेको त्यस कार्यक्रमबाट सार्थक परिणाम निकालेर अघि बढ्न भन्दा पनि कार्यक्रम गरियो भन्ने देखाउनका लागि मात्र आयोजना गरिएको हो कि ? जस्तो भान हुन्थ्यो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले प्रस्तुत गर्नु भएको विवरणमा पनि बजेट समेत उल्लेख भएको भए सुनमा सुगन्ध हुन्थ्यो तर कुनै योजनामा कति संख्या लाभान्वित भए भन्ने संख्या छ भने कतिमा त त्यो पनि उल्लेख छैन । यसरी हेर्दा भने प्रतिवेदन हचुवाका भरमा तयार गरेको भान भएको केही सहभागीको भनाइ थियो । त्यसअघि सोही नगरपालिका उपमेयर भवानी केसीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । 
चेम्बर अफ कमर्शकातर्फबाट चेम्बर अध्यक्ष विष्णुकुमार श्रेष्ठले शिक्षा क्षेत्रमा, लमजुङ क्याम्पसमा एमएससी कक्षा सञ्चालन र भेटेरिनरीको अध्ययनलाई जोड्ने, स्वास्थ्य, रोजगारीका क्षेत्र प्रवद्र्धन गर्ने, त्यसका लागि औद्योगिकीकरण, विद्युत र नापीको प्रवन्ध निजी क्षेत्रलाई रासायनिक मल विक्रीको प्रवन्ध आदि हुनुपर्ने सुझाव दिनु भएको थियो ।
अर्कोतर्फ, निःशुल्क शिक्षा प्रति नगरपालिकाको दृष्टिकोण के हो ? भन्नेमा पनि प्रतिवेदन मौन छ । हिजो भनिने गरेका पूर्णस्विकृत पाएका विद्यालय र प्रस्तावित विद्यालय भारतीसदन, संस्कृतिसदन, सौभाग्यसदन जस्ता माविहरू र सर्वोदय, शान्ति मावि जस्ताले पाउने सुविधालाई कसरी समान बनाउने भन्नेतर्फ नगरपालिका मौन देखियो ।
यसैगरी, सञ्चारमाध्यम प्रतिको दृष्टिकोण र नीति समेत प्रष्टिएन । कर्मचारी नेतृत्वको नगरपालिका हुँदा स्मार्ट सिटीतर्फ उन्मुख भएको पत्रकार सम्मेलन गरेरै घोषणा गरिएको थियो । त्यसतर्फ पनि वर्तमान नेतृत्वको ध्यान गएको देखिएन ।
उक्त नगरपालिकामा रहेका मौलिक, कला संस्कृति, साहित्य तथा मठ मन्दिरको संरक्षण र प्रवर्द्धनका कार्यतर्फ पनि नगरपालिका चुकेको देखियो । खजे दुरा, पं. तोयनाथ शर्मा, कोमलनाथ शर्मा, तीर्थराज शर्मा, भेडीखर्के साइँला, ठाकुरप्रसाद छाँगाको विरासतप्रति गर्व गर्ने, गोविन्दबहादुर कुँवर, विमाकुमारी दुरा, कृष्ण सुधा, कृष्ण गुरुङ जस्ता प्रतीभाको सम्मान गर्ने र त्यस्ता नयाँ पुस्ता जन्माउने कार्यमा नगरपालिकाको उदासिनता कति क्षम्य हुने हो भोलिका दिनले अवश्य बोल्ने नै छन् । मुलुकका कतिपय नगरपालिकाले प्रज्ञा प्रतिष्ठान समेत गठन गरेर अघिल्लै कार्यकालदेखि सञ्चालन गरिसकेका छन् । के ती नगरपालिकाका लागि अर्कै नियम र सुन्दरबजार नगरपालिका सञ्चालनको विधि विधान अर्कै हो र ?
यसैगरी, अकलास्थान, पाउँदीको महादेव स्थल र एकादशी मेला, तुर्लङकोट कालिका र चैतेदशैं मेला, भागिरथा, हलो क्रान्तिस्थल, खजे पार्क जस्ता नगरभित्रका धार्मिक एवम् ऐतिहासिक महत्वका क्षेत्रको उचित प्रचारप्रसार लगायतका कामलाई के कसरी व्यवस्थित गरी अघि बढ्ने हो ? खासमा नगरपालिकालाई आत्म निर्भर बनाउने योजनाहरू प्रायः शून्य रहेको देखियो भने यस्ता धेरै प्रश्नमा नगरपालिकाको नेतृत्व चुकेको देखिन आएको सहभागीहरूको प्रतिक्रिया छ । उनीहरू भन्छन्, ‘स्थानीय निकायबाट तहमा परिणत भई सरकारका रुपमा परिणत भएको ६ वर्ष बित्दा पनि कार्यशैलीको रवैया भने परम्परागत स्थानीय निकायभन्दा भिन्न नहुनु विडम्बना पूर्ण स्थिति हो ।’
विहान निर्धारित समयभन्दा झण्डै सवाघण्टा ढिला सुरु भएको उक्त कार्यक्रम समापन गर्दा साँझ ६ः३२ बजेको थियो भने पुरै कार्यक्रम सकिदा भने ८ बढी बजेको बताइन्छ । उक्त अवसरमा सहभागीहरूले धेरै प्रश्नहरू मध्यपहाडी लोकमार्गको सुन्दरबजार खण्ड, सुन्दरबजार अस्पताल, नगरपालिकाले सञ्चालन गरेका विकासका योजनाको अनुगमन प्रभावकारी नभएको बारेमा प्रश्न गरेका थिए । त्यसो त कतिपय प्रश्नकर्ताको सोधाई सल्लाहकारले जस्तो शिक्षा यस्तो हुनुपर्ने किन भएन ? सडक यताबाट लग्नु पर्ने किन लगिएन ? जस्ता प्रश्न गरेर विषयवस्तुको ज्ञान नभएको झैं प्रस्तुत भएका थिए । कतिको सोधाई भने उत्तरदाताहरूलाई रन्थन्याउने खालको थियो । त्यसरी सोध्नेमा अम्बिका पण्डीत, रामचन्द्र अधिकारी, ज्ञानेन्द्र शर्मा आदि हुनुहुन्थ्यो ।
विद्युतबारेमा अन्तरङ्गको धारणासँग सहमति व्यक्त :
उक्त कार्यक्रम चलिरहदा पटक पटक विद्युत आउने र जाने भइरह्यो । त्यसै क्रममा लमजुङबाट उत्पादित विद्युत यो जिल्लाबाटै जिल्लाका लागि वितरणको प्रवन्ध हुनुपर्छ र बाँकी मात्र अन्यत्र लग्ने प्रवन्ध गरिनु पर्छ भन्ने धारणा तत्कालीन विद्युत उपोक्ता संस्थाको कमीकमजोरी औल्याउँदै त्यसको खारेजीको आवाज उठाएको बेलादेखिनै अन्तरङ्गले लेख्दै र बोल्दै आएको हो, त्यसलाई त्यस कार्यक्रममा दोहोर्याएको पाउँदा भने हामीलाई निकै खुशी लाग्यो ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा भएको उक्त सार्वजनिक सुनुवाईका क्रममा उठेका प्रश्नहरूको उहाँ आफै, उपमेयर भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, शिक्षा शाखाका प्रमुख ठाकुरजी तिवारी, लेखा शाखाका प्रमुख नरेन्द्रराज घिमिरेलगायतले जवाफ दिनु भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले गर्नु भएको थियो भने रेडियो मर्स्याङदी र रेडियो भोटेओडारले प्रत्यक्ष प्रशारण गरेका थिए ।
प्रकाशित मिति २०८० जेष्ठ २७, शनिबार १७:२३ गते